प्रचण्डका अन्तिम दिनहरू !



हाम्रो इकोनोमि

 

 

देवप्रकाश त्रिपाठी,

 

धेरै निर्दोष नेपालीहरू कम्युनिष्ट आन्दोलनसँग जोडिएका छन् र, पञ्चायतकालमै कम्युनिष्टका निम्ति उर्वर भूमि तयार पारिएको थियो । दुई तिहाइ बहुमतको सरकार (बीपी नेतृत्व)लाई विस्थापित गरेर निर्दलीय पञ्चायत शुरु गरिँदा त्यसबेलाका शासकहरूले बहुदलीय संसदीय प्रजातन्त्रका पक्षधरहरूलाई मात्र चुनौती ठानेका थिए, प्रजातान्त्रिक शक्तिलाई मात्र पञ्चायती व्यवस्थाको निरन्तरताको बाधक देखे र, बहुदलीय चरित्र तथा स्वरुपको प्रणालीप्रति सैद्धान्तिक-वैचारिक रूपमै असहमत रहँदै आएका कम्युनिष्टहरूलाई गोडमेल गर्नतिर लागे ।

२०१७ सालमा राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको सरकारलाई विस्थापित गर्दा नेपालमा एउटै मात्र कम्युनिष्ट पार्टी थियो र, उक्त पार्टीका मूख्य नेता (महासचिव) थिए केशरजङ्ग रायमाझी । प्रजातान्त्रिक सरकार अपदस्थ गर्ने राजाको कदम (पौष १, २०१७) लाई कम्युनिष्ट पार्टीले स्वागत गरेको थियो । रायमाझीले माओ त्से तुङ र निकिता ख्रुस्चेवको सल्लाह (कि निर्देशन) भएपछि मात्र आफूले राजाको कदमलाई स्वागत गरेको स्पष्टिकरण दिएका थिए । त्यतिबेलाको प्रजातन्त्रवादी दलले संसदीय निर्वाचन (२०१५)मा दुई तिहाइ बहुमत हाशील गर्दा कम्युनिष्ट पार्टीलाई दुई स्थानमा विजय प्राप्त गर्न पनि मुस्किल परेको थियो । निर्दलीय पञ्चायती व्यवस्थाको अभ्यास भएको तीन दशकपछि २०४८ सालमा भएको संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीहरूले असी स्थान प्राप्त गर्नु, तर त्यसबेला (वि.संं २०१५) सम्पन्न निर्वाचनमा दुई तिहाइ बहुमत हाशील गर्ने पार्टीलाई मुस्किलले बहुमत मिल्नुले पनि पञ्चायतकाल कम्युनिष्टका निम्ति उर्बर रहेको पुष्टि गर्दछ ।

हो, पञ्चायतकालमा पनि कतिपय कम्युनिष्ट कार्यकर्ताहरू नमारिएका होइनन् र, त्यसबेला साँच्चै नौलो जनवाद स्थापना गर्ने उद्देश्यका खातिर समर्पित कार्यकर्ता नभएका पनि होइनन् । बीपी कोइरालाको त्रास कायम रहेकोले राज्यसत्ताको माथिल्लो तह कम्युनिष्टमैत्री बनेको थियो । राजा महेन्द्र राष्ट्रप्रेमी हुँदाहुँदै पनि शायद नेपालमा कम्युनिष्ट बढ्दा राजतन्त्र सूरक्षित रहने ठान्थे र, मातहतका सूरक्षाप्रमुखहरूलाई ‘कम्युनिष्ट भन्दा प्रजातन्त्रवादीहरूप्रति अलिक बढी कठोर बन्ने’ निर्देशन हुन्थ्यो ।

२०२८ सालमा वीरेन्द्र गद्दीनसिन भएपछि उनले आफूलाई प्रजातान्त्रिक र प्रजातन्त्रमैत्री पुष्टि गर्न अनेक प्रयास गरेका थिए । तर २०४६ सालमा बहुदलीय संसदीय प्रजातन्त्र पुनर्स्थापना भइसकेपछि भने राजा वीरेन्द्रको सोच-व्यवहार बदलियो, उनी पनि कम्युनिष्टमैत्री हुँदै गएका थिए । सक्रिय राजाका रूपमा अठार वर्ष निरन्तर शासकीय भूमिकामा रहँदा उनी कम्युनिष्ट भन्दा प्रजातन्त्रवादीप्रति सकारात्मक हुन् कि भन्ने सन्देश प्रवाह हुन थालेको थियो । उनकै समयमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाहरू पञ्चायत प्रवेश गर्ने अन्तिम तयारीमा थिए । तर २०४६ को परिवर्तनपछि वीरेन्द्रको व्यवहार पनि कम्युनिष्टमैत्री नै रह्यो, २०५२ मा माओवादीले बहुदलीय प्रजातन्त्रविरुद्ध हिंसात्मक सङ्घर्ष शुरु गर्दा त्यसप्रति प्रशन्नता कसैमा उत्पन्न भएको थियो भने त्यो राजा वीरेन्द्रमा नै थियो । उनले माओवादीको हिंसात्मक सङ्घर्षलाई बहुदलीय प्रजातन्त्र नास गर्ने अस्त्रका रूपमा बुझेका थिए ।

२०५८ मा राजदरबार हत्याकाण्डपश्चात राजा बनेका ज्ञानेन्द्र पनि २०६३ सम्म माओवादीलाई देशभक्त र राष्ट्रवादी शक्तिका रूपमा बुझ्ने गर्दथे । राजा वीरेन्द्रबाट धारण भएका विचार र व्यवहारले राजा ज्ञानेन्द्रमा समेत गहिरो प्रभाव पारेको बुझ्न सकिन्छ । वीरेन्द्रको बङ्श नास भएलगत्तै राजतन्त्र अन्त्य भएको ठानिएको थियो र, राजा बनेपछि ज्ञानेन्द्र पनि जङ्गबहादुरले झैँ बुद्धि, साहस र धैर्यले काम गर्नतिर नलागेर भीमसेन थापा झैँ आवेगमा दौडिन थाले । माओवादीलाई राष्ट्रवादी ठान्ने र उपयुक्त समयमा ‘टेकओभर’ हुँदा जनताको साथ-समर्थन प्राप्त हुन्छ भन्ने भ्रम राजा ज्ञानेन्द्रमा पनि थियो । माओवादीविरुद्ध सेना परिचालन गर्न नचाहनु र ‘टेकओभर’ गर्न हतारिनुका पछिल्तिरको कारण खोजियो भने त्यहाँ वीरेन्द्रका अवधारणा र योजना फेला पर्छन् । राजा वीरेन्द्र माओवादी प्रयोग गरेर काङ्ग्रेस-एमालेलाई कमजोर तुल्याउने र माआवादीलाई ‘आवश्यक परे’ आफैंले सिध्याउने कार्ययोजनामा थिए । तर ज्ञानेन्द्र एमाले, काङ्ग्रेस र माओवादीलाई एकैपटक समाप्त गर्ने प्रपञ्चमा लागे । माओवादीलाई आफ्नैविरुद्ध बाह्य शक्तिले प्रयोग गर्न सक्नेतर्फ राजाको ध्यान गएन, आखिर त्यही भयो, माओवादी सङ्घर्ष बाह्य शक्तिद्वारा अपहरित हुन पुग्यो । जुन अस्त्र प्रयोग गरेर काङ्ग्रेस-एमालेलाई समाप्त तुल्याउने खेलमा ‘दरबार’ लागेको थियो, त्यही अस्त्र प्रयोग गरेर बाह्य शक्तिले दरबारलाई नै विस्थापित गरिदियो ।

कुनै पनि आकार-प्रकारका कम्युनिष्टहरूमा अन्य पक्षलाई प्रयोग-उपयोग गर्ने रणनीतिक कार्ययोजना हुन्छ । साङ्गठनिक प्रभावका दृष्टिले दुर्बल कम्युनिष्ट घटकका नेता-कार्यकर्ता पनि ‘पृथ्वी आफैंले घुमाइरहेको’ अनुभूतिका साथ बाँचिरहेका हुन्छन् । राज्यसत्ताको सम्पूर्ण मालिक बन्ने स्वप्न योजनामा रहेका कम्युनिष्टहरू सबै आकार-प्रकारका शक्ति र संयन्त्रलाई आफ्नो रणनीतिक उद्देश्यप्राप्तिको अङ्ग बनाउन सक्ने आत्मविश्वास राख्छन् र, उनीहरूका दस्तावेज तथा अभिव्यक्तिमा यो पक्ष छचल्किरहेका हुन्छन् ।

कुनैबेला दरबारले कम्युनिष्टलाई आफूले प्रयोग गरिरहेको ठान्थ्यो भने कम्युनिष्टले पनि मूल राजनीतिक शक्तिविरुद्ध दरबारलाई प्रयोग गर्न आफू सफल रहेको विश्लेषण गर्थे । परिणामले दरबारलाई आफ्नो पक्षमा उपयोग गर्न कम्युनिष्टहरू सफल भएको देखाएको छ । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूलाई समेत आफूले प्रयोग-उपयोग गर्न सकेको भ्रमपूर्ण विश्वासमा कम्युनिष्टहरू थिए । यदि राजतन्त्र विस्थापन, धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र घोषणा, जातीयतामा आधारित आरक्षण तथा समानुपातिक प्रणाली भित्र्याउन र राज्यसत्ताको आरोहण गर्न सक्नुलाई कम्युनिष्टहरूको सफलता ठान्ने हो भने त्यस अर्थमा नेपालका कम्युनिष्टहरू सफल भएकै हुन् भन्नुपर्ने हुन्छ ।

तर, उल्लिखित एजेण्डाहरू कम्युनिष्ट क्रान्तिकारिताको आवरणमा अरु कसैले अर्कै उद्देश्यका निम्ति कार्यान्वयनमा ल्याइएको तथ्यबारे अवगत हुँदाचाहिँ नेपालका कम्युनिष्टलाई ‘सफल’ ठान्न किमार्थ सकिँदैन । पहिले प्रजातन्त्र र प्रजातन्त्र पक्षधर शक्तिविरुद्ध दरबारद्वारा प्रयोग भएका कम्युनिष्टलाई राजा ज्ञानेन्द्रले प्रयोग-उपयोग गर्न नजान्दा उछिट्टिएर बाह्य शक्तिको अस्त्र बन्ने स्थितिमा उनीहरू पुगेका हुन् । बाह्य शक्ति नेपाली समाज र राज्य कमजोर बनाएर यहाँ आफ्नो भूमिका बलियो बनाउन चाहन्थे, कम्युनिष्टहरूले सारथी बनेर उनीहरूको उद्देश्य पूरा गरिदिएका मात्र हुन् । दुई सय चालिस वर्षको राजतन्त्र बिस्थापित गर्न सफलता मिलेको दाबी गर्नेहरूले एउटा कर्मचारी (प्रधानसेनापति) बदल्न नसकेपछि आफ्नो उद्देश्य र भूमिकाको निर्मम समीक्षा गरेको भए त्यतिबेलै राजनीतिले अर्काे मोड लिन सम्भव थियो । तर कम्युनिष्ट (काङ्ग्रेससमेत) ले आत्मसमीक्षा गर्न आवश्यक ठानेनन्, सत्ताको नसामा लठ्ठिएका उनीहरू आत्मघातका निम्ति तयार भएर गन्तव्यतर्फ अघि बढेका मानिसझैँ बढिरहे, बढिरहेका छन् ।

काङ्ग्रेसलाई उपयोग गर्दै ‘क्रान्तिकारी संविधान जारी गराउन सफल भएको ठान्नेहरू’ले नेपालमा सैन्य शक्तिको साथ नलिइकन अन्य कसैको अधिनायकवादी शासन लामो समय चल्न सक्दैन र, काङ्ग्रेस दक्षिणबाट पश्चिमतर्फ ‘सिफ्ट’ हुँदै गएको छ भन्ने तथ्य बोध गर्न सकेको भए पनि उनीहरू यसरी (जसरी अहिले परिरहेका छन्) अप्ठ्यारोमा नपर्न सक्थे । जनता निर्णायक नरहेको देशमा प्राप्त ‘जनसमर्थन’ले कम्युनिष्ट नेतृत्वलाई अहङ्कारी बनाइदियो, अहङ्कारले अन्धकारतर्फको यात्रा गराउँछ, जुन यात्रामा नेपालका कम्युनिष्ट (काङ्ग्रेससमेत)हरू छन् ।

संविधान जारी गरेर बाह्य इच्छा र योजनालाई संस्थागत गरिसकेपछि कम्युनिष्ट भूमिका र प्रभाव नियन्त्रण गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढ्न सक्थ्यो । काङ्ग्रेस पार्टीमा ‘मिखाइल गोर्वाचोभ’हरूलाई स्थापित नगरेसम्म ‘उपलब्धि’हरूको रक्षा हुन नसक्ने विश्वास र विश्लेषणका आधारमा बाह्य शक्तिकेन्द्रद्वारा कम्युनिष्ट आवरणको भूमिकालाई अहिलेसम्म निरन्तरता दिइएको हो । काङ्ग्रेसको नेतृत्वमा वर्तमान संविधानका अन्तरवस्तुहरूलाई जस्ताको त्यस्तै रक्षा गर्ने सामथ्र्य भएका ‘गोर्वाचोभ’हरूलाई स्थापित गर्न बाह्य शक्ति पूर्णतः सफल भइसकेका छन् । जो-जसबाट जसरी पनि प्रयोग-उपयोग हुन सक्ने कम्युनिष्टहरूलाई पालेर शीतयुद्धका मूख्य प्रतिष्पर्धीको खेल्ने ठाउँ सूरक्षित राखिरहन उनीहरू चाहँदैनन्, त्यसैले कम्युनिष्टहरूलाई कमजोर एवम् रुग्ण तुल्याउने मूख्य भूमिकाका निम्ति मात्र आगामी केही समयसम्म कम्युनिष्टहरूको संरक्षण हुन सक्छ । आगामी संसदीय निर्वाचनमा गैह्रकम्युनिष्ट कित्ताका मानिसहरूको विजय गराउन सबैभन्दा महत्वपूर्ण भूमिका कम्युनिष्टहरूले मात्र निर्वाह गर्न सक्छन् भन्ने जानकारी बाह्य शक्तिलाई छ । एकथरी कम्युनिष्टलाई प्रयोग गरेर अर्काथरी कम्युनिष्टलाई कमजोर बनाउने र दुवैथरी कम्युनिष्ट दुर्बल हुने पृष्ठभूमि बनेपछि ‘ठटाउने’ र हटाउने रणनीतिमुताविक यतिबेला काम भइरहेको छ । भूतपूर्व प्रजातन्त्रवादी पार्टी काङ्ग्रेस बाह्य शक्तिको सपना पूरा गर्न-गराउन बिना हिचकिचाहट निर्धक्कसँग लागिपर्ने गर्छ भन्ने व्यवहारसिद्ध विश्वास उनीहरूमा बढेको छ । त्यसैले ‘फलामले फलाम काट्छ’ भन्ने उखान चरितार्थ गर्दै एकथरी कम्युनिष्टलाई नास गर्न अर्काथरीलाई सूरक्षित तुल्याउने कार्य यो समयमा भइरहेको छ ।

माओवादी केन्द्र र माधव नेपालको समूह आगामी संसदीय निर्वाचनमा दर्जनआसपासको सङ्ख्यामा विजय प्राप्त गर्न सक्दा ठूलो सफलता प्राप्त भएको अनुभूति गर्ने स्थितिमा पुगेका छन् । तिनको यस्तो इच्छा पूरा गरिदिएर ठूलो दलको हैसियत बनाउने आफ्नो लक्ष्य पूरा गर्न शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेस पार्टी अभिसप्त छ । त्यसैले माओवादी र माधव नेपाल समूहको औचित्य आगामी संसदीय निर्वाचनसम्म रहने, त्यसपछि विगतका कामअनुसारको भुक्तमान ब्यहोर्न दुवै कम्युनिष्ट घटकको नेतृत्व बाध्य हुनुपर्ने सम्भावना देखिन्छ । माओवादी र माधव नेपाल नेतृत्वको कम्युनिष्ट समूहहरूलाई लघु आकारमा सीमित गरिएपछि समाप्त हुने पालो एमालेको आउने छ ।

गैह्रसरकारी संस्थाहरूमार्फत पोषित नेकपा एमाले हिजो प्रजातन्त्रकालमा कसैले गणतन्त्रवादी भनिदिँदा प्रतिक्रिया जनाउँथ्यो र, आफूहरू संवैधानिक राजतन्त्रसहितको बहुदलीय संसदीय प्रजातन्त्रका पक्षमा रहेको स्पष्टिकरण दिइरहन्थ्यो । कसैले धर्मविरोधी भनिदियो भने पनि त्यसले एमालेलाई दुःखाउँथ्यो । त्यसैले अर्काथरी कम्युनिष्ट घटकहरू ‘डायनोसर पथ’मा लम्किएपछि एमालेलाई कम्युनिष्टको पर्दा हटाएर क्रियाशील हुन पाउने छुट दिइन सम्भव छ र, त्यस्तो स्थितिमा एमाले नेतृत्व आफ्नो पहिचान बदल्न तयार हुने विश्वास पनि गरिन्छ । कदाचित एमालेले आफूलाई कम्युनिष्ट पार्टीकै पहिचानमा निरन्तरता दिन खोज्यो भने उसले पनि ‘डायानोसर’कै नियति भोग्न अर्को पाँच वर्ष प्रतीक्षा गर्नुपर्ने देखिन्न ।

क्रान्तिका नाममा देशविरुद्धका अनेकौँ हिंसात्मक गतिविधिमा संलग्न दुई प्रमुख नाइकेमध्ये एउटालाई चोख्याउन बाह्य शक्तिले धेरै पहिले नै माओवादी पार्टीबाट बाहिर निकालेर बहुराष्ट्रिय राज्य बनाउने ठेक्कपट्टाको काममा लगाइदिएको छ । माओवादी बन्नुअघि माक्र्सवादको मात्र अनुशरण गर्ने दाबी गर्दै आएका निजलाई माओवादी बनाएर हिंसात्मक गतिविधिमा प्रवेश गराइएको थियो । जसले माओवादी बनाएर हिंसात्मक कार्यमा सामेल गरायो त्यस्ता पात्रको रक्षा गर्ने दायित्व पनि तिनैले लिन खोजेको देखिँदै छ । देश, जनता र प्रजातन्त्रविरुद्धका हिंसात्मक युद्धमा निजको कुनै जिम्मेवारी र भूमिका नभएको सिद्ध गराउने या आममानिसका मानसपटलबाट पुराना कुरा बिर्साउने योजनावद्ध प्रयास भइरहँदा हिंसा र आतङ्कका एक मात्र नाइकेका रूपमा प्रचण्ड मात्र स्थापित हुँदै जाने पृष्ठभूमि बनिरहेको छ । माओवादी क्रियाकलापको मूल नाइके भएको र, मौका पाउने बित्तिकै दाम्लो चुँडाएर माओको आँगनमा चर्न जाने सम्भावना रहेकोले प्रचण्डप्रति सबै प्रकारका बाह्य शक्ति विश्वस्त हुन सकिरहेका छैनन् । त्यसैले प्रचण्डको शिरमाथि तरबार झुण्ड्याएर उनीहरूले काम लिँदै आएका छन् र एमसीसी प्रकरणमा पनि तरबार खस्ने/खसाइने भयले ग्रस्त भएर प्रचण्ड मालिकको सेवामा उभिन बाध्य भएका हुन् । प्रयोजन सकिएपछि कुनै पनि दिन कुनै पनि निहुँमा उक्त तरबार प्रचण्डको शिरमाथि बज्रिने निश्चितप्रायः छ । त्यस्तो ‘अनिष्टकारी’ स्थितिबाट जोगिन प्रचण्डले पनि बहुराष्ट्रियराज्यवाला झैँ सेवक भूमिकामा स्थीर रहन सक्नुपर्छ । होइन भने राजनीतिबाट सन्यास लिएर ‘आफ्नै गुरिल्लाका प्रहार’को प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

आफ्नो इच्छाले मानिस पागल बन्न सक्दैनन्, परिस्थितिले प्रचण्डलाई ‘लगनखेल’सम्मको यात्रा गराउँदैनगराउने ग्यारेण्टी पनि गरिरहेको छैन । कहिलेकाहीँ निकै भावुक देखिने गरेको कुरामा नक्कल-झक्कल छैन भने आत्मघातको निर्णयमा पुग्नबाट पनि उनलाई रोक्न नसकिएला ! प्रचण्डका कारण आफ्ना पितामाता र सम्पत्ति गुमाउनेमध्येका सन्तानले पनि अब युवावय पार गरिसकेका छन्, तीमध्ये कसैमा पनि प्रतिशोधको भावना छँदैछैन भन्न सकिन्न । त्यसैले आगामी संसदीय निर्वाचनपछिका प्रचण्ड त्यस्तै कसैको निसानामा पर्ने सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन ।

हिटलरझैँ आफूलाई विश्राम दिन नसक्ने स्थितिमा प्रचण्डलाई सुवासचन्द्र बसु (बोस) को ‘अलप मार्ग’ पछ्याएर बेपत्ता हुन पाउने सुविधा पनि छ । कुनै छिमेकीको शरण परेर प्रवासमै बाँकी जीवन बिताउने अवसर प्राप्त गर्न उनी सक्छन्, तर दुवैतिरका छिमेकीहरूको विश्वास गुमेको हुँदा त्यस्तो अवसरका निम्ति पनि प्रचण्डले कठोर प्रयास गर्नुपर्ने देखिन्छ । सन्यासी बनेर बेपत्ता हुन सकेको अवस्थामा उनको बाँकी जीवन सूरक्षित हुन सक्ला, होइन भने प्रचण्डको जिन्दगीले सहज विराम पाउन कठिन छ । उनको यस्तै-यस्तै अवस्थाबारे विचार गरेर यो पङ्क्तिकारले २०७२ को जेठ २८ गते लाजिम्पाटस्थित उनकै निवासमा पुगेर सुझाव दिएको थियो- ‘तपाईंले युद्धकालमा धेरैतिर अनेक प्रकारका सम्झौता गर्नुभएको जानकारी मलाई छ । तपाईंको स्थिति विचार गर्दा तपाईंले नेपाल र नेपालीका पक्षमा काम गर्न कहिल्यै पनि पाउनुहुने देखिँदैन । तपाईंमाथि ‘ब्ल्याकमेलिङ’को सम्भावना भएकोले पार्टीअध्यक्ष र प्रधानमन्त्री जस्ता पदीय जिम्मेवारी जीवनभर ग्रहण नगर्ने प्रतिवद्धता जाहेर गरेर तपाईं देशलाई ठूलो योगदान पुऱ्याउन सक्नुहुन्छ, तपाईंबाट देशलाई पुग्ने सबभन्दा ठूलो योगदान पनि यही नै हो । त्यसैले तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री पद प्राप्तिको दौडमा सामेल नहुनुमा नै राष्ट्र र तपाईंसमेतको कल्याण छ ।’

मेरो यस्तो सुझावमा प्रचण्डले कुनै प्रतिक्रिया दिएनन्, चुपचाप मेरो अनुहारमा हेरिरहे । शक्ति र सत्ताले मात्र आफूलाई सूरक्षा दिने उनले ठान्नु अस्वाभाविक होइन, तर सत्ता र शक्ति स्थायी मित्र होइनन्, हुन सक्दैनन् भन्ने चेत प्रचण्डलाई कहिले मिल्ला ?
जय मातृभूमि ! 

प्रतिक्रिया दिनुहोस
युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...