कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना हुने महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुनेछ ।

कांग्रेसका अनुसार महाधिवेशनमा देशभरबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै भारत, चीन, अमेरिका लगायतका मुलुकबाट समेत पाहुनालाई आमन्त्रण गरिएको छ ।

आइतबार उद्घाटन समारोह सम्पन्न भएपछि सोमबारदेखि महाधिवेशनको बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा पार्टीको आगामी नीति तथा कार्यक्रमसँगै समसामयिक राजनीतिक विषयमा विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुनेछन्।

सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि कांग्रेसको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्ने तयारी गरिएको छ। उक्त कार्यपत्रलाई महाधिवेशनबाट पार्टीको आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण आधारका रूपमा हेरिएको छ ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि काठमाडौंका विभिन्न क्षेत्रमा होटल बुकिङ गरिएको कांग्रेसले जनाएको छ। प्रतिनिधिहरूका लागि बिहान र दिउँसोको खानाको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ ।

महाधिवेशनस्थलमा स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना गरिएको छ। साथै, पाँचवटा स्टल र दुईवटा एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि धरहराको अन्डरग्राउन्ड, माइतीघर-भद्रकाली सडक, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसर, पुरानो बसपार्क तथा भृकुटीमण्डप आसपासका क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ।

महाधिवेशनको निर्वाचन कार्यक्रम भने असोज २१ र २२ गते हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमार्फत पार्टीको आगामी नेतृत्व चयनसँगै कांग्रेसको आगामी राजनीतिक दिशा र कार्यदिशासमेत तय हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...