नेपाली महिलाहरूमा यस्ता प्रकारका यति धेरै छन् यौन रोग : तरपनि उपचार गर्न डराउँछन्



हाम्रो इकोनोमि

 

 

वीरगन्जकी ४० वर्षीया फुलझरी देवीलाई लामो समयदेखि यौनजन्य रोगका लक्षण देखिएका थिए। उनको योनिबाट गनाउने पानी बग्थ्यो अनि तल्लो पेट पनि निकै दुख्थ्यो। तर लाजका कारण उनी लामो समय उपचार गर्न गइनन्।

 

उनी भन्छिन्, पेट दुख्थो अनि गनाउने सेतो पानी धेरै बग्थ्यो। मलाई यस्तो समस्या भएको छ भनेर भन्न लाज लागेकै कारण मैले केही महिनासम्म त आफ्नो समस्या कसैलाई बताइनँ। तर पछि डर लाग्यो, मलाई केही भयो भने मेरा सन्तानलाई कसले हेर्छ भनेर।

 

त्यसपछि आफ्नो समस्याबारे उनले आफ्नी फुपूलाई भनिन् र उनकै सल्लाहमा चिकित्सकलाई परीक्षण गराइन्। अहिले मैले उपचार सुरु गरेकी छु। बिस्तारै निको हुँदैछ, फुलझरीले भनिन्। यो समस्या उनको मात्र होइन।

 

चिकित्सकहरूका अनुसार महिलाहरूमा यस प्रकारका समस्या बढी नै देखिन थालेको छ। यस प्रकारको समस्या लिएर आउने महिलाको सङ्ख्या निकै धेरै छ। चाहे ती ग्रामीण भेगका हुन् वा सहरका, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुजना शर्मा भनिन्।

 

महिलाहरूमा कुन सरुवा यौन रोग सबैभन्दा बढी देखिन्छ ?
शर्मा भन्छिन्, सबैभन्दा धेरैमा देखिने समस्या चाहिँ क्लमिडियाको सङ्क्रमण हो। त्यसपछि गोनरिया अनि सिफिलिस (भिरिङ्गी) हो। यी सबै ब्याक्टेरियाबाट हुने सङ्क्रमण हुन्। छुट्टाछुट्टै ब्याक्टेरियाले गराउने भए पनि यी सबै रोगका लक्षण भने उस्तै हुने उनी बताउँछिन्।

लक्षण

योनिबाट गन्हाउने पानी बग्ने, योनिमा घाउ हुने र मुसा पलाउने आदि हुन्छ। चिकित्सकहरूका अनुसार सङ्क्रमण भएको व्यक्तिको तल्लो पेट दुख्छ र केहीलाई ज्वरो पनि आउन सक्छ। तर अझै पनि देशका ग्रामीण र सहरी भेगमै पनि रोग लाग्नुभन्दा पनि त्यसलाई लुकाएर राख्नु अझ डरलाग्दो समस्याको रूपमा रहेको छ। समयमै उपचार गर्न आए यस प्रकारका रोग सजिलै निको हुन्छन्।

 

समयमै उपचार भएन भने भिरिङ्गी शरीरभरि फैलिन्छ
तर लामो समयसम्म रोग लुकाएर राखियो भने समस्या पर्न सक्ने बताउँछिन् चिकित्सक उमा श्रीवास्तव। यी प्राणघातक रोग होइनन्। चाँडै पत्ता लगाएर समाधान गर्न सक्यो भने यो निको भैहाल्छ। तर जटिल हुँदै गयो भने यसले बच्चा नहुने, बच्चा ठाउँमा नबस्ने हुन्छ र वर्षौँसम्म यस्तो सङ्क्रमण रहिरह्यो भने क्यान्सरसम्म पनि हुन सक्छ।

 

आखिर महिलाहरू किन यस्तो समस्या लुकाएर बस्छन् ?

महिला स्वास्थ्यबारे कुरा उठाउने अधिकारकर्मी एवम् नर्स राधा पौडेल यसका पछाडि सामाजिक र आर्थिक कारणहरू भएको बताउँछिन्। यसबारे आमा, दिदीबहिनी र साथीहरूसँग पनि हामी सजिलै कुरा गर्न सक्दैनौँ। यस्ता अङ्गहरूलाई सफा राख्नुपर्छ र महिनावारी हुँदा सफा कपडा प्रयोग गर्नुपर्छ भनी कसले सिकाएको छ ? उनी भन्छिन्, उपचार गर्न जान महिलासँग पैसा पनि हुनु पर्‍यो अनि नजिकै स्वास्थ्य संस्था हुँदैनन्। स्वास्थ्य उपचार गर्न जानका लागि घरको कामबाट फुर्सद निकाल्न पनि त सजिलो छैन महिलालाई पुरुषको तुलनामा।

 

तर यस्तो रोग लाग्नुका कारण चाहिँ असुरक्षित यौन सम्पर्क, तथा पर्याप्त सरसफाइ गर्न नसक्नु नै रहेको चिकित्सकहरू बताउँछन्। कहिलेकाहीँ गर्भपतन गर्दा प्रयोग भएका औजारबाट सङ्क्रमण भएको समेत भेटिएको उनीहरू बताउँछन्। यस प्रकारका रोगबाट बच्न सुरक्षित यौन सम्पर्क गर्नु सबैभन्दा उचित हुने चिकित्सकहरूको भनाइ छ।

 

त्यस्तै यौनाङ्गको सरसफाइमा पनि ध्यान दिनुपर्ने उनीहरू सुझाव दिन्छन्। स्वास्थ्यचौकी लगायतका धेरै स्थानमा सेवा दिन बसेका व्यक्ति पुरुष हुने भएका कारण पनि त्यहाँ गुप्ताङ्गमा देखापरेको समस्या लिएर जान महिलाहरू धक मान्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ...

ओमकार आयल इन्डस्ट्रिजका सञ्चालक विजय श्रेष्ठ पक्राउ

    सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । छहारी...

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

    किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २००...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...