सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी समाचारमा रिपोर्टिङ गर्न अभिमुखीकरण
आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई जिम्मेवार मिडिया रिपोर्टिङसम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा सोमबार टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले आत्महत्या रोकथामका लागि जनचेतना, समयमै जोखिमको पहिचान र स्वास्थ्य सेवाको पहुँचसँगै सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पालना गर्न र घटनालाई सनसनीपूर्ण रूपमा प्रस्तुत नगर्न आग्रह गरे।
मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्त अधिकारीले आत्महत्याका जोखिमका संकेत र रोकथामका उपायबारे जानकारी गराउँदै समाचारमा घटनाको विस्तृत विवरण र प्रयोग गरिएको विधिभन्दा रोकथामका उपाय तथा सहयोगका उपलब्ध माध्यमलाई प्राथमिकता दिनुपर्ने बताए।
त्यसैगरी, केन्द्रकी शाखा प्रमुख शीला श्रेष्ठले आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीका लागि मार्गदर्शन, २०८० का प्रावधानबारे जानकारी गराएका थिए ।

