गगन थापामाथि कसैले निगरानी गरेको छैन : सीआईबी
नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रहरीले पक्राउ गर्ने हल्ला व्यापक छ, तर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हालसम्म कतैबाट त्यस्तो आदेश आएको छैन । सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले आफू र आफ्नो कार्यालयलाई पनि त्यस विषयमा कुनै आदेश नआएको बताए । अन्य कुनै कार्यालयमा त्यसबारे केही सूचना वा गतिविधि भए त्यसबारे आफूलाई जानकारी नहुने चतुर्वेदीले बताए ।
कांग्रेस सभापति थापाको सचिवालयले भने दुई दिनदेखि सादा पोशाकका व्यक्तिहरुले निगरानी बढेको जनाएको छ । उनको सचिवालयका एक सदस्यलाई यसबारे प्रश्न गर्दा केही अपरिचित मानिसहरु मोटरसाइकलमा पछि लाग्ने गरेको बताए । राइड शेयरिङजस्ता देखिने मोटरसाइकलहरु अघिपछि घुम्न थालेको उनको भनाइ छ । सानेपास्थित केन्द्रीय कार्यालयमा पनि सादा पोशाकका अपरिचित व्यक्तिको आवतजावत बढेको उनले बताए ।
प्रहरीस्रोतका अनुसार बुधबार पदमुक्त गरिएका आईजीपी दानबहादुर कार्कीले पदमुक्त हुनुअगावै ‘माथिको आदेश’ भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सभापति थापामाथि निगरानी राख्न भनेका थिए ।

