आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी
नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी आफूहरूले तीव्र रूपमा गरिरहेको बताएका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनको उद्घाटन टुँडिखेलमा र निर्वाचन राष्ट्रिय सभागृहमा गर्ने तयारी गरिएको बताए । महाधिवेशनअघि पार्टीका वडा, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने बताए ।
हालसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १४४ वटामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको र ७७ जिल्लामध्ये ५२ जिल्लामा जिल्ला अधिवेशन सकिएको उनले बताए । उनले सातै प्रदेशको अधिवेशनको मिति तय भइसकेको पनि बताए । पार्टीको विधान र देशको कानुनअनुसार अधिवेशन प्रक्रिया अघि बढाइएको दाबी गरे । संस्थापन पक्षले गरेको महाधिवेशन विधान विपरीत भएकाले निर्वाचन आयोगले अद्यावधिक नगरेको जिकिर गरे ।
उनले भने यसअघि तथाकथित अधिवेशन भयो । त्यो अधिवेशनमा प्रदेश र जिल्ला अधिवेशन गरिएको छैन । सिधै क्षेत्रीय र केन्द्रीय अधिवेशन गरे । आयोगमा अद्यावधिक गर्न जाँदा अद्यावधिक गर्ने क्रममा उहाँहरूलाई त्यसै भनिएको छ । त्यसैले उनीहरूको महाधिवेशन गैरकानुनी, विधान र कानुनविपरीत छ ।
उनले आफूहरूले पार्टीको विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै अधिवेशन सम्पन्न गर्ने बताए । आफ्नो पक्ष नै पार्टीको विधान, कानुन र परम्पराको पालना गर्ने वास्तविक कांग्रेस भएको दाबी गरे । उनले आधिकारिकता विवादमा १८ करोड र ३ करोडको विषय भएकाले त्यसको पनि छानबिन हुनुपर्ने बताए ।

