वरिष्ठ नेताको हैसियतामा पूर्णबहादुर र शेखरलाई सानेपामा छुट्टै कार्यकक्ष
नेपाली कांग्रेसले १५औं महाधिवेशनमा सहभागी नभएका नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । सभापति गगनकुमार थापाले पूर्वउपसभापति खड्का र नेता कोइरालाका लागि सानेपास्थित पार्टी कार्यालयमा छुट्टै कोठाको व्यवस्था गर्न लगाएका हुन् ।
स्रोतका अनुसार नेताद्वय खड्का र कोइरालालाई वरिष्ठ नेताको हैसियतमा प्रयोग गर्नेगरी कांग्रेसले कार्यालयमा छुट्टै कोठाको व्यवस्था गरेको हो । उनीहरूका लागि उपसभापति मधु आचार्यको कार्यकक्ष अगाडि दुईवटा छुट्टा–छुट्टै कार्यकक्ष तयार गरिएको स्रोतको भनाइ छ । ती कोठाहरू दुई जना सहमहामन्त्रीहरूले आफ्नो कार्यकक्ष बनाउन इच्छा देखाए पनि कार्यावहक मुख्यसचिव कृष्णप्रसाद दुलालले नेताद्वय खड्का र कोइरालाका लागि राखिएको जवाफ दिएको स्रोतको भनाइ छ ।
‘सहमहामन्त्रीहरूले आफ्नो कार्यकक्ष बनाउन इच्छा देखाउनुभएको थियो । तर, मुख्यसचिव (कार्यवाहक) ले सभापतिज्यूले नेताहरूका लागि राख्न लगाएको भन्नु भएछ,’ स्रोतले भने । यसअघि ती कोठाहरू १४औं महाधिवेशनबाट निर्वाचित सहमहामन्त्रीहरूले प्रयोग गर्दै आएका थिए । १५औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित एक नेताले पूर्वउपसभापति खड्का र नेता कोइरालाका लागि कार्यकक्ष तयार पारिएको पुष्टि गरे ।
‘पार्टी कार्यालयमा पार्टीका पुराना शीर्ष नेताहरूका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ, ती सहमहामन्त्रीले भने, पार्टीका वरिष्ठ नेताहरू कार्यालय आउँदा प्रयोग गर्न सकून् भनेर कोठाहरू छुट्याइएको हो ।’ अघिल्लो कार्यकालमा सहमहामन्त्रीहरूले प्रयोग गरेका कार्यकक्षहरू शीर्ष नेताका लागि छुट्टयाइएको ती सहमहामन्त्रीको भनाइ छ । उनका अनुसार, सहमहामन्त्रीहरूका लागि यसअघि लाइब्रेरी रहेको हलमा कार्यकक्ष बनाइएको छ ।

