रास्वपा विधिमा विश्वास गर्छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको नेतृत्व विकास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन् ।
निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनाका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटमा जिम्मेवारी जुनसुकै बेला आउन सक्ने बताए । वडा, पालिका, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म नेतृत्व गर्न सक्ने जनशक्ति तयार गर्नुपर्नेमा जोड दिए। पार्टीको संरचनालाई बलियो बनाउन तल्लो तहबाटै नेतृत्व विकास र जिम्मेवारी बाँडफाँडको अभ्यास आवश्यक रहेको बताए । पार्टीका मतदाता वा सदस्य भएकै आधारमा कसैलाई पनि गलत काम गर्ने छुट नरहेको स्पष्ट पारे ।
उनले भने, ‘पार्टीका समर्थकले जे गरे पनि हुन्छ भन्ने होइन। पार्टी विधिमा चल्छ भन्दैमा आफ्ना नेता तथा समर्थकलाई पनि जे गरे पनि छुट हुँदैन। हामी विधिमा विश्वास गर्छौँ । सबै संस्था र राज्यका निकायहरूले विधिको पालना गर्न सकून् र त्यसलाई अझ बढी अभ्यासमा ल्याउन सकून् भनेर हामी काम गरिरहेका छौँ ।
ठूलो जिम्मेवारमा भएकाले लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रमा आउन नपाएको बताए ।
उनले थपे, ‘म तपाईँहरूको सम्पर्कबाट टाढा छैन । विभिन्न जिम्मेवारी छन्, यत्रो ठूलो पार्टी, यत्रा सांसद, यी सबै र पार्टीको यत्रो ठूलो संरचना चलाउनुपर्नेछ । अस्ति भर्खरै चितवनमा हामीले पहिलो ऐतिहासिक महाधिवेशन यहीँबाट गर्यौँ । हामीले पार्टी निर्माण गर्नुपर्नेछ। कहीँ न कहीँ पार्टीले सरकारलाई सकेको समन्वय गर्नुपर्नेछ ।
उनले पार्टीको समग्र संरचना निर्माण र विभिन्न क्षेत्रसँग समन्वय गर्नु सभापतिको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए । स्थानीय विकास निर्माणका कामलाई अगाडि बढाउन पार्टीको संस्थागत संरचनालाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । उनले नागरिकले हरेक विषयमा सांसद नै खोज्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले स्थानीय तहमा पार्टीका सम्भावित नेतृत्वको पहिचान र विकास गर्न कार्यकर्तालाई आग्रह गर्दै वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्म जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्व अहिलेबाटै तयार गर्नुपर्ने बताए ।

