आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र
निता थापा
केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक गतिविधि र अभिव्यक्तिलाई निकै नजिकबाट नियालिरहेकी छु । पछिल्लो समय चर्चामा रहेको ‘१७ पाने काण्ड’ र ‘BYD गाडीको कर छली’ प्रकरण बाहिरिएपछि, उहाँले यसलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने जान्ने मेरो ठूलो कौतूहलता थियो । एक सचेत नागरिकको हैसियतले मलाई लागेको थियो— आफ्नो बौद्धिकता र विज्ञताको उचाइमा रहेका नेताले पक्कै पनि यी गम्भीर प्रश्नहरूको सामना सुसंस्कृत, तार्किक र पारदर्शी ढंगले गर्नुहुनेछ । तर, उहाँको प्रस्तुति र प्रतिवादको शैलीले मलाई मात्र होइन, उहाँमाथि भरोसा गर्ने हजारौँ नागरिकलाई निराश बनाएको छ । बौद्धिकता माथिको अहंकार विगतमा नेपाली कांग्रेसमा रहँदादेखि नै म उहाँको विद्वताको प्रशंसक थिएँ । एउटा दूरदर्शी र विज्ञ अर्थशास्त्रीका रूपमा उहाँको छवि निकै उज्यालो थियो । पुरानो पार्टीमा आफ्नो क्षमताको कदर नभएपछि नयाँ राजनीतिक विकल्प (रास्वपा) मार्फत उदाउनुभएका उहाँबाट जनताले फरक राजनीतिक संस्कारको अपेक्षा गरेका थिए । तर, जब उहाँमाथि नैतिक प्रश्नहरू उठे, उहाँको जवाफ सुन्दा लाग्यो— बौद्धिकता विस्तारै अहंकारमा परिणत हुँदैछ ।
आफूमाथि प्रश्न गर्ने पत्रकारलाई ‘एक्सेल चलाउन जान्दैनन्’ भनेर होच्याउनु कुन विज्ञताको परिचायक हो ? “तिमीहरूको पनि काण्ड निकालिदिऊँ ? ” वा “विगतका बजेटमा कति कमिसन खायौ ?” जस्ता धम्कीपूर्ण अभिव्यक्ति एकजना अर्थमन्त्रीको मुखबाट सुन्नु पर्दा साँच्चिकै उदेक लाग्यो। स्वर्णिम जी, अलि मजा आएन नि ! यदि पुराना नेता वा अन्य कसैले विगतमा कमिसन खाएका थिए वा भ्रष्टाचार गरेका थिए भने, आज सत्ता र शक्ति तपाईंको हातमा छ । उनीहरूलाई कानुनको दायरामा ल्याएर कारबाही गर्ने कि उनीहरूको गल्तीलाई देखाएर आफ्नो गल्ती ढाकछोप गर्ने ? कर्मचारीतन्त्र र मिडियाप्रतिको दृष्टिकोण ब्युरोक्रेसी (कर्मचारीतन्त्र) को तलब बढाएर उनीहरूलाई आफ्नो पक्षमा पार्ने र मुख थुन्ने प्रयास गरिएको हो कि भन्ने आशंका पनि अहिले जनमानसमा उब्जिएको छ । त्यस्तै, मिडियाप्रतिको उहाँको दृष्टिकोण झनै विरोधाभासपूर्ण देखियो । आफूलाई समर्थन गरेर समाचार लेख्दा ‘संसारकै उत्कृष्ट’ देख्ने, तर आफ्ना कमीकमजोरी औंल्याइदिँदा ‘निकम्मा, खराब र झोले’ देख्ने प्रवृत्तिले सुशासनको नभई सर्वसत्तावादको संकेत गर्छ । कुनै पनि पत्रकार वा नागरिकलाई ‘तपाईंले बुझ्नुभएको छैन’ भनेर प्रश्न गर्नबाट वञ्चित गर्ने अधिकार लोकतन्त्रमा कसैलाई हुँदैन ।
नागरिकले प्रश्न गर्छन्, मिडियाले खबरदारी गर्छ। राजनीतिमा सधैँ ताली मात्र बज्दैन । जब आलोचना हुन्छ, एउटा सच्चा नेताले त्यसमा रहेका तथ्यहरूलाई केलाएर आफूलाई सुधार्ने हिम्मत राख्नुपर्छ। पुरानै नेताको ‘कपी-पेस्ट’ थेगो “मैले २ रुपैयाँ मात्र घुस खाएको प्रमाणित भए राजनीति छोड्छु । ” यो वाक्य सुन्दा मलाई लाग्यो, म कुनै नयाँ पुस्ताको आशालाग्दो नेतालाई होइन, दशकौंदेखि देश लुट्दै आएका तर भाषणमा आफूलाई हरिश्चन्द्र सावित गर्न खोज्ने पुरानै पुस्ताका नेतालाई सुनिरहेकी छु । ठ्याक्कै त्यही आत्मविश्वास, त्यही पुरानो थेगो ! अन्त्यमा, माननीय अर्थमन्त्रीज्यू, तपाईंले पनि हिजो एमाले, माओवादी र कांग्रेसका गलत प्रवृत्तिको कडा विरोध गरेरै आजको यो उचाइ र जनताको साथ पाउनुभएको हो। हिजो तपाईंले अरुलाई प्रश्न गर्दा त्यो ‘क्रान्ति’ हुने, तर आज जनताले तपाईंलाई प्रश्न गर्दा त्यो ‘षड्यन्त्र’ कसरी भयो ? आफूलाई ऐनामा हेर्नुहोस् । जनताले तपाईंलाई उत्कृष्ट अर्थशास्त्रीको रूपमा मात्र होइन, एउटा जवाफदेही र पारदर्शी राजनेताको रूपमा देख्न चाहेका हुन् । प्रश्नहरूबाट नभाग्नुहोस्, धम्कीको भाषा नबोल्नुहोस् र तथ्यले जवाफ दिनुहोस् । किनकि, नेपाली जनता अब ‘एक्सेल सिट’ नबुझे पनि नेताको नियत बुझ्न सक्ने भइसकेका छन् ।

