देशभक्तिबारे बहस गर्न तयार छु : भीम रावल
देश र जनताको पक्षमा बोल्दा २०३२ सालमा निरंकुश पञ्चायती शासनले मलार्इृ केन्द्रीय कारागारमा थुन्दा प्रमं के.पी. ओलीजी पनि त्यही हुनुहुन्थ्यो तर उहाँका सल्लाकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो। अतः मैले कुन सन्दर्भमा देशको पक्षमा कस्ता कविता, लेख, दस्तावेज लेखें र आन्दोलनमा नेतृत्व गरें भन्ने कुरा उहाँलाई थाहा नुहुनु स्वाभाविक हो ।
मैले नेपालको संविधान तथा नेकपाको राजनीतिक सिद्धान्त र नीति अनुरुप देश र जनताको पक्षमा बोल्दा मलाई “राष्ट्रवाद” को बहसमा उत्रेको हो भनी धम्कि दिएको पढ्दा २०३३ सालमा “श्री ५ को सरकारको घुँडा टेकुवा नीति मूर्दावाद” भन्ने पर्चा निकालेकोमा तत्कालिन निरंकुश शासकहरुले राजकाज मुद्दा लगाएर झ्यालखानामा थुनेको सम्झना भयो ।
मैले देशको पक्षमा बोल्दा प्रधानमन्त्री के.पी. शर्मा ओलीजीका सल्लाहकारले धम्कि दिएपछि सम्पूर्ण नेपाली जनताको तर्फबाट म पनि प्रश्न गर्न चाहन्छुः के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै होे त ? के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त? म राष्ट्रिय हित, जनता, संविधान, पार्टी विधानको पक्षमा र कुनैपनि रंगको निरंकुशताको विरुद्ध अगाडि बढ्न तयार छु । सूर्य थापाजीले “एक्लो वृहस्पति” हुनलागेको भनेर पार्टी कार्यकर्ता र सदस्य तथा देशभक्त नेपाली जनतालाई दिनुभएको धम्किले सुकेको हाँगाको पात पनि झर्दैन ।
गत आम निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र बाट नेकपाको उम्मेदवार हुनुभएका कमरेड वामदेव गौतमलाई हराउनको लागि पार्टी केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गर्ने सूर्य थापालाई कावाई गर्नुपर्नेमा प्रधानमन्त्रीले पुरस्कृत किन गर्नुभयो, कार्वाइ होस् भनेर कमरेड वामदेव गौतमले स्थायी कमिटीको भरखरै सम्पन्न चौथो बैठक लगायत अनेक पटक कुरा त्यतिकै उठाउनु भएको रहेनछ ।
निरंकुश राणा शासकहरु कवि शिरोमणि लेखनाथको पिंजडाको सुगा भन्ने कविताबाट तर्सेका थिए । मैले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको कविता पार्टी विधान, पद्धति, राष्ट्रिय हित र स्वाभिमानको पक्षमा कति शक्तिशाली रहेछ भन्ने मलाई महसूश भएको छ, सूर्य थापाजीले तर्सेर निन्दा गरेको पढ्दा ।
जबसम्म देशमाथि विगतका निरंकुश व्यवस्थाहरुले थोपरेका असमान सन्धि–सम्झौताहरु रहिरहने छन्, नेपालमा वाह्य हस्तक्षे भइरहनेछ, शासकहरु विधि, पद्धति र राष्ट्रिय हित प्रतिकूल काम गरिहने छन् तबसम्म मैले मात्र होइन देशभक्त–लोकतन्त्रवादी नेपालीहरुले मैले लेखेजस्ता कविता र गीत लेखिरहने छन्, मन्तव्य दिइनै रहनेछन् र आवश्यक परेमा अझ सशक्त रुपमा उत्रने छन् ।
होलि वाइनदेखि, आइफाड पुरस्कार, तरकारीमा विषादी परीक्षणदेखि राजपासंग गरिएको सम्झौतासम्म मैले भनेको कुनैपनि कुरा तथ्यसंग मेल खाँदैन भनेर प्रमाणित गर्न म सल्लाहकारलाई सल्लाह दिन्छु । सल्लाहकारको सल्लाह भए २०३२ सालमा मैले झ्यालखाना देखि तत्कालीन नेकपा(एमाले) मा देखे भोगेका कुरा र गुटबन्टीका पत्र–पत्रहरु लगायत अन्य तथ्यहरुमा समेत बहस गरौंला । यद्यपि जुन देशमा सरकार चलाउनु पर्नेले गुट चलाउन थाल्छन्, त्यहाका सल्लाहकारहरुबाट धेरै अपेक्षा गर्नु शायद उचित हुँदैन होला ।