जापानी सम्राटको राज्याभिषेक सर्यो, राष्ट्रपति भण्डारी म्यानमारबाटै स्वदेश फर्कने
जापान सरकारले त्यहाँका नयाँ सम्राट नारूहिताको राज्याभिषेक समारोह तीन सातापछि नोभेम्बर १० का लागि सार्ने भएको छ । उक्त राज्याभिषेक समारोहमा समेत सहभागी हुने कार्यक्रमसहित म्यानमार भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी जापान नगई त्यहाँबाट नेपाल फर्कने भएकी छिन् ।
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने, ‘राज्याभिषेक समारोह सरेको हो भने राष्ट्रपति जापान जानुहुन्न । म्यानमारको भ्रमण सकेर स्वदेश फर्कनुहुनेछ ।’
जापानको सरकारले आइतबार बैठक बसी राज्याभिषेकको नयाँ तालिका सार्वजनिक गर्ने समाचारमा जनाइएको छ ।
राष्ट्रपति भण्डारीले आइतबारसम्म म्यानमारको भ्रमण पूरा गरी त्यतैबाट आइतबार जापान जाने कार्यक्रम थियो ।
राष्ट्रपति म्यानमार जाँदा जापान भ्रमणबारे मौन बसेको परराष्ट्र मन्त्रालयले भने शुक्रबार मात्रै जापान भ्रमण गर्ने जानकारी गराएको छ ।


