किस्ता तिर्न ढिलो हुँदा बैंकले लग्यो भैंसी



हाम्रो इकोनोमि

 

किस्ता तिर्न ढिलो हुँदा जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचागाउँका दत्त सार्कीको भैँसी बैंकले लगेको छ । घरमा कोही नभएका वेला स्वावलम्बन बैंकले भैँसी लगेको उनले बताए । उनले गत वर्षको असारमा भैँसी खरिद गरेका थिए । त्यसका लागि जुम्लास्थित स्वावलम्बन बैंकबाट ८० हजार ऋण निकालेका थिए । ऋण निकाल्दा मासिक ६ हजार ६ सय ६७ रुपैयाँ किस्ता तिर्नुपर्ने सहमति भएको थियो । गत १० असारमा ऋण निकालेका सार्कीले गत माघसम्म मासिक किस्ता पनि तिरेका थिए । उनले गत ६ माघमा किस्ता तिरेको बैंकले जनाएको छ ।

 

त्यसयता किस्ता तिरेका छैनन् । ‘पैसा भएन । यताउताबाट ऋण निकाल्दा समयमा मिलेन । किस्ता तिर्न केही महिना ढिला भयो,’ उनले भने । ८० हजारमध्ये ४५ हजार तिर्न बाँकी छ । ‘त्यो पैसा पनि तिर्छु भनेकै छु, तिर्दिनँ भनेको छैन,’ सार्कीले भने । ढिला भए पनि बैंकमा गएर तिर्ने जानकारी दिएको उनले बताए । तर, बैंकले वास्ता गरेन । घरमा कोही नभएका वेला यही १० असारमा बैंकको टोली भैँसी लिएर गएको उनले बताए । ‘केही ढिला भयो । एकमुष्ट तिर्नका लागि पैसा जम्मा गर्दै थिएँ,’ सार्कीले गुनासो गरे, ‘घरमा कोही थिएनौँ, बैंकवाला आएर भैँसी लगेछन् ।’

 

स्वावलम्बन बैंक, जुम्लाका सहायक प्रबन्धक भरतबहादुर बोहोराले ६ महिनासम्म किस्ता नतिरेपछि भैँसी लिएको बताए ।  ‘ऋणीलाई पटकपटक ऋण चुक्ता गर्न सुझाब दिँदा पनि तिरेनन् । ६ महिना ढिला गरेपछि चेतावनीका लागि भैंसी उठाएको हो,’ सहायक प्रबन्धक बोहोराले भने । बैंकले सार्कीको घरमा ल्याएको भैँसी अर्को गाउँका बासिन्दालाई हेरविचार गर्ने जिम्मा दिएको छ ।

 

१८ प्रतिशतसम्म ब्याज
स्वावलम्बन बैंकले जुम्लाको गुठीचौर, तातोपानी र तिला गाउँपालिका तथा चन्दननाथ नगरपालिकामा लघुवित्त कार्यक्रम सञ्चालन गरेको छ । यसअन्तर्गत समूह बनाएर व्यवसायका लागि ऋण लगानी गर्दै आएको छ । किसानलाई ऋण लगानी गर्दा वार्षिक १८ प्रतिशतसम्म ब्याज लिने गरेको छ । समूहमार्फत पाँच करोड ६८ लाख रुपैयाँ ऋण लगानी गरिएको बंैकका सहायक प्रबन्धक बोहोराले बताए । बैंकले जुम्लामा गत वर्ष १७ करोड २४ लाख कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...