पाकिस्तानी चेलीले एक महिनामै पाइन् नेपाली नागरिकता



हाम्रो इकोनोमि

 

नागरिकता विधेयकबारे बहस चुलिएका बेला एक पाकिस्तानी चेलीले नेपालीसँग बिहेको एक महिनाभित्रै नेपाली नागरिकता पाएकी छन्  बाग्लुङका सुधिन आचार्यसँग फेसबुकमा चिनजान भएर बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट आइतबार नेपाली नागरिकता लिएकी हुन् । नागरिकतामा उनको नाम आम्ना सफिक आचार्य कायम भएको जिप्रकाले जानकारी दिएको छ ।

 

सफिकले गत ३० फागुनमा नागरिकताका लागि निवेदन दिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले अनलाइनखबरलाई बताए । आइतबार प्रजिअ खरेल आफैंले आम्नालाई नागरिकता हस्तान्तरण गरेका थिए ।

 

‘नेपाली नागरिकसँग अदालती बिहे गरेको र पाकिस्तानी नागरिकता त्यागेको प्रमाण पेश गरेका आधारमा उहाँलाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको हो,’ प्रजिअ खरेलले भने । नेपालकी बुहारी आम्नाले अब नेपालमा स्थायी बसोबास गर्न सक्नेछिन् भने पाकिस्तान माइत जान त्यहाँको भिसा लिनुपर्ने छ ।

सुधिन र आम्नाले गत फागुन १२ गते जिल्ला अदालत बाग्लुङमा कानूनी बिहे गरेका थिए । बिहेमा सुधिनका बुबा टीकाराम र आमा डिलमाया अदालतमा उपस्थित भएका थिए ।

 

आम्नाका तर्फबाट कोही पनि अभिभावक थिएनन् । उनले आफ्नो पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बाग्लुङ नगरपालिका १२ को अमलाचौरमा अस्थाई बसोबास गरेको सिफारिस पेश गरेकी थिइन् । उनले फोनबाटै आफ्ना बाबुआमासँग सहमति मागेकी थिइन् । मुलुकी देवानी संहिता ०७४ को दवाफ ७७ बमोजिम दर्ता बिबाह गर्न केटा र केटी मञ्जुर भए न्यायाधीशले गराइदिन सक्ने व्यवस्था छ ।

 

प्रेमलाई धर्मले छेकेन

२३ वर्षीय सुदिन र २२ वर्षीया आम्नाको राष्ट्रियता मात्रै नभएर धर्म पनि फरक छ । सुदिन हिन्दू हुन् भने आम्ना मुस्लिम । सुधिनको परिवारले आम्नालाई सहजरुपमा स्वीकारेका छन् । आम्ना पनि हिन्दू धर्म-संस्कृति अंगाल्न सहजरुपमा तयार भएकी छन् ।

 

उनीहरुले हिन्दु परम्परा अनुसार बिहे गरेका हुन्, जसमा आम्ना नेपाली दुलही श्रृंगारमा सजिएकी थिइन् । आम्नाका श्रीमान सुधिनले फेसबुकमा स्टाटस लेख्दै श्रीमतीले नागरिकता पाएकोमा खुशी व्यक्त गरेका छन् ।

 

उनले लेखेका छन्, ‘थुप्रै सरकारी प्रक्रियापछि मेरी पत्नीले नेपाली नागरिकता पाइन् । अब उनी विधिवत नेपाली भएकी छन् । उनलाई बधाई । र, हामीलाई सहयोग गर्ने सबैलाई धन्यवाद ।’

 

यस्तो छ प्रेमकथा

पाकिस्तानको रावलपिण्डीमा आइटी इन्जिनियरिङ अध्ययनरत आम्नाले सुदिनलाई दुई वर्षअघि फेसबुकमा फेला पारेकी हुन् । सुदिनसित निकट भएपछि उनी नेपाली पनि मज्जाले बोल्न सक्ने भएकी छन् । यसवीचमा उनी पटक-पटक नेपाल आइन् ।

 

सुधिन र आम्नाको पहिलोपटक प्रत्यक्ष भेट काठमाडौंमा भएको थियो । त्यसपछि उनीहरु गहिरो प्रेममा परेका थिए ।

 

आम्नासँग बिहेको मनस्थितिमा पुगेपछि सुदिनले बुवा टीकारामलाई बताए । टीकारामले ३५ वर्षअघि म्याग्दीकी डिलमाया पुनसँग अन्तरजातीय बिहे गरेका थिए । उनले सजिलै छोरालाई बिहेको मञ्जुरी दिए ।

 

यता, आम्नालाई पनि आफ्ना बाबुआमासँग मञ्जुरी लिन कठिन भएन । टीकारामले नै आम्ना मोहम्मद सफिकलाई चिठी पठाएर छोरी मागेका थिए । सफिक पनि तुरुन्तै राजी भए ।

 

सामाजिक सञ्जालमार्फत नेपाली युवक र पाकिस्तानी युवतीले बिहे गरेको विषय युट्युवमा निकै भाइरल भइरहेको छ । उनीहरुको दर्जनौं अन्तरवार्ताहरु लिइएका छन् । जसमा आम्नाले नेपाल र नेपाली संस्कृतिको निकै प्रशंसा गरेकी छन् ।

 

बुहारीले पाउने अंगीकृत नागरिकता नेपालमा सहज

नेपालमा विदेशी बुहारीलाई बिहेपछि दिइने नागरिकताका सम्वन्धमा लामो समयदेखि बहस चल्दै आएको छ । बिहे गरेर नेपालमा बसोबास गरेको निश्चित अवधि पूरा गरेपछि मात्रै नागरिकता दिनुपर्ने विषय एकथरीले उठाइरहेका छन् ।

०६३ सालमा बनेको ऐनले बिहेलगत्तै विदेशी बुहारीलाई नेपालको अंगीकृत नागरिकता दिन सकिने व्यवस्था गरेको थियो । अहिले संसदमा प्रस्तुत भएको संशोधित ऐनमा पनि त्यसैलाई निरन्तरता दिइएको छ ।

 

अन्य देशमा भने विदेशी बुहारीलाई नागरिकता दिन विभिन्न शर्तहरु हुन्छन् । उनीहरुले बिहेपछि निश्चित समय गुजारेको हुनुपर्छ । पाकिस्तानको हकमा कुरा गर्ने हो भने यदि कुनै नेपाली चेलीले बिहे गरेर पाकिस्तान गइन् भने उनले त्यहाँको नागरिकता पाउन ५ वर्ष पर्खिनुपर्छ ।

 

पाकिस्तानको नागरिकता कानून १९५१ को खण्ड १० (२) मा बिहे गरेर आएका विदेशी महिलाले नागरिकता लिनका लागि ‘समग्र ५ वर्ष पाकिस्तानमा बसोबास गरेको कागजी प्रमाणसहितको स्वघोषणा’ गर्नुपर्ने उल्लेख छ ।

 

पाकिस्तानी नागरिक आम्नाले भने बिहे गरेको एक महिनाभित्रै नेपाली नागरिकता पाइन् । यसले के देखाउँछ भने बुहारीहरुले पाउने नेपाली नागरिकतामा नेपाल निकै नै उदार छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...