बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो
वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.१५ प्रतिशत बढी हो ।
समीक्षा अवधिमा १४ वटा बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ भने पाँच वटा बैंकमा घटेको छ । बैंकहरूको यस्तो सम्पत्तिमा भएको वृद्धिले कर्जा असुलीपछि धितोका रूपमा प्राप्त भएका सम्पत्तिको व्यवस्थापन तथा बिक्री बैंकिङ क्षेत्रका लागि महत्त्वपूर्ण विषय बन्दै गएको देखाउँछ ।
बैंकहरूमध्ये सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकसँग रहेको छ । बैंकको यस्तो सम्पत्ति ६ अर्ब ४० करोड ९१ लाख रुपैयाँ पुगेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ । ग्लोबल आइएमई बैंकमा ५ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ ।
प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ९० करोड १६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, एनआईसी एशिया बैंकमा ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ, नबिल बैंकमा ३ अर्ब ८ करोड २० लाख रुपैयाँ र प्रभु बैंकमा २ अर्ब ५१ करोड ११ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको छ ।
लक्ष्मी सनराइज बैंकमा २ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ, एनएमबी बैंकमा १ अर्ब ९५ करोड १२ लाख रुपैयाँ र सिटिजन्स बैंकमा १ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ । कृषि विकास बैंकमा १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकमा १ अर्ब ३६ करोड १० लाख रुपैयाँ र सानिमा बैंकमा १ अर्ब २७ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
अन्य बैंकमध्ये सिद्धार्थ बैंकमा ८९ करोड ३७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकमा ६३ करोड ३२ लाख रुपैयाँ, एभरेष्ट बैंकमा ५० करोड ५८ लाख रुपैयाँ र नेपाल बैंकमा ३६ करोड ८१ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । राष्ट्रिय वाणिज्य बैंकमा २७ करोड ७३ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।
गैरबैंकिङ सम्पत्तिको आकार बढ्नुको एउटा प्रमुख कारण ऋणीले कर्जा भुक्तानी गर्न नसक्दा बैंकले धितो लिलामी वा अन्य कानुनी प्रक्रियामार्फत सम्पत्ति आफ्नो स्वामित्वमा लिनुपर्ने अवस्था हो । यस्तो सम्पत्ति बैंकको स्वामित्वमा आएपछि त्यसलाई बिक्री गरी रकम असुल गर्नु बैंकका लागि अर्को चुनौती बन्न सक्छ ।

