हिउँ फोटोमै राम्रो, झेल्नेलाई थाहा हुन्छ यसको दुःख



हाम्रो इकोनोमि

 

याे वर्ष हिउँदमा साउनमास जस्ताे वर्षात भयाे। ताताे ठाउँमा पानी पर्याे भने चिसाे ठाउँमा हिउँ। सुरु सुरुमा खुसी भएपनि विस्तारै दिक्दारी बढायाे।

हिउँले चिसाे मात्र गराएन आयआर्जनमा समेत प्रभाव पार्यो।

हिउँदमा उत्पादन नहुने जुम्लामा किसानहरुकाे सहायक आम्दानीकाे स्राेत ज्याला मजदुरी हाे। तर त्यही ज्याला मजदुरी हिउँकै कारण प्रभावित भयाे।

अनणतिममा पटक परेकाे भारी हिमपातले सिंजा गाउँपालिका २ का गोविचन्द्र तिरुवाका ५१ वटा भेडा मरे।

जुम्लीहरूकाे मुख्य आम्दानीकाे स्राेत भेडा पालन पनि हाे। मुख्य आम्दानीकाे स्राेत नै अवरुद्ध भएपछि उनकाे भक्कानिएकाे स्वर आयाे ‘अब त छाक टार्नै समस्या भयाे,’ उनले भने, ‘अत्यधिक हिमपातसँगै बढेको चिसोले कठ्यांग्रिनुका साथै चरन क्षेत्रसम्म लैजान समस्या भएका कारण भेडाबाख्रा मरे।’

पाटन क्षेत्रमै बसेर दिन रात एक गरी मिहेनतले पालिएका भेडाबाख्रा चिसाेले मरेपछि परिवार चरम निराशाकाे भूमरीमा धकेलिएको छ।

जिल्लाकाे तिला गाउँपालिका ३ सुडिकाे विद्यालयमा बाख्लाे हिउँ जमेपछि पठनपाठन हुन सकेन। शिक्षक, अभिभावक, विद्यार्थी र गाउँले मिलेर हिउँ डाेकाेमा बाेकेर भए पनि विद्यालय सञ्चालन गर्न कस्सिएको दृश्यले जाे काेहीलाई भावुक बनायाे। फागुन एक गते खुलिसक्ने विद्यालयमा फागुनकाे तेस्राे हप्तासम्म पनि अध्यापन कार्य सघन रुपमा अघि बढ्न सकेन।

हिउँ राेकिएला भन्दै दिन गयाे, हिउँ राेकिएन। साह्रै भएपछि गाेठका गाईकाे माया लाग्याे अनि घरमै बिहिन भरेर राखेकाे पानी लिएर गाेठ गइन् चन्दननाथ १० कि इन्द्रकला सार्की। उनका गाईले तीन दिनसम्म पानी खान पाएनन्। उनका मात्र हाेइन सबैका गाईगाेरुले पानी खान पाएनन्।

घरमा आमामात्र भएका १२ वर्षका सुनिर सुनारले आफैं हिउँ फाल्न सकेनन्। छिमेकी गुहारे। माटे छतमा हिउँ फालिएन भने घर चुहिन्छ। ‘जस्का घर जस्ताले छाएका छन्, उनीहरुलाई सजिलाे छ। हामीलाई तर साह्राे गाह्राे भयाे,’ उनले भने।

बिँगाराे, दाब्लाे (बेल्चा)ले हिउँ फाल्नुपर्ने हुन्छ। यी दुवै नभएका कल्पना सार्कीका आमा-छाेरा सुप्पाे (नाङ्लो) ले हिउँ फाले।

हिउँ पर्नु हिउँदे बाली जाै, गहुँ र वर्षे फलफूलका लागि साह्रै राम्राे हुने कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ बालकराम देवकाेटा बताउँछन्। उनकाे बाेलीजस्तै लामाे अनुभव भएका स्थानीय बुढापाकाकाे स्वर पनि उही हाे। तर यी सब त पछिका खुसी हुन्। हातमुख जाेर्नै समस्या भएपछि पछिकाे खुसीले अहिले अनुहार उज्यालाे हुने कुनै भएन।

७५ वर्षका बुदे कामी चिसाेले हैरान गरेकाे बताउँछन्। उनकाे आरन व्यवसाय यतिबेला बन्द छ।

उनले भने, ‘मंसिर पुसमा बिहान बेलुका चिसाे बढेकाले आरन लाउन पाइनँ। दिउँसाे अलि अलि काम भयाे। माघ लागेदेखि दिउँसाे पनि हिउँ परेर आरन लाउन पाइनँ। क्यागरी खान्या हाे आपत छ।’ उनी आफू सानाे हुनेबेला यति धेरै हिउँ देखेका थिए। त्यसकाे निकै लामाे समयपछि आफ्नाे राेजिराेटी मास्नेगरी हिउँ आयाे। हिउँसँग उनका गुनासा छन्।

जुम्ला बजारकाे बालमन्दिर नजिक सडकमा जुत्ता सिलाउने रगु सार्कीले पनि काममा जान नपाएको लामाे समय भयाे। दिनकाे तीन सयदेखि पाँच, छ सयसम्म कमाउने उनकाे हातमा पैसा नपरेकाे महिना दिन बढी भइसक्याे। नयाँ शैक्षिक सत्र सुरु भैसक्याे। तर उनले पैसा अभावमा आफ्नाे दुई कक्षा पढ्ने छाेराका लागि किताब, कापी, कलम किन्न सकेका छैनन्। छाेराले हैरान गरेकाे छ।

बजार वरपर आफ्नाे सीपकाे राम्राे माग भएका बाेहरागाउँ निवासी इन्द्र सार्कीकाे आम्दानी नभएकाे पनि महिना दिन बढी भैसकेको छ। घर बनाउने काममा सिपालू उनी दिनकाे हजारदेखि बाह्र सय कमाउँछन्। उनी भन्छन्, ‘याे सालकाे हिउँले गरी खान दिएन। बरु इन्डियातिर गएकाे भए केही कमाइ हुन्थ्यो कि।’

एक महिना अगाडि भारतबाट फर्केका टेक सार्कीले पैसाकाे मुख नदेखेकाे पनि भारतबाट घर पुगेकै दिनदेखि हाे।

जाडाे भएपछि मान्छेहरूकाे सदरमुकाम आउजाउ पनि निकै पातलिएकाे छ। परिणाम व्यापार व्यवसायले पनि गति लिन सकेकाे छैन। पाेहोर पारारभन्दा याे वर्ष निकै कम व्यापार भएकाे बताउँछन् जुम्ला बजारमा फेन्सी पसल ‘डि डाइमन्ड कलेक्सन’का प्राेपराइटर धर्म रावल।

बुधबार बिहानदेखि लगातार परिरहेको हिउँ साँझसम्म पनिराे किएन। लगातार परिरहेकाे हिउँ याे वर्षको सबभन्दा बढी मात्रामा करिव ५० सेन्टिमिटरकाे हाराहारीमा हाे। वर्षमा तीन-चार पटक हिउँ पर्नु खुसीको कुरा हाे। तर याे साल यति हिउँ पर्यो, गनेर साध्य भएन।

प्रतिक्रिया दिनुहोस
नेकपाका वडाध्यक्ष सीताराम तामाङ एमाले प्रवेश

  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटमा पहिरो गएको छ । दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका...

भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको...

झापा ५ मा एमाले युवाको मार्चपास

    आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले बुधबार...

पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक...