विद्यासुन्दर शाक्यको स्र्माटसिटी, काठमाडौं महानगरको नै कन्थविजोग



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिका टेकु शाखाका कर्मचारी कार्यालय समयमा तास खेलिरहेका थिए। फुटपाथ व्यापारीका रिक्सा, ठेलागाडा र साइकलको डंगुर कार्यालय परिसरमा बग्रेल्ती थियो। नगर प्रहरी र कर्मचारी भने कार्यालयभित् तास लेखिरहेका थिए। कोही पलेटी कसेर तास खेलिरहेका थिए, कोही उभिएर हेरिरहेका थिए।

 

सुन्धारास्थित महानगरपालिकाको भवन भूकम्पले भत्काएको छ। जीर्ण भवनको कोठा नम्बर १०४ मा दुई जना कर्मचारी बसिरहेका थिए। दुई जना सेवाग्राही पनि थिए। कर्मचारी भन्दै थिए, ‘मैले दिने सुझाव यति हो। उमेर बढाएर बनाउनुस् अब। मैले गरेँ भने एक कल फोनको काम हो यो।’ सेवाग्राही अलमल परे। निरास हुँदै घाम ताप्न निस्किए। चौरमा गएर दुईजना सल्लाह गर्न थाले। महिला सेवाग्राहीले भनिन्, ‘उमेर बढाएर बनाउनु पर्‍यो अब।

फेरि उनीहरुलाई खुवाउनु पनि पर्‍यो।’ एकछिन घाम तापेर फेरि कोठा नम्बर १०४ मा छिरे। निर्देशकलाई भेट्न खोजे। कार्यालयका निर्देशक बसन्त आचार्य दिनभर कार्यालयमा देखिएनन्। कर्मचारीले भने, ‘पल्लो बिल्डिङतिर सोध्दै जानू। उतै भेटिन्छ।’ उनीहरु निर्देशक खोज्दै गए।

 

सेवाग्राहीले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई भेट्न तिन तहको सुरक्षा घेरा पार गर्नुपर्छ। जेडिसी भवनको छैंठौं तलामा उनी अङ्ग रक्षकले घेरिएर बस्छन्। उनलाई भेट्न जाँदा ढोका वरपर ‘वाकीटकी’ बोकेका सुरक्षाकर्मी देखिन्छन्। तिनैले सेवाग्राहीलाई सुरुमा केरकार गर्छन्। त्यसपछि उनले डेस्कमा पठाइदिन्छन्।

 

डेस्कका कर्मचारीले सोधपुछ गरेपछि दोस्रो चरण सुरु हुन्छ। तेस्रो चरणमा ढोकामा उभिएका सुरक्षाकर्मीले सेवाग्राहीलाई फेरि सोधपुछ गर्छन्। भेट्नुको कारण ती सुरक्षाकर्मीलाई उचित लाग्यो भने वेटिङ रुममा पठाइन्छ। तेस्रो चरणमा वेटिङ रुममा अर्का एकजना सुरक्षाकर्मी निरीक्षण गर्न बाराम्बार आइरहन्छन्।

 

उनले प्रत्येक सेवाग्राहीको क्रियाकलाप नियाल्छन्। घन्टौं कुरेर बस्ने सेवाग्राहीलाई बाराम्बर चुप लागेर बस्न भन्छन्। तिन चरणको सुरक्षा घेरापछि बल्ल मेयरलाई भेट्ने पालो आउँछ। तर मेयरका पिए र सुरक्षाकर्मीसँग चिनजान छ भने माथिका प्रकृयाहरु पूरा गर्नुपर्दैन। सिधासाधा मानिस वेटिङ रुममा कुरिरहेका भेटिन्छन्, टाइसुट लगाएकाहरु सिधै भित्र पस्छन्।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने मेयरका लागि संस्थागत रुपमा १ जना मात्रै सहयोगी राखिएको दाबी गरे। मेयर शाक्य पनि आफ्ना लागि एकजना मात्रै सुरक्षा गार्ड रहेको बताउँछन्। तर, आफ्ना लागि कति सुरक्षाकर्मी परिचालित छन् भन्नेमा उनी अनभिज्ञता जनाउँछन्। भन्छन्, ‘मेरो सुरक्षाका लागि सरकारले कति सुरक्षाकर्मी परिचालन गरेको छ, मलाई पनि थाहा छैन।’

 

महानगरको क्यान्टिनमा राजनैतिक गफ चर्काचर्की हुने गर्छ। दिँउसो १२ः२० बजे। कर्मचारीहरु कार्यकक्ष छाडेर क्यान्टिनमा घाम ताप्दै गफिइरहेका थिए। उनीहरु कामभन्दा बढी घाम तापिरहेका थिए। एक कर्मचारी भन्दै थिए, ‘३÷४ घण्टा मज्जैले ज्यान तताइन्छ।’ चिया गफमा कामका कुरा हुँदैनन्। राजनैतिक पार्टीका कुरा हुन्छन्। पक्षधरताका कुरा हुन्छन्। आफ्नो झुकाव भएको पार्टीको पक्षमा ठूल्ठूलो स्वरमा तर्क गर्छन्।

 

चिया पिइरहेका एक कर्मचारी आगामी चुनावमा नेकपाको लज्जास्पद हार हुने तर्क गर्दै थिए। उनी भन्दै थिए, ‘समृद्धि गफमै सिमित भयो। केही काम गर्नु छैन, खाली जनतालाई छक्याएर हुन्छ ? हेरिबस्नु होला, अबको चुनावमा तपाईंको पार्टी खेर जान्छ।’

 

अर्का कर्मचारीले प्रतिवाद गर्दै कडा स्वरमा भने, ‘हिजोको आजै विकास हुन्छ ? विस्तारै काम हुँदैछ। तपाइको पार्टी प्रतिपक्ष भएर के गरेको छ र ? ’ पहिलो कर्मचारीले झन ठूलो स्वरमा भने, ‘हेरिराख्नु होला, नेकपा फुट्छ। मान्छे वाक्कदिक्क भइसकेका छन्।’

 

 

खण्डहर बाघदरबार

गेटबाट चिटिक्क देखिने महानगरको कार्यालय भित्र खण्डहर छ। सेतो रङ पोतिएको दरबार खुइलिएको छ। यत्रतत्र उम्रिएको झार, परेवाको सुली, काठमा टुक्रा, असरल्ल कागजपत्र, कार्पेटका टुक्रा, पानीका बोतल, फुटेका सिसा, ब्याट्री र बिजुलीका तारहरु, पुराना चप्पलहरु र भाँचिएका कुर्सीले कार्यालय अस्तव्यस्त देखिन्छ।

चर्किएको ठाउँमा घाँसपात पलाएको छ। भ्रष्टाचार विरुद्ध टाँसिएका स्टिगर मैलिएका छन्। नागरिक वडापत्र शौचालय छिर्ने ढोकामा तेर्सिरहेको छ। कतैकतै भवनको वाल नै भत्किएको छ।

 

 

चालु हालतमा रहेको कार्यकक्षमा समेत ताल्चा लगाइएको छ। पटकपटक इजलास सरेको सुचना भित्तामा टाँसिएको छ। ‘एसी’लाई घाँसले छोपेको छ। जतिभित्र पुग्यो उति थोक्रा संरचनाहरु भेटिन्छन्। चाइना टाउनसहित बाहिर सपिङ मलका ग्राहकहरुको पार्किङ स्थल बनेको छ महानगरको परिसर।

 

महानगर परिसर मेयरको गाडि पार्किङ गर्ने थलोमा परिणत भएको छ। ढोकामा नागरिक वडापत्र होइन मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार पार्किङ गर्न छुट्टाछुट्टै स्थान तोकेर बोर्ड राखिएको छ। सहरी सुव्यवस्था विभागका शाखाहरु बाहेक अरु भवनमा छैन। महानगरका शाखाहरु ९ तिर छरिएका छन्। कुनै शाखा बबरमहलमा छ, कुनै ताहाचलमा। कुनै नजिकैको बिल्डिङ भाडामा लिएर चलाइएको छ भने कुनै टेकुमा। सेवाग्राही पुरानो बिल्डिङमा काम लिएर पुग्छन्। तर कार्यालय बन्द हुन्छ। ढोकामा शाखा अन्तै सरेको सुचना टाँसिएको देखेपछि उनीहरु अलमल पर्छन्।

नगर प्रमुख शाक्य ठाउँ अभावका कारण मिटिङ हलसमेत नभएको बताउँछन्। भन्छन्, ‘कर्मचारी समेत बस्ने ठाउँ छैन।’ भवन निर्माण गर्ने पूरै तयारी भए पनि मुद्दा परेका कारण काम अगाडी बढ्न नसकेको उनले बताए। महानगरका प्रवक्ता डंगोल नयाँ भवन निर्माण प्रकृया अघि बढाइ सकेको बताउँछन्।

 

पुरातात्विक भवन भन्दै अदालतमा मुद्दा परेको उनले बताए। उनले भने, ‘अदालतले ‘स्टे अर्डर’ जारी गरेपछि भवन भत्काउन मिलेन। पुरातात्विक भवन हो कि हैन भनेर अध्ययन भइसकेपछि के गर्ने भन्ने निर्णय हुन्छ।’

 

सेवाग्राही भित्र, कर्मचारी बाहिर

दिनभर जसो घाम तापेर बस्छन् कर्मचारी। अफिसभित्र गर्नु पर्ने काम चिया पसलमा गर्छन्। कम्प्युटर चलाउने कर्मचारी आएको छैन भन्दै सेवाग्राहीलाई फर्काएर पठाइदिन्छन्। एकजना सेवाग्राही चिया पसलबाट कर्मचारीलाई सही गराएर कार्यकक्ष खोज्दै गए। तुरुन्तै फर्किएर उनले कर्मचारीलाई भने, ‘हेर्दै नहेरि छैन भनिदिनु भयो।’ ति सेवाग्राहीलाई भोलि आउनु भन्दै फर्काइदिए।

दिउँसो १ बजे। कर्मचारी खोज्दै एक महिला क्यान्टिनमा आइन्। कर्मचारीको नाम बोलाउँदै खोज्न थालिन्। कर्मचारी त्यहीँ घाम तापिरहेका थिए। सेवाग्राहीले भनिन्, ‘म त सरलाई उता पर्खिरहेको। यता हुनुहुँदो रहेछ।’ उनले केही कागजपत्र कर्मचारीलाई देखाए। कर्मचारीले कागजपत्र हेरेर एक छेउमा दस्तखत गरिदिए।

 

कोठा नम्बर १०३। पुस्तकालय कक्ष अस्तव्यस्त देखिन्छ। भित्ता चर्किएको छ। कोठाको रङ खुइलिएको छ। टेवलमा बिभिन्न नामका पत्रपत्रिका छरिएका छन्। पोको पारेर केही पत्रिका भित्तामा राखिएको छ। ४, ५ वटा दराजमा पुस्तकहरु मिलाएर राखिएको छ। पुस्तकहरु नियमित प्रयोगमा आएझैँ देखिँदैन। दराजलाई धुलोले ढाकेको छ। बसेर पढ्न सुविस्ताको ठाउँ छैन। बस्, पुस्तकहरु राखिएका छन् त्यसैले पुस्तकालय भनिएको छ।

 

दिउँसोको ३ बजे। पुस्तकालयमा ३ जना मानिस छन्। तिमध्ये एक, लाइब्ररीयन। २ जना कर्मचारी। सबैको हातमा पत्रिका छ। महिला कर्मचारीले प्रशासनिक समाचार पढ्दै सहकर्मीलाई केही सोध्छिन्। अर्काे कर्मचारी जवाफ फर्काउँछन्, ‘माथिको मान्छे चिनेको छ। अनि काम भइहाल्छ नि।’ कसको, के काम भयो, केही बुझिँदैन। बस्, उनीहरु खुसुखुसु गर्छन्। उनीहरु आफ्नै हाकिमको पनि कुरा गर्छन्। को असल छ÷को खराब छ, विश्लेषण गर्छन्। बढुवामा ‘सोर्स’ लाग्ने बताउँछन् उनीहरु।

 

भाडाको फ्ल्याटमा मेयर

भूकम्प गएको साढे तिन वर्ष बित्यो। तर जिर्ण भवन पुर्ननिर्माणको कुनै सुरसार छैन। महानगरको बुलेटिनमा नयाँ भवनको सुन्दर तस्बिरसहित महत्वकांक्षी योजना समावेश छ। जसलाई क्लासिक, नियो क्लासिक र आधुनिक तिनैवटा शैलीमा निर्माण गर्न १ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ। तर भवन अलपत्र छ। कुनै सुरसार छैन। घाम तापिरहेका एक कर्मचारीले भने, ‘कमिसन नमिलेर एकजनाले सर्वोच्चमा मुद्दा हाल्यो। त्यसपछि भवन निर्माणको काम एकसिक्को अघि बढेन।’


भवन नबनेपछि सेवाग्राहीलाई एकै स्थानबाट सेवा दिनुपर्ने महानगरका विभागहरु ९ स्थानमा सारिए। तर मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्ष भने नजिकैको सुविधा सम्पन्न जेडिए कम्प्लेक्समा सर्यो। लिफ्ट चढेर कम्प्लेक्सको पाँचौं र छैठौं तलमा सेवाग्राही पुग्नु परेको छ। लिफ्ट चढ्नुपर्छ भन्ने थाहा नपाउने बृद्धबृद्धा सेवाग्राही स्याँस्याँ गर्दै मुस्किलले छैंठौं तला पुग्छन्।

 

सोधपुछ कक्षका कर्मचारी टेबुलमुनी हिटर राखेर कम्प्युटर चलाइरहेका हुन्छन्। सेवाग्राहीको जिज्ञासामा झर्किँदै जवाफ फर्काउँछन्। बल्लबल्ल मेयरको कक्षमा पुग्दा तिन तहको सुरक्षा घेरा पार गरेर बल्ल भेट्न पाउँछन्।

 

मुलुककै जेठो काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष ‘भौतिक पूर्वाधार निमार्ण वर्ष’का रुपमा मनाउँने भन्दै मंसिर २९ गते २४ औं स्थापना दिवस मनायो। सोही अवसरमा प्रतिव्यक्ति ५० हजारका दरले १० पत्रकारलाई पुरस्कृत पनि गर्‍यो।

 

महानगरको प्रगति विवरण समेटिएको बुलेटिन पनि सोही अवसरमा सार्वजनिक गरियो। मोनोरेल, धरहरा, रानी पोखरी, कमलपोखरी, शंखपार्क, काष्ठमण्डप लगायतका महत्वाकांक्षी योजनाहरु समेटिएका छन्। तर वर्षौं वितिसक्दा पनि कुनै पनि योजना पूरा नहुँदा नगरवासी निरास छन्। एक सेवाग्राहीले आक्रोश पोख्दै भने, ‘आफ्नै भवनसमेत निर्माण गर्न नसक्ने महानगरले यस्ता योजनाहरु पूरा गर्लान् र ? ’ बुलेटिनमै रातो अक्षरमा लेखिएको छ, ‘वडा-वडामा विकासको लहर।’

 

वडा नम्बर ७ को स्मारिका-२०७५ महानगरमा बाँडिएको छ। जहाँ वडाले निर्माण कार्य सम्पन्न गरेका तस्बिरहरु सजाइएका छन्। तर यथार्थमा जहाँ जहाँ निर्माण भयो भनियो ती स्थानहरुमा बाटोको विजोग जस्ताको जस्तै छ। सडक कालोपत्रे गरिएको भनिए पनि सवारीसाधान आवागमन सहज छैन।

 

चावहिल, मित्रपार्क, गौशला क्षेत्रमा जुनसुकै बेला घन्टौं जाम हुने र धुलोमा सर्वसाधारण पुरिनु पर्ने वर्षौंदेखिको समस्या जस्ताको तस्तै छ। महानगरले काम गरिरहेको जिकिर गर्छन् प्रवक्ता डंगोल। उनले भने, ‘हामीले काम गरिरहेका छौँ। महानगरको प्रगति भइरहेको छ।’ नगरप्रमुख शाक्य भन्छन्, ‘योजनामा राखेका धेरै काम भइसकेको छ। कतिपय हुँदै छन्।’

अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...