वाइडबडी विमान खरीद काण्ड, लालपुर्जा नै नक्कली, कंसाकारले कुम्ल्याए ६ अर्ब



हाम्रो इकोनोमि

 

 नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ।’

 

विमानको ‘लालपुर्जा’ सुनेर अचम्मित भएका हवाई क्षेत्रका विज्ञ तब झस्किए, जब उनले देखाएका कागजातमा खोटैखोट भेटिए। एउटा अनलाइनसँग उनले भनेका थिए, ‘२५ अर्बको सामान बिनास्वामित्व किन्ने मूर्ख होइन म।’

 

‘तर, पच्चीस अर्बको सामान आफैंले बनाएको कम्पनीसँग किन्न र त्यही कागजलाई लालपुर्जा भन्न मिल्छ ? ’ नेपाल एयरलाइन्सकै एक पदाधिकारी प्रश्न गर्छन्, ‘सम्झौता गर्ने कन्सोर्टियमका पार्टनरको हस्ताक्षर बिल अफ सेल नामक कागजमा किन राखिएन ? ’

 

नेपाल एयरलाइन्स र हाई फ्लाई एक्सबीच गरिएको जहाज खरिद सम्झौतामा बिल अफ सेलमा कन्सोर्टियका तीनवटै कम्पनीको पनि हस्ताक्षर हुने व्यवस्था राखिएको थियो। सम्झौताको पृष्ठ ३९ मा बिल अफ सेलको नमुना सामेल थियो। त्यसमा पाँचै कम्पनी लोगोसहित देखिन्थे। विमानसँग पठाइएको ‘बिल अफ सेल’ मा भने ती कम्पनी सरक्क हटेर हाई फ्लाई एक्सलाई मात्र हस्ताक्षर गराएका छन्।

 

(हेर्नुहोस् सम्झौतामा राखिएको बिल अफ सेलको नमुना र अहिले बाँडिएको बिल अफ सेल भनिएको कागज)

त्यसैलाई ‘सक्कली’ बिल अफ सेल ठानेर भन्सार विभागले जहाजको भन्सार लिएको छ। नागरिक उड्डयन प्राधिकरणले स्वामित्वसहित दर्ता गरिदिएको छ।

 

‘दुवै जहाज किनिएका भनिएको छ। त्यसो भए कन्सोर्टियमका पार्टनरहरू हस्ताक्षर गर्नबाट किन भागे ? ’ ती पदाधिकारी सोध्छन्, ‘आफैंले बनाएको १ युरोको कम्पनीले आफैंलाई २५ अर्बको जहाज कसरी बेच्न सक्छ ? सादा कागजमा उसले बनाइदिएको कथित बिल अफ सेल के लालपुर्जा नै हो त ? अनि, त्यतिकै भरमा स्वामित्व ठानिदिने हाम्रा कस्ता अधिकारी हुन् ? दुवै जहाज हाई फ्लाई एक्सको नाममा अर्डर गरिएको थिएन। पोर्चुगलको हाई फ्लाई एयरलाइन्सले बुक गरेको थियो। यी दुई नितान्त फरक कम्पनी हुन्।

 

हाई फ्लाई नाम मिलाएर झुक्याउन खोजिएको छ। एयरबसले आफ्नो वेब साइटमा अझै पनि २८ जुन २०१८ को यस्तो विज्ञप्ति राखेको छ, जसमा भनिएको छ, ‘नेपाल एयरलाइन्सले पहिलो ए३३० वाइड बडी जेटलाइनर बुझेको छ, जुन पोर्चुगलको लिजर (भाडामा लगाउने) हाई फ्लाईले भाडामा दिने दुइटामध्ये एउटा विमान हो।’ यसको अर्थ दुवै जहाज भाडामा हुन्, एउटाचाहिँ उक्त मितिमा बुझाइएको हो।

 

हाई फ्लाई एयरलाइन्सले पनि आफ्नो प्रोफाइलमा ‘लिजर’ लेखिरहेकै छ। उसले आफ्नो परिचय यसरी दिएको छ, ‘हाई फ्लाई वाइड बडी विमान भाडामा दिने विशेषज्ञतासहितको विश्वव्यापी अग्रणी कम्पनी हो। एयरलाइन्सहरूका छोटा÷मध्यकालीन वा कुनै सिजनमा चाहिने आवश्यकता परिपूर्ति गर्न यो संस्था सहयोगी बन्नेछ।’ यस्ता तथ्यले दुवै जहाजको स्वामित्वमा झन् आशंका बढाएको छ।

 

यता पनि उही, उता पनि उही

कन्सोर्टियमका पार्टनरसँग नेपाल एयरलाइन्सले सुरुमा बैंक ग्यारेन्टी दिन वा एलसी खोल्न प्रस्ताव राख्यो। सुरुदेखि पैसा तिर्नुपर्ने भएकाले त्यसको सुरक्षामा चासो राख्नु स्वाभाविक थियो। जहाज बिक्रीको प्रस्ताव पार्ने एएआर इन्कका दीपक शर्माले ९ जुन २०१७ मा त्यसलाई इन्कार गर्दै पत्र लेखे।

 

प्रबन्ध निर्देशक कंसाकारलाई लेखिएको पत्रमा भनिएको छ, ‘हामी कन्सोर्टिय (एएआर इन्टरनेसनल, जर्मन एभिएसन क्यापिटल र हाई फ्लाई ट्रान्सपोर्टे एरोइज) लेटर अफ क्रेटिड (एलसी) ढाँचामा जान अस्वीकार गर्छौं। जहाज खरिदमा बैंक ग्यारेन्टी प्रदान गर्न पनि सहमत छैनौं। बरु यस प्रयोजनमा आर्थिक कारोबारका लागि एस्क्रो एजेन्ट नियुक्त गर्न राजी छौं।’

 

एस्क्रो एजेन्ट आर्थिक कारोबार गर्ने तेस्रो पक्ष हो। खरिदकर्ता र बिक्रेताबीच कुनै बिन्दुमा बेइमानी हुन्छ कि भनेर तेस्रो पक्षले एजेन्टको काम गर्छ। लेनदेनको अन्तिम क्षणमा भुक्तानी गरिदिन्छ। त्यसबापत उसले निश्चित सेवा शुल्क पाउँछ। यो अन्तर्राष्ट्रिय स्तरमा प्रचलित र कानुनसम्मत विधि हो। तर, त्यसमा खरिद–बिक्रीका कुनै पक्ष हुनु हुँदैन।

 

एकछिन हाई फ्लाई एक्स आयरल्यान्ड लिमिटेडको जन्मबारे चर्चा गरौं। नयाँ जहाज सोझै कम्पनीबाट किन्नुपर्ने कानुनी बाटो छल्न नेपाल एयरलाइन्सले हजार घण्टासम्म उडेको सेकेन्ड ह्यान्ड वाइड बडीका लागि सार्वजनिक प्रस्ताव आह्वान गर्‍यो। त्यसमा एएआरले सस्तो मूल्यमा नयाँ जहाज नै दिने प्रस्ताव हाल्यो। र, छानियो।

 

पछि आफूसँग जहाज नभएको भन्दै उसले कन्सोर्टियम पार्टनर जर्मन एभिएसन क्यापिटल र पोर्चुगलको हाई फ्लाई ट्रान्सपोर्टे एरोइजलाई देखायो। चौथो पक्ष हाई फ्लाई एयरलाइन्सका नाममा एयरबसमा जहाज बुक गरियो।

 

तीन देशमा भएका तीनथरी कम्पनीसँग कारोबार गर्न अप्ठ्यारो हुने भन्दै नेपाल एयरलाइन्सले खरिद प्रयोजनका लागि ‘स्पेसल पर्पोज कम्पनी’ खोल्न उनीहरूसँग प्रस्ताव राख्यो। त्यसैका लागि आयरल्यान्डमा एक युरोमा ‘हाई फ्लाई एक्स आयरल्यान्ड’ नामक कम्पनी खोलियो।

 

हाई फ्लाई एक्सका सञ्चालक को हुन् त ? हामीलाई चासो लाग्यो। कागजात खोज्दै जाँदा फेला पर्‍यो– एस्क्रो एजेन्ट बनेको नोर्टन रोज र कन्सोर्टियमका कम्पनी खुलेरै यो जालसाँजीमा लागेको रहेछन्।

 

बिल अफ सेल भनिएको कागजमा हस्ताक्षर गर्ने हाई फ्लाई एक्सका निर्देशक क्रिस्टियन नुएहलेन कन्सोर्टियमको जर्मन एभिएसन क्यापिटलका सञ्चालक हुन्। अर्का हस्ताक्षरकर्ता हाई फ्लाई एक्सका मार्कुस रेडब्रुच एस्क्रो एजेन्ट नोर्टन रोजका सञ्चालक हुन्। उनीहरू १३ मार्च २०१७ मा ती कम्पनीका तर्फबाट वार्ता गर्न काठमाडौं आएका थिए। उनीहरूले ३ दिन छलफल गरेका थिए।

 

‘विशुद्ध तेस्रो पक्ष हुनुपर्ने एस्क्रो एजेन्टकै सञ्चालकले बिक्रेता भनिएको हाई फ्लाई एक्स कम्पनी बनाउनु अवैध साँठगाँठ हो’, विमान सेवामा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका एक विज्ञ भन्छन्, ‘कन्सोर्टियमकै पार्टर संस्थाका सञ्चालक पनि स्पेसल पर्पोज कम्पनीका मालिक हुनुले यसमा ठूलो चलखेल छर्लंङ्गै देखिन्छ। हाई फ्लाई एक्स यस्तो ठिमाहा कम्पनी हो, जसमा नेपाल एयरलाइन्स, कन्सोर्टियम पार्टनरदेखि एस्क्रो एजेन्टसम्म प्रत्यक्ष सहभागी छन्।’

अन्ततः एक डरलमा खोलेर बन्द गरिसकेको त्यही कम्पनीलाई मात्र बिक्रेता बनाइएको छ। बाँकी सबै यसबाट पन्छिएका छन्।

 

जहाज पनि अर्कै

नेपाल एयरलाइन्सले ए३३०–२०० जहाज किन्न सम्झौता गरेको थियो। एएआरदेखि हाई फ्लाई एक्ससम्मले सम्झौतामा त्यही जहाज किन्ने लेखेका थिए। सम्झौताको अनुसूचीमा राखिएको बिल अफ सेलको नमुनामा पनि त्यही थियो। जब जहाज किनियो, आयो– ए३३०–२४३। बिल अफ सेलमा पनि ए३३०–२४३ नै उल्लेख छ।

 

विज्ञहरूका अनुसार ए३०० वर्गका २०० र २४३ जहाजमा निकै भिन्नता हुन्छ। ‘म्याक्सिमम टेक अफ वेट (एमटीओडब्लु) २ लाख ४२ हजार केजीबाट २ लाख ३० हजार केजीमा घट्नुको मुख्य कारण यही हो’, एयरबसको वाइड बडीका एक विशेषज्ञ भन्छन्, ‘२०० ल्याएको भए एमटीओडब्लु घटाउनै पर्ने थिएन।’

 

के हो ‘लालपुर्जा’ ?

ढुक्क हुनुहोस्– जहाजको ‘लालपुर्जा’ हुँदैन। सर्वसाधारणको भावना जित्न यो शब्द प्रयोग गरिएको हो। तर, ‘लालपुर्जा’ मा जुन रित पुर्‍याइएको हुन्छ, २५ अर्बका विमान किन्दा त्यसको १ प्रतिशतसम्म पनि पुर्‍याइएको छैन।

 

‘लालपुर्जा भनेपछि आधिकारिक कागज भनेर नेपालीले पत्याउँछन् भनी मूर्ख बनाउने काम भयो’, वायुसेवाका एक विज्ञ भन्छन्, ‘आफैंले बनाएको कम्पनी बिक्रेता, आफू क्रेता। सम्झौता गर्ने कम्पनीहरू त्यसबाट अलग। कसरी भन्ने यस्तो कागजलाई लालपुर्जा ? ’

अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...