अस्पतालै नपुगी अकालमै जान्छ ज्यान



हाम्रो इकोनोमि

 

 फक्ताङलुङ गाउँपालिका–६ ग्याब्लाका १९ वर्षीय तेन्जिङ शेर्पाको दाँत दुखेपछि गत भदौ २१ गते परिवारले काठमाडौंबाट हेलिकोप्टर झिकायो ।

 

मौसम प्रतिकूलताका कारण तीन दिनमा पनि हेलिकोप्टर आएन । दुखाइ बढ्दै गएपछि बिरामीलाई भदौ २४ गते स्थानीय भेला भई स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल हिँडाए । स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात् अस्पताल लैजाने क्रममा भदौ २५ गते उनको मृत्यु भयो ।

 

 

ग्याब्लाबाट जिल्ला अस्पताल पुग्न दुई दिन लाग्छ । सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गर्ने आसमा तीन दिन हेलिकोप्टर कुरेर छोरो गुमाएका थाक्चे शेर्पाको परिवार शोकमा डुबेको छ ।

 

‘गाउँमा मोटरबाटो पुगेको छैन, स्वास्थ्य संस्था टाढा छ’, तेन्जिङका दाजु डन्डुले भने, ‘हेलिकोप्टरसमेत आउन नसकेपछि भाइलाई बचाउन सकेनौं ।’ दाँत दुखाइकै कारण मृत्यु हुनु दुःखद् भएको लेलेपकै पेम्बा टाँसी शेर्पाले बताए ।

 

 

त्यस्तै, मिक्वाखोला गाउँपालिका–४ साँवाका पदमसुन्दर थलङलाई २०७४ असारमा झाडापखालाले च्याप्यो । स्ट्रेचरमै बोकेर अस्पताल लैजाँदै गर्दा लिवाङको छिपछिपेमा २५ वर्षीय थलङको प्राण गयो । ताप्लेजुङका प्रायः ग्रामीण क्षेत्रबाट जिल्ला अस्पताल पुग्न दुईदेखि चार दिनसम्म लाग्ने गर्छ ।

 

यहाँका धेरै बिरामीले अस्पतालको मुखसमेत देख्न पाउँदैनन् भने कतिपयले बाटोमा ल्याउँदा–ल्याउँदै ज्यान गुमाएका घटना धेरै छन् ।

 

 

वर्षमा तीन–चार जनाले स्वास्थ्य संस्था नपुग्दै ज्यान गुमाउने गरेको साँवाका मोतीहाङ लिम्बूले बताए । गाउँका सर्वसाधारणलाई स्वास्थ्यबारे चेतना अभाव रहेकाले पनि उपचारमा स्वास्थ्य संस्था पुग्न ढिलाइ हुने गरेको उनको भनाइ छ ।

 

‘बिरामी परेपछि एक–दुई दिन निको हुन्छ कि भनेर पर्खिने चलन छ अनि घरेलु उपचार र धामी लगाइन्छ’, उनले भने, ‘त्यसपछि मात्रै अस्पताल लाने सुरसार हुन्छ, जुन बेलासम्म बिरामीको अवस्था नाजुक भइसकेको हुन्छ ।’

 

 

जिल्ला अस्पतालमा महिनामा आठ–दस जना बिरामी रोगले च्यापेर अन्तिम अवस्थामा मात्र आउने गरेको अस्पताल प्रमुख डा. सचिन यादवको भनाइ छ ।

 

‘त्यसमध्ये धेरैलाई यहाँबाट पनि रेफर गर्नुपर्ने हुन्छ, कति त गरिबीका कारण बाहिर जान सक्दैनन्’, उनले भने, ‘त्यस्तालाई आफन्तको सल्लाहमा जोखिम मोलेरै पनि उपचार गरेका छौं ।’

 

 

नागरिकलाई घरदैलोमै सेवा दिन भन्दै स्थानीय सरकार गठन भए पनि स्थास्थ्य क्षेत्रमा त्यसको महसुस भने हुन नसकेको स्थानीयको भनाइ छ ।

 

‘दुर्गमका सर्वसाधारणलाई आकर्षक नारा दिएर नेताहरू जनप्रतिनिधि निर्वाचित भए, प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल खोल्ने भनियो’, फुङलिङका कृष्ण पौडेलले भने, ‘गाउँमा भएका स्वास्थ्य चौकी जीर्ण छन् । ती कतिपय कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन्, स्थानीय सरकारका प्रमुख, उपप्रमुखले यसतर्फ ध्यान दिएकै छैनन् ।’

 

 

फक्ताङलुङ–६ का वडाध्यक्ष छोवाङ शेर्पाले जनता नै सचेत नहुन्जेल यस्ता समस्या समाधान हुन नसक्ने बताए ।

 

‘स्थानीय तहमा बजेट सानो हुन्छ’, उनले भने, ‘त्यसबाट केही गर्न सकिँदैन ।’ चौधौं योजनाको कार्यनीतिमा स्वास्थ्य तथा पोषणसम्बन्धी व्यापक जनचेतना जागृत हुने कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको भए पनि स्थानीय सरकारले नीति तथा कार्यक्रममा त्यसलाई समेटेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...