जिउँदो मान्छेको हातमा मृत्युको प्रमाणपत्र



हाम्रो इकोनोमि

 

जिउँदो मान्छेको हातमा मृत्युको प्रमाणपत्र । सुन्दै आश्चर्य लाग्ने घटना हो यो । त्यही प्रमाणपत्रले उनलाई आफू जीवित रहेको प्रमाणित गराउन मुस्किल परेको छ रामसेवक राय यादवलाई । महोत्तरी, औरही–६ खोपीबैरियाका ५९ वर्षीय यादव आफ्नो मृत्युको प्रमाणपत्र बोकेर जिउँदै रहेको प्रमाण जुटाउन जिल्ला प्रशासन कार्यालय, अदालत र जनप्रतिनिधिसम्म गुहार्न बाध्य छन् ।

 

उनको नाममा रहेको करोडौंको जग्गा हत्याउन उनकी सौतेनी आमा र भाइको योजनामा २०६८ जेठ १ गते मृत्युको प्रमाणपत्र बनाइयो।

 

रामसेवकको नाममा रहेको जलेश्वर–बर्दिवास सडकछेउकै १० कठ्ठा खेत र ५ कठ्ठा घडेरीको मोहमा परेकी सौतेनी आमा शकुन्ती देवी र उनका छोरा रामपुकारको दबाबमा बुवा रामवृक्ष यादवले आफ्नै जिउँदो सन्तानको मृत्युको प्रमाणपत्र बनाइदिए। मृत्युको प्रमाणपत्र बनाइएका बेला रामसेवक भने भारतको पञ्जावमा थिए।

 

रामवृक्षकी पहिली श्रीमती कौशिल्यादेवीले एकमात्र छोरा रामसेवकको नाममा उक्त जग्गा पास गरिदिएकी थिइन्। कौशिल्यादेवीको मृत्युपछि रामवृक्षले शकुन्ती देवीसित अर्को विवाह गरे।

 

रामसेवक पनि २०४८ सालमा विवाह गरेर कमाउन पञ्जाव छिरे। उनी दुई दशक उतै बसे। रामसेवककी श्रीमती अन्तै लागिन्। सौतेनी आमा शकुन्तीदेवी र उनका छोरा रामपुकारलाई भने रामसेवकको नाउँमा रहेको करोडौंको जग्गाले अत्याइरहयो। अनि रचे प्रपञ्पच।

 

केही स्थानीयको सनाख्त जुटाएर तत्कालीन पञ्जिकाधिकारी गोपाल पाठकले रामसेवकको मृत्यु २०६७ कात्तिक १४ गते भएको भन्दै मृत्यु दर्ताको प्रमाणपत्रमा सरकारी मोहर लगाइदिए। मृत्युको प्रमाणपत्र बनेलगत्तै सौतेनी आमा र उनको छोराले रामसेवकको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरिदिए।

 

एक वर्षअघि घर फर्किएका रामसेवकलाई सौतेनी आमा र भाइले चिन्न इन्कार गरे। बुवा रामवृक्ष यादवको देहान्त भइसकेकाले उनलाई फसाद् पर्‍यो।

 

‘गाउँ आउँदा त सबैले तिम्रो त मृत्यु भइसकेको छ भन्दा छक्क परें,’ रामसेवकले भने, ‘जिउँदो मान्छे आफैंले जिउँदो छु भनेर प्रमाणित गराउनुपर्ने स्थिति छ।’ उनी पञ्जाव बस्दा पनि छिमेकी र साथीहरूको सम्पर्कमा रहेको दाबी गर्छन्। पञ्जावबाट फर्किएदेखि गाउँकै मन्दिरमा आश्रय बनाएका छन्। यताउताबाट मागेर दुई छाक टार्छन्। अनि, आफू जिउँदो रहेको प्रमाणित गराउन सरकारी निकाय चार्हछन्।

 

‘अहँ, कहीं कतैबाट सुनुवाइ भएको छैन,’ रामसेवकले भने, ‘आफ्नै मृत्युको प्रमाणपत्र बोकेर १ वर्षदेखि सबैतिर गुहारिसकें। वकिलसँग सल्लाह गर्दा १० हजार रुपैयाँ मागे, जुन दिने मेरो हैसियत छैन।’ उनका छिमेकी रामनारायण यादव मृत्युको प्रमाणपत्र बनाएर रामसेवकलाई अन्याय गरिएको बताउँछन्।

 

‘जिउँदो मान्छेलाई सम्पत्ति हत्याउन मृत्यु भएको जालसाजी गरिएको छ,’ यादवले भने, ‘कानुनी रूपमा रामसेवकलाई जीवित प्रमाणित गरेर जालसाजी गर्नेमाथि कारबाही हुनुपर्छ।’

मृत्यु प्रमाणपत्र बनाएर घरजग्गा हत्याएका सौतेनी आमा र भाइले रामसेवकलाई चिन्नै इन्कार गरिरहेका बेला मृत्यु दर्ता बदर गर्न सीडीओलाई निवेदन दिन पनि औरही–६ का वडाध्यक्षसमेत तयार नरहेको स्थानीय राजकिशोर रायले बताए। कानुन व्यवसायी सुदीप कोइराला जिउँदो मानिसको मृत्यु दर्ता प्रमाणपत्र बनाएका व्यक्तिले मृत्यु दर्ता फिर्ता गर्न अस्वीकार गर्दा पनि व्यक्तिगत घटना दर्ता ऐनले सिडिओलाई मृत्यु दर्ता बदर गर्ने अधिकार रहेको बताउँछन्।

 

महोत्तरीका सिडिओ उमेशकुमार ढकालले संघीय मामिला मन्त्रालयको पञ्जीकरण विभागसँग जोडिएको समस्या भएकाले स्थानीय विकास अधिकारीसित कुराकानी भइरहेको बताए। ‘जिउँदो मान्छेको मृत्युको प्रमाणपत्र बनाएर अन्यायमा पार्नेलाई पनि कारबाही हुन्छ,’ ढकालले भने, ‘स्थानीय विकास अधिकारी काठमाडौं गएकाले उहाँ आएलगतै के भएको हो बुझेर करेक्सन गर्ने काम हुन्छ। र, दोषीलाई कारबाही पनि हुन्छ।’

 

अधिवक्ता कोइरालाका अनुसार जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता गराउनेविरुद्ध अदालतमा मृत्यु दर्ता खारेजसँगै जालसाजी मुद्दा दायर गर्न र अंश कायमको मुद्दा पनि चलाउन सकिन्छ। रामसेवककको मावाली वडा औरही–७ का वडा अध्यक्ष गणेश यादवले उनी जिउँदो रहेको सिफारिस गर्न आफू तयार रहेको बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...