भंसारलाई कर्मचारीले बनाए घुसको भण्डार, कसरी भयो राजस्व अनुसन्धान विभाग अपांग



हाम्रो इकोनोमि

केपी ओली सरकारले राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमातहत लगेपछि भन्सार छली झन् बढेको खबर छ ।  विगतमा सन्दर्भ मूल्यभन्दा पनि न्यून बिजकीकरण गर्दै भन्सारछली हुने गरेको थियो ।

ठूला मानिसले लगाउने रेडिमेड कपडा र जुत्ता बच्चाको भनेर भन्सार छली हुने गरेको थियो । तर ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सारमा सन्दर्भमूल्य भन्दा कम लिएको पाइए कारबाही गर्ने चेतावनी दिएपछि भन्सारहरुमा घुस लिने नयाँ  तरिका अबलम्बन गर्न थालेको ब्यापारी  स्रोतबाट थाहा भएको छ ।

पछिल्लो समयमा सबैभन्दा बढी भन्सार छली बिराटनगर र रसुवा भन्सार कार्यालयबाट हुने गरेको खबर छ । त्यसका अलावा बीरगंज, का“कडभित्ता, भैरहवा भन्सार कार्यालयबाट पनि घुसको दर कायम गरी सामान आयात हुने गरेको छ ।

फर्निचर, पर्दा, कमोड फिटिङ, बाथरुम फिटिङ,  मेसिनरी सामानको एक कन्टेनर बराबर २५ हजार रुपैयाँ  दस्तुरी लिने दर तोकिएको छ । इलेक्ट्रिक र इलोक्ट्रोनिक सामानहरु एक कन्टेनरको ५० हजार रुपैयाँ  घुस तोकिएको छ । रेडिमेड सामानहरु लत्ताकपडा, जुत्ताको प्रतिकन्टेनर ७५ हजार घुस लिने गरी सेटिङ गरिएको छ ।

सन्दर्भ मूल्य कायम गर्दा ठूला मानिसका लागि आयात गरिएका लत्ताकपडा, जुत्ताहरु बच्चाको भनेर भन्सार जाँचपास हुने गरेको छ । भन्सार कार्यालयहरुबाट लत्ताकपडालाई ५ भागमा बर्गीकरण गरेर घुस असुल्ने गरिएको बताइन्छ ।

नेपाली बजारमा एडिडास, नाइक, पुमा, स्टोर वान र बेन्ट्ले ब्रान्डका सामानको माग अत्यधिक छ । तर चीनबाट ल्याइने ती ब्रान्डेड जुत्ता र अन्य लत्ताकपडाहरु बेबी जुत्ता वा पाइन्टको नाममा भित्रने गरेका छन् ।

भन्सारमा न्यून विजकीकरण गरेकै कारण ब्रान्डेड सामानहरुको परल मूल्य भन्दा बिक्री मूल्य अत्यधिक देखिन्छ । दरबारमार्गमा गतबर्ष आपूर्ति विभागले अनुगमन गर्दा लागत मूल्य र बिक्री मूल्यबीचमा दसौं गुणा अन्तर फेलापरेको थियो ।

आयातकर्ताले स्थानीय उत्पादनको नाम राखेर अन्य मुलुकमा उत्पादित सामान आयात गर्दछन् । ब्रान्डेड सामानको नाम राखेर आयात गर्दा भन्सार महशुल बढी तिर्नुपर्ने भएकाले भन्सार महशुल छल्नकै लागि ब्यापारीहरुले वास्तविक खरिद मूल्य लुकाउँदैआएका छन् ।

नेपालमा आयात हुने अधिकांश लत्ताकपडा भन्सारबाट ‘बेबी पाइन्ट’को नाममा भित्रिन्छन् ।

जिन्स, कोटलगायत कपडाको भन्सार प्रज्ञापनपत्रमा ‘बेबी पाइन्ट’ उल्लेख हुन्छ । यसरी भित्र्याइएका सामानहरु राजस्व अनुसन्धान विभागले शंका लागेमा चेक गर्नसक्ने ब्यवस्था थियो । तर अहिले त्यो काम राजस्व अनुसन्धान विभागले चटक्कै छाडेको छ ।

विगतमा ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुँदा भन्सार र राजस्वका क्षेत्रीय कार्यालयमा सेटिङमा कर्मचारी खटाएर निर्वाध तस्करी हुन गयो । डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि भन्सारमा कडाइ गर्ने भने पनि त्यो केही दिन चर्चाको बिषयसिवाय केही हुन सकेन । विगतमा जस्तै अहिले पनि भन्सारछली गरी सामान आयातको क्रम यथावत रहेको अर्थकै अधिकारीले बताएका छन् ।

राजस्व अनुसन्धान विभागलाई अर्थबाट अलग गरी आफ्नै जिल्ला झापाका दीर्घराज मैनालीलाई ओलीले महानिर्देशक बनाएका छन् । मैनाली राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गर्ने सहसचिवको पंक्तिमा पर्दछन् ।  विगतमा अर्थमन्त्रालय अन्तर्गत राजस्व अनुसन्धान विभाग हुँदा त्यसले केही काम गर्दैआएको थियो ।

अर्थमन्त्रालयले राजस्व अनुसन्धान विभागलाई मूल्य अभिबृद्धिकर अधिकार, अन्तशुल्क ऐनको अधिकार प्रत्यायोजन गरेको थियो । ती अधिकार अर्थले फिर्ता लिएपछि अहिले विभाग अपाङ्गजस्तै भएको छ ।

विभागले अहिले राजस्व चुहावट ऐन अनुसार सामान बरामद गरे पनि मुद्दा अदालतमा बुझाउनुपर्ने भएकाले विभाग अपाङ्ग जस्तै भएको हो ।

अर्धन्यायिक निकायको रुपमा काम गरेको विभागले अदालतमा मुद्दा बुझाउनुपर्ने भएपछि कर्मचारीहरुमा काम गर्ने उत्साह पनि कम देखिएको छ । जबकि अर्थ मन्त्रालय अन्तर्गत हुँदा विभागले भंसार छलीमा निगरानी गर्ने भएकाले सरुवा हुन चर्को प्रतिस्पर्धा हुने गर्दथ्यो । साँघु साप्ताहिकबाट

 

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...