मन्त्रिपरिषद् विस्तारको तयारी, २० भन्दा कम मन्त्री हुने, यी हुन् मन्त्रीका सम्भावित अनुहार
प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । संघीयतामा प्रशासनिक भार बढ्ने भएकाले केन्द्रीय मन्त्रालयको संख्या घटाउन लागिएको हो ।सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद् कार्यालयलाई पठाएको प्रस्तावअनुसार प्रधानमन्त्री कार्यालयसहित १५ मन्त्रालय हुनेछन् । यसैको सेरोफोरोमा रहने गरी मन्त्रालय निर्धारण गर्ने तयारी भइरहेको प्रधानमन्त्रीनिकट नेताले बताएका छन ।
केन्द्रमा मन्त्रालय बढाएर १८ बनाउने तयारी गरिएको छ । समाचारमा १५ मन्त्रालय राख्ने प्रस्ताव नै संशोधन गरेर मन्त्रिपरिषदबाट १८ बनाउन लागिएको उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १८ मन्त्रालय रहने भएका छन्’,‘यसअघि सामान्य प्रशासन मन्त्रालयले १५ मन्त्रालय राख्न प्रस्ताव गरेको थियो । प्रस्ताव संशोधन गरिसकेको प्रधानमन्त्री कार्यालयले अब मन्त्रिपरिषद्मा निर्णयार्थ पेस गर्दैछ ।
सरकार विस्तारको तयारीमा सरकार लागेपछि मन्त्री बन्न एमाले–माओवादीमा दौडधुप सुरु भएको छ । आकांक्षी धेरै भएपछि पार्टी नेतृत्वलाई यसको व्यवस्थापन गर्न पेचिलो बन्ने देखिएको छ ।
नयाँ पत्रिका दैनिकका अनुसार एमालेमा दुई दर्जन बढीले मन्त्री बन्ने चाहना राख्दा व्यवस्थापन पेचिलो बनेको छ । भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण अर्याललाई सम्भावित मन्त्रीका रुपमा हेरिएको छ । त्यसैगरी सरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, रघुवीर महासेठ, सुमन प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङलगायतले पनि मन्त्रीको दाबी गरेका छन् ।
एमालेमा जस्तै माओवादीमा पनि मन्त्रीहरुको चर्चा सुरु भएको छ । माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन, देव गुरुङ, मातृका यादव, जनार्दन शर्मा, अग्नि सापकोटा, पम्फा भुसाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ, हरिबोल गजुरेल, लेखराज भट्ट लगायतबाट मन्त्री हुने सम्भावना छ ।
पहिलो चरणमै राष्ट्रपतिको चयन
संघीय र प्रदेश संसदमा दलहरुबीच भएको सांसद् संख्याअनुसार यसपटकको राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने चुनाव पहिलो राउन्डमै टुंगिने समाचार गोरखापत्र दैनिकमा छ ।निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मतभार प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि संघीय संसदका ३३४ र प्रदेशसभाका ५५० गरी कुल ८८४ जना मतदाता हुने व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ का अनुसार संघीय संसदका एक जना सदस्यको मतभार ७९ हुनेछ भने प्रदेशसभाका एकजना सदस्यको मतभार ४८ हुनेछ ।