राष्ट्रपति निर्वाचन प्रचण्डको रोजाइ भए माधव नेपाल, नभए विद्या भण्डारी, ओलीको चाहना विद्या र नन्दबहादुरकै निरन्तरता



 नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन आयोगले फागुन २१ को मिति प्रस्ताव गरिसकेको छ । यदि आयोगले प्रस्ताव गरेको मितिभित्रै राष्ट्रपतिको निर्वाचन गर्ने हो भने वाम गठबन्धनका लागि अब उम्मेदवार चयन गर्न तीन साताको समय पनि छैन । यसवीचमा सांसदहरुको सपथ ग्रहण पनि बाँकी नै छ ।

एमालेले आफ्नो भागमा प्रधानमन्त्री पाइसकेको छ । अब, राष्ट्रपति कसले पाउने भन्ने औपचारिक पावर सेयरिङ भइसकेको छैन । यद्यपि राष्ट्रपति पनि एमालेले नै पाउने र विद्या भण्डारीकै निरन्तरता रहने चर्चा वाम गठबन्धनभित्र सुरु भएको छ ।

माओवादीले अहिलेसम्म औपचारिकरुपमा राष्ट्रपतिको दाबी गरेको छैन । र, यसबारेमा पार्टी एकता संयोजन समितिमा पनि औपचारिक छलफलसम्म नभएको नेताहरु बताउँछन् ।

झलनाथको रहर, विद्याको चलखेल

नेकपा एमालेका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धनको बहुमत आएलगत्तै मुखै खोलेर भने- पार्टीले जिम्मा दियो भने राष्ट्रपति बन्न तयार छु ।

इलामबाट चुनाव जिते लगत्तै केपी ओलीको गृहनगर दमकमा पुगेर राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका खनालले त्यसयता लगातार शीतलनिवासप्रतिको मोह प्रकट गरिरहेकै छन् ।

खनालले राष्ट्रपति बन्ने तीब्र इच्छा व्यक्त गरिरहेका बेला यसबीचमा भएका घटनाक्रमहरुले शीतलनिवासमा विद्या भण्डारीकै निरन्तरता हुने बलियो सम्भावना बनिसकेको छ । यसका लागि विद्याले माओवादीलाई समेत फकाउने कूटनीति अघि सारेकी छिन् ।

प्रचण्ड परिवारसँगको रात्रिभोज, सीता दाहाललाई दुःखका बेला दिएको सान्त्वनालाई राष्ट्रपति भण्डारीको सामान्य मानवीय शिष्टाचार मात्रै नभएर चलखेलकै रुपमा कतिपयले बुझेका छन् ।

यो बीचमा प्रचण्डले कतिपय सन्दर्भमा केपी ओलीलाई दबाव दिन राष्ट्रपतिसँग पटक-पटक भेटघाट समेत गरे । वामपन्थी एकताका लागि समेत राष्ट्रपतिले भूमिका निर्वाह गरेको छिपेको छैन । यी सबै घटनाक्रमहरुले राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले निरन्तरता पाउने लगभग निश्चित रहेको माओवादीकै कतिपय नेताहरु बताउँछन् ।

उसोभए राष्ट्रपतिमा झलनाथ खनालको रहरको कुनै अर्थ छैन त ? यो प्रश्नको जवाफ सम्भवतः खनाल आफैंले भेटिसकेका छन् । उनले केपी ओलीबाट सकारात्मक संकेत नपाएरै हुनुपर्छ, पछिल्लो समय ओलीप्रति कटाक्षयुक्त अभिव्यक्तिसमेत दिएका छन् ।

त्यतिमात्र होइन, खनालले राष्ट्रपति भण्डारीको पनि खुलेरै बिरोध गर्दै भनेका छन्- राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्‍याउनुहुँदैन ।

तीन वर्षअघि बालकोटको त्यो बैठक !

झलनाथ खनाल राष्ट्रपति बन्ने कुनै सम्भावना नरहेको एमालेका एक शीर्षस्थ नेताले बताए । उनले खनाललाई राष्ट्रपति बनाउनुपर्ने आवश्यकता, अवस्था र औचित्य कुनै पनि नरहेकाले उनको लालसा नै बेमौसमी रहेको कठोर प्रतिक्रिया दिए ।

त्यतिमात्र होइन, उनले तीन वर्षअघि झलनाथ खनालको वाक्य बसेको एउटा प्रशंगसमेत सबिस्तार सुनाए-
०७२ असोज ३ गते संविधानसभाबाट नेपालमा संविधान जारी भएपछि डा. रामवरणको ठाउँमा नयाँ राष्ट्रपतिको चुनाव हुने चर्चा चल्यो ।

माओवादीले राष्ट्रपतिमा एमालेलाई सघाउने भएपछि एमालेभित्र राष्ट्रपतिको उम्मेदवार खोज्न थालियो । यसै सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका मुख्य नेताहरुलाई बालकोटमा बोलाए ।

बालकोटको त्यो बैठकमा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, भीम रावल लगायत उपस्थित थिए । त्यहाँ ओलीले राष्ट्रपतिमा कसलाई पठाउने हो, छलफल गरौं भनेपछि माधव नेपाल बोल्न थाले । नेपालले रामपि्रत पासवान, लालबाबु पण्डित र शान्ता चौधरीको नाम लिए ।

नेपालले बोल्दाबोल्दै भीम रावलले झोंक्किएर प्रतिवाद गर्दै भने- तपाईहरु यहाँ राष्ट्रपतिको उम्मेदवार छान्दै हुनुहुन्छ कि भाँडाकुटी खेल्न बसेको हो ? यस्तो संक्रमणकालीन अवस्थाको राष्ट्रपति पार्टीको जिम्मामा आएको छ भने सिनियर नेताबाट राष्ट्रपति बन्नुपर्दैन ? तपाई नेताहरु तयार हुने कि नहुने ?

रावल झोंक्किएपछि त्यो बैठकमा केहीबेर सन्नाटा छायो । त्यसपछि महासचिव ईश्वर पोखरेलले ‘भीमजीले भन्नुभएको ठिकै हो, यस्तो बेलामा राष्ट्रपति बन्न माधव कमरेड किन नजाने ?’ भन्दै प्रश्न गरे । पोखरेलले पूर्वप्रधानमन्त्री भइसकेको र पार्टीको प्रमुख भइसकेको नेता राष्ट्रपति बन्नुपर्ने तर्क गरे ।

माधव नेपालको उमेर पुगेन !

ईश्वर पोखरेलको बोली भुइँमा खस्न नपाउँदै माधव नेपालले ‘म हुन्न, मेरो उमेर पुगेको छैन’ भन्दै पन्छिए । पोखरेलले तत्कालै उनलाई सोधे, तपाई उमेर पुगेको छैन भन्नुहुन्छ, ०६५ सालमा राष्ट्रपति बन्न दौरासुरुवाल लगाएको होइन ? माओवादीले नदिएपछि थच्चिएको होइन ?
पोखरेललाई जवाफ दिँदै नेपालले त्योबेला आफूलाई फसाउन खोजिएको र नहुने अवस्थामा अघि सारिएको आशय व्यक्त गरे ।

राष्ट्रपतिका लागि नेपालले उमेर पुगेको छैन भनेपछि पोखरेलले झलनाथ खनाललाई अफर गरे । ‘माधव कमरेडको उमेर पुगेको छैन रे, लौ जेएन कमरेड, तपाई अघि सर्नुस’ सो बैठकमा पोखरेलले भने ।

तर, झलनाथ खनाल एकशब्द बोलेनन् । खनाल बोल्न नसकेपछि महासचिव पोखरेलले विद्या भण्डारीतिर फर्केर भने- यहाँ एक जनाको उमेर पुगेन, अर्कोजनाको वाक्य बसेको छ । विद्याजी तपाई पार्टीको दुईपटक उपाध्यक्ष भइसकेको, महिला आन्दोलनको नेता हो, राष्ट्रपति बन्नुस् ।

पोखरेलको प्रस्तावमा विद्याले आफूले राष्ट्रपति बन्नेबारे सल्लाह नगरेको र नसोचेको भन्दै समय मागिन् । यस्तै छलफलका बीच त्यो दिनको बैठक सकियो ।

दोस्रोपटक ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गर्‍यो ।

राष्ट्रपति बन्नका लागि ४५ वर्ष पुग्नुपर्छ । माधव नेपालले राष्ट्रपतिका लागि उमेर पुगेको छैन भन्नुको तात्पर्य अहिले पनि सक्रियतापूर्वक काम गर्न सक्ने भएकाले निश्त्रिmय भूमिकामा नबस्ने बताउन खोजेका थिए । नेता नेपालको जोड पार्टीको अध्यक्ष वा प्रधानमन्त्री बन्नेतिर नै देखिन्थ्यो ।

खनालको वाक्य खुल्न ३ वर्ष लाग्यो

तीन वर्षअघिको त्यो प्रकरण अहिले एमालेमा फेरि उप्किएको छ । खनालले राष्ट्रपति बन्न सबैखाले भावभंगी प्रकट गरेपछि एमालेका एक नेताले सम्झे, ऊबेला बन्द भएको खनालको वाक्य अहिले कसरी फुट्यो ? बेलामा निर्णय गर्न नसक्ने व्यक्ति नेता हुन सक्दैन, झलनाथ खनालका लागि शीतलनिवासको बाटो बन्द भइसकेको छ ।

पूर्वप्रधानमन्त्री खनालले राष्ट्रपति बन्नका लागि माओवादीमार्फत पनि लबिङ नगरेका होइनन् । तर, प्रचण्ड स्वयं विद्या भण्डारीको विकल्प खोज्ने पक्षमा नदेखिएको स्रोतले जनाएको छ ।

विद्या भण्डारी र नन्दबहादुर पुन एमाले र माओवादी दुवै पार्टीका संस्थापन पक्षका लागि व्यवस्थापन गर्नैपर्ने बाध्यताका पात्र समेत भएकाले यसपटक राष्ट्रपति र उपराष्ट्रपति फेरिने सम्भावना नरहेको स्रोतको दाबी छ ।

विद्या र नन्दबहादुरकै निरन्तरता ?

सामान्यतः राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हो । तर, अहिलेका राष्ट्रपति र उपराष्ट्रपति संक्रमणकालीन समयमा छानिएका हुन् । उनीहरुलाई थप ५ वर्ष बनाउन दुवै नेतृत्वमाथि दबाव छ ।

यसबीचमा विद्याले जसरी प्रचण्ड परिवारसँग भावनात्मक सम्बन्ध बढाएकी छन्, त्यसैगरी नन्दबहादुरले ओलीसँग भेटघाट गरेका छन् ।
राष्ट्रपतिका रुपमा विद्या भण्डारीले वाम गठबन्धनलाई दह्रिलो साथ दिएका कारण पनि खनालको रहर रहरमै सीमित एमाले नेताहरु बताउँछन् । राष्ट्रपति र उपराष्ट्रपति दुवैजनाले निरन्तरता पाउने अनौपचारिक टुंगो लागिसकेको कतिपय एमाले नेताको दाबी छ ।

तेस्रो पात्रको खोजी

अर्को तथ्य के पनि हो भने, राष्ट्रपति नयाँ ल्याउने र त्यो एमालेले नै पाउने अवस्था आएमा त्योबेला ओलीको छनोटमा खनाल होइन, सुवास नेम्वाङ हुने सम्भावना छ । यद्यपि त्यो सम्भावनामाथि अहिले छलफल नभएको एमाले नेताहरु बताउँछन् ।

राष्ट्रपतिमा नयाँ स्वाद महसुस गराउने र जनजातिको छोरोलाई राष्ट्रपति बनाउने हो भने सुवास नेम्वाङ उपयुक्त पात्र हुन सक्ने कतिपय एमाले नेताको तर्क छ । संक्रमणकालको व्यवस्थापनका लागि नेम्वाङ सक्षम पात्र पनि हुन् ।

तथापि गत दशैंका बेला वाम गठबन्धनको तयारी हुँदै गर्दा झलनाथ खनाललाई राष्ट्रपति बनाउने जेन्टलमेन एगि्रमेन्ट भएको दाबी माओवादीका एकजना शीर्षनेताको छ । तर, दक्षिणको छिमेकीलाई खुशी पार्ने हो भने खनाल रोजाइका पात्र हैनन् ।

यो अवस्थामा विद्या भण्डारीले निरन्तरता नपाए खनालको विकल्पमा तेस्रो पात्रको खोजी हुन पनि सक्ने सम्भावना छ ।
तर, राष्ट्रपतिमा पुरुष पात्रलाई लैजाने हो भने उपराष्ट्रपति महिला बनाउनुपर्ने हुन्छ ।

विद्याको विकल्प माधव ?

सूत्रहरुका अनुसार माओवादी अध्यक्ष प्रचण्डले माधव कुमार नेपाललाई तपाई राष्ट्रपति बन्ने कि नबन्ने भनेर सोधिसकेका छन् । माधव नेपाल अघि सर्ने हो भने माओवादीले यसमा समर्थन गर्ने अन्यथा विद्यालाई नै दोहोरिन दिने माओवादीको रणनीति छ ।

हुन त एक समय माओवादी नेता रामबहादुर थापा वादल वा नारायणकाजी श्रेष्ठको पनि राष्ट्रपतिका रुपमा चर्चा हुने गरेको थियो । तर, अहिले त्यो चर्चा एकाएक सेलाएको छ ।

गत बुधबार बसेको एकता संयोजन समितिको बैठकमा माधव नेपालले दुई नेताहरुको मात्रै व्यवस्थापन भएर हुँदैन, अरु नेताहरुको पनि हुनुपर्छ भन्ने अडान राखेका थिए । यसको अर्थ उनी माओवादीबाट ‘गि्रन सिग्नल’ पाएपछि राष्ट्रपतिका लागि तयार त भएका हैनन् ? यो प्रश्न पनि वाम गठबन्धनभित्र उढ्न थालिसकेको छ । अनलाइनखबर

 

प्रतिक्रिया दिनुहोस
अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही

बागमतीमा सवारीसाधनको डिजिटाइजेशन अभिलेख सुरू

    बागमती प्रदेशभित्रको सवारी साधनहरूको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) गर्ने काम सुरू

सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह