यी हुन् ओली र प्रचण्डका पछी लाग्ने भारतका सिआईडी,एमाले-माओबादी भित्रैका भारतीय जासुसले ओली र प्रचण्डको यसरी लगाऊछन् भारतीय दुताबासमा पोल



१० र २१ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि जम्मा एक साताको समय अपुग भएकाले पार्टी एकता गर्न नभ्याइएको बताउने एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी परिणाम सार्वजनिक भएको धेरै दिनपछि १३ पुसमा ओली निवास बालकोटमा पहिलोपटक भेटवार्ता भयो । कहिले के र कहिले के कारण भेट्न निमलेको बताउँदै आएका ओली–प्रचण्ड भेटलाई चासोका साथ हेरिएको थियो ।

दुई नेता मात्र सहभागी उक्त भेटमा उनीहरुबीच झण्डै डेढ घण्टा कुराकानी भयो । प्रचण्ड बालकोटबाट हिंडेपछि एमाले वरिष्ठ नेता माधव नेपालले ओलीको मोबाइलमा फोन गरेर सोधे, ‘प्रचण्ड’ सँग के कुरा भयो ?’ ओलीले पार्टी एकता, सरकार लगायत विषयमा कुराकानी भएको औपचारिक जवाफ दिएर फोन राखिदिए । नेपालले तत्काल प्रचण्डलाई फोन हाने । ओलीसँग के कुरा भएको भन्नेबारे उनले जिज्ञाशा राखे । प्रचण्डले ‘फोनमा होइन, भेटेरै कुरा गरौं’, भनेपछि नेपालले आफ्नो ‘अघोषित सचिवालय’ रहेको बानेश्वरस्थित अर्याल होटलमा प्रचण्डलाई बोलाए । प्रचण्ड सिधै अर्याल होटल पुगे । ओलीसँगको भेटबारे प्रचण्डले सामान्य ब्रिफिङ गरे ।

निर्वाचनपछि ओलीमा दम्भ पलाएको महसुस आफूले गरेको भन्दै प्रचण्डले नेता नेपाललाई एकताका लागि दबाबमूलक भूमिका निर्वाह गर्न आग्रह गरे । तर, आफू र ओलीबीच भएका गोप्य सहमतिबारे प्रचण्डले केही बताएनन् । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । पछिल्लो समय बाम गठबन्धन (एमाले–माओवादी) का कार्यकर्ता मात्र होइन, पदाधिकारी स्तरकै नेतासम्मले एक आपसमा भेट्दा सोध्ने प्रश्न हो, ‘पार्टी एकता हुन्छ त ?’ तर, त्यस्तो प्रश्नको स्पष्ट जवाफ कसैसँग हुँदैन । कसैले आफू अपडेट नभएको र कसैले ‘ठूला नेता’ सँग कुरा नभएको बताउने गरेका छन् । माधव नेपालजस्ता एमालेमा लामो समय ‘फस्ट म्यान’ भएका नेताले समेत एकताबारे ओली–प्रचण्ड छलफलको चुरो कुरा थाहा नपाउने अवस्थामा त्यो भन्दा तल्लो तहका नेता कार्यकर्ताले ती विषय जान्ने कुरै भएन । एमाले–माओवादीका दुवैथरि नेता एकता प्रक्रिया कहाँ पुगेको छ र एकता हुन्छ वा हुँदैन भन्ने द्विविधा’ मा छन् । ओली–प्रचण्डका कोटरीका नेता भनेर चिनिएका दुर्व पार्टीका नेताले समेत भित्रभित्रै के खिचडी पाकिरहेको छ भन्ने थाहा पाउन सकिरहेका छैनन् । दुवैतिरका दोश्रो तहका नेताहरुबाट पार्टी एकता, नेतृत्व समायोजन, सरकारको नेतृत्व, पार्टीको सिद्धान्त, नीति र कार्यक्रमबारे बाहिर आएका अभिव्यक्ति उनीहरुका व्यक्तिगत अनुमान, स्वार्थ वा मनोकांक्षा मात्र हुन् । अरु विषयमा जस्तो प्रमुख नेताबाट ‘लाइन’ पाएर कसैले बोलेका छैनन् । एकतापछि पनि पार्टी, सरकार र संसदीय दलको नेतृत्व एकै व्यक्तिले गर्ने एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्ति होस् वा सम्मानजनक नभए एकता हुँदैन भन्ने माओवादी नेता कृष्णबहादुर महराको अभिव्यक्ति दुवै उनीहरुका व्यक्तिगत हुन् । यद्यपि पोखरेल र महराको विचारमा सहमत हुने तप्का दुवै पार्टीभित्र बलियो अवस्थामा छ । एकतापछि आफ्नो स्वार्थलाई केन्द्रमा राखिएर गरिएका टिप्पणीहरुमा ओली–प्रचण्डले खासै चासो देखाएका पनि छैनन् । तर, उनीहरुले एकताबारे के–के छलफल भयो, प्रक्रिया कहाँ पुग्यो, एकताका लागि दुई पार्टीका साझा पक्ष के र असहमति केमा भन्नेबारे पार्टीमा कसैसँग विमर्श वा छलफल गरेकै छैनन् ।

किन लुकाउँछन् ओली–प्रचण्ड सूचना ?
गत १७ असोजमा मध्य दसैंका बेला एमाले र माओवादीले चुनावी तालमेल र पार्टी एकताको घोषणा गर्दा सुन्नेहरु धेरैलाई पत्याएर लागेको थिएन । कारण, माओवादी काँग्रेससँगको सत्ता सहकार्यमा थियो, एमाले प्रमुख प्रतिपक्षमा । दुई दलका नेताले एकअर्का लक्षित टिप्पणी गर्दै आएका थिए । मानिसहरुलाई लाग्थ्यो कि, एमाले र माओवादीको एकताको कुरा त के कहिल्यै सहकार्य हुन पनि कठिन छ । बाहिर एउटा म्यासेज प्रवाह गराएर भित्रभित्रै ओली–प्रचण्डले बाम गठबन्धनको खिचडी पकाइरहेका थिए । दुवै पार्टीमा आफूलाई एकताको सूत्राधार भनेर जस लिन होडबाजी चलिरहे पनि बाम गठबन्धनका सूत्राधार अरु कोही नभई ओली र प्रचण्ड नै थिए । दुई नेताबीचको छलफलले नै गठबन्धनको वातावरण बनेको हो । पार्टी एकता गर्दा पनि ओली–प्रचण्डले त्यस्तै चक्मा दिन सक्छन् । अहिल्यै एकताबारे सबै विषय बाहिर ल्याउँदा एकता भाँड्न उद्धृत शक्ति वा समूहले ‘धमिलो पानीमा माछा मार्न सक्ने’ भएकाले ओेली–प्रचण्डले सूचना लुकाएको अनुमान गर्न सकिन्छ । परिस्थिति परिपक्व नबन्दै सबै सूचना भारतीयहरुले पाएको खण्डमा एकता भाँडिने डर दुवै नेतालाई छ ।
दुवै पार्टीका ‘इण्डियन मित्र’ लाई हैरानी
एउटा कुरा स्पष्ट छ कि नेपालका सबै पार्टीमा दक्षिण छिमेकी भारतका लागि काम गर्ने मानिसहरु छन् । एमाले र माओवादीमा समेत केही नेताले नेपालस्थित भारतीय दूतावासका लागि नियमित रुपमा सूचना दिने गरेका छन् । बाम गठबन्धनलाई पार्टी एकतासम्म पुग्न नदिन सक्रिय भारत ओली–प्रचण्डका हरेक गतिविधिमा सूचना खोजिरहेको छ । तर, उनीहरुको भित्री छलफल वा सहमतिबारे सूचना पाउन नसक्दा राजदूतदेखि दूतावासका कर्मचारी र गुप्तचर संस्था ‘रअ’ का अधिकारीहरु हैरान छन् । कारण, उनीहरुका लागि काम गर्दै आएका एमाले–माओवादीका नेता नै एकताको प्रक्रिया वा एकता हुन्छ/हुँदैन भन्नेबारे अन्योलमा छन् ।
ओली र प्रचण्डलाई यस्तो सुविधा
माधवकुमार नेपाल एमालेमा ओलीसँग महाधिवेशनमै छुट्टै प्यानल बनाएर भिडेका नेता हुन् । कतिपय विषयमा ओलीको उनी कटु आलोचना समेत गर्छन् । तर, भारतीय नकाबन्दीपछि ओलीका अडानबारे नेता नेपालले भित्रभित्रै असन्तुष्टि जनाए पनि ओली स्वयंसँग आँखा जुधाएर कुरा गर्न सक्दैनन् । ओलीसँग डराएर होइन कि ओलीको विरोध वा उनका गतिविधिमा प्रश्न गर्ने बित्तिकै पार्टीभित्र ‘अराष्ट्रवादी’ को आरोप लाग्ने खतरा छ । ओलीपछि पार्टीको नेतृत्व आफ्नै हातमा आउने विश्वासमा रहेका नेपाल उनको विरोध गरेर पार्टी पंक्तिमा अलोकप्रिय हुन चाहँदैनन् । पार्टीभित्र ओली तन्त्र थप प्रभावी हुँदै गएकाले नेता नेपाल उनीसँग न नजिक न टाढाको सम्बन्धमा छन् । त्यसैले उनी ओलीसँग उनका कामबारे सूचना वा जानकारी प्रायः लिँदैनन् र ओली पनि नेपालाई सबै विषयको जानकारी दिन आवश्यक ठान्दैनन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा ठूला नेता सबै पराजित भएको मौकामा पार्टीको नेतृत्व हत्याउन सफल भएका नेता झलनाथ खनालको सांगठनिक पकड ज्यादै कमजोर छ । उनको पक्षमा भिम आचार्यबाहेक केन्द्रीय समितिमा कोही छैनन् । कमजोर गुटका नेता भएका कारण झलनाथले ओलीले गन्दैनन् । बाँकी नेताको ओलीसँग आँखा जुधाएर कुरा गर्ने हैसियत नै छैन ।

ओलीजस्तै आफ्नो पार्टीमा सर्वाधिकार प्राप्त नेता हुन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । मोहन वैद्य र बाबुराम भट्टराई थिए, प्रचण्डका हरेक कामकारबाहीमा प्रश्न गर्ने र औंला उठाउने हैसियतका । हाल दुवै नेताले प्रचण्डको साथ छाडिसकेका छन् । रामबहादुर थापा बादल प्रचण्डका बालसखा र पुराना मित्र हुन् प्रचण्डसँगै सबै विषयमा कुरा गर्न सक्ने हैसियत भए पनि मोहन वैद्यसँगै पार्टी विभाजन गराएर पछि फर्केकाले उनमा पनि पहिलेको जस्तो मनोबल छैन । बाँकी सबै नेता प्रचण्डले विभिन्न कालखण्डमा अवसर दिएर माथि तानिएकाहरु छन् । प्रचण्डलाई दिनमा भन्दा प्रचण्डबाट लिनमा माहिर रहेका आरोप लाग्ने गरेको दोश्रो पुस्ताका नेताहरु प्रचण्डसँग आँखा जुधाएर उनका निर्णयहरुमा प्रश्न गर्ने हैसियत राख्दैनन् । त्यसैले ओलीसँगका सबै ‘डिल’ बारे प्रचण्डले पार्टीमा भनिरहनै पर्दैन । एकताबारे सोध्नेलाई उनले, ‘जनताले निर्वाचनमार्फत अनुमोदन गरिसकेकाले एकता भएरै छाड्ने’ औपचारिक जवाफ मात्रै दिन्छन् । एकतापछि पार्टी र सरकारको नेतृत्व कसले गर्ने, नीति, विचार र सिद्धान्त के हुनेबारे ओलीसँग भएका छलफलबारे केही सूचना चुहाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाका राष्ट्रपति अनुराले लिए शपथ

    श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्

रास्वपा कार्यकर्ताको पोखरामा प्रदर्शन

    रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले

दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन

प्रधानमन्त्री ‌ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयाेर्कमा भेटवार्ता

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त