प्रतिनिधिसभा चुनावमा पार्टी अध्यक्षहरू को कति सुरक्षित? देउवालाई आठ हजारको भारी,ओलीलाई हाइसन्चो (हेर्नुहोस मत विश्लेषण)



संविधानसभाको घोषणापछि त्यसको कार्यान्वयनको महत्त्वपूर्ण खुड्किलो मानिएको प्रतिनिधिसभाको चुनाव मंसिर १० र २१ गते हुँदैछ। पहिलो चरणको चुनाव हिमाली र पहाडी ३२ जिल्लामा हुँदैछ। त्यहाँका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १० गते चुनाव हुनेछ।

त्यस्तै, बाँकी ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा २१ गते चुनाव हुनेछ। आसन्न चुनावलाई लिएर दल र तिनका नेता तीव्र प्रचारप्रसारमा छन्। वरिष्ठदेखि कनिष्ठ नेतासम्म मतदातालाई फकाउन र लोभ्याउन व्यस्त देखिन्छन्। कतिपय पार्टीका प्रमुखहरू निर्वाचन क्षेत्रमा खटिएका छन्।

 

नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेर संयुक्त र सहमतिमा उम्मेदवारी दिएका छन्। नेपाल लोकतान्त्रिक फोरमसँगको एकतापछि कांग्रेस केही ठाउँमा थप बलियो देखिएको छ। त्यस्तै, मधेस केन्द्रित राजनीति गरिरहेका दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको तालमेलले उनीहरूको पनि मनोबल बढेको छ। र यस्ता गठबन्धन र तालमेलले रोचक बनाइदिएको चुनावमा पार्टीका ठूला नेताहरूको नतिजा पनि अप्रत्याशित हुन सक्ने सम्भावना रहेको नेपाल लाइभले विश्लेषण गरेको छ ।

१. शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा–१ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन्। डडेल्धुरामा प्रतिनिधिसभाको एउटा मात्रै चुनाव क्षेत्र छ। ०६४ र ०७० सालको संविधानसभा चुनावमा उनले यही क्षेत्रबाट माओवादीका खगराज भट्टलाई हराएका थिए। यसपटक पनि यी दुईबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ। ०६४ सालको चुनावमा देउवाले २० हजार ५ सय २९ मत ल्याएका थिए, भट्टले १९ हजार १ सय ६१ मत। ०७० मा देउवाले मत बढाएर २३ हजार ९ सय २० पुर्याउँदा भट्ट १२ हजार ३ सय ३२ मा खुम्चिएका थिए।

जिल्लामा ७ वटा स्थानीय तह छन्। जसमध्ये कांग्रेसले ४, एमालेले २ र माओवादीले १ स्थानमा जितेका थिए।

स्थानीय तहको निर्वाचनमा ७ वटै तहका प्रमुखहरूमा कांग्रेसले पाएको मत १९ हजार ५ सय २३ छ। त्यस्तै, एमालेले पाएको मत १६ हजार ९ सय १५ र माओवादीले पाएको मत १० हजार ९ सय ४५ छ। यहाँ स्थानीय तहको चुनावमा वाम गठबन्धनका दुई दलले कुल २७ हजार ८ सय ६० मत पाएका छन्।

एमाले र माओवादीको संयुक्त मतभन्दा कांग्रेसको मत ८ हजार ३ सय ३७ ले कम छ। देउवाले गठबन्धनको कति मत आफूतिर तान्छन्, उनको जित त्यसमै निर्भर गर्छ।

२. केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट वाम गठबन्धनको साझा उम्मेदवार बनेका छन्। २०७० को संविधानसभाको दोस्रो चुनावमा झापा–७ बाट विजयी ओलीले कांग्रेस उम्मेदवार सुरेशकुमार सुब्बालाई ८ हजारभन्दा बढी मतान्तरले पछि पारेका थिए। यसपटक उनीसँग नेपाली कांग्रेसका नेता खगेन्द्र अधिकारीले प्रतिस्पर्धा गर्दैछन्।

झापामा ५ वटा स्थानीय तह छन्। ओलीले प्रतिस्पर्धा गर्ने क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरीगंज गाउँपालिकाको वडा नम्बर ३ देखि ६ सम्म पर्छन्। त्यस्तै, गौरादह नगरपालिकाको वडा नम्बर १ देखि ८ पनि क्षेत्र नम्बर ५ मै पर्छ।

स्थानीय तहको चुनावमा दमक नगरपालिका र कमल गाउँपालिका दुवैमा एमालेले जितेको छ। गौरीगंज गाउँपालिकाको ४ वटा वडामध्ये २ वटामा कांग्रेस र १/१ वटामा एमाले र माओवादी विजयी भएका छन्। त्यस्तै, गौरादह नगरपालिकाको ८ वटा वडामध्ये ६ वटामा एमाले र २ वटामा कांग्रेस विजयी भएको छ।

यी १२ वटा वडा, एक गाउँपालिका र एक नगरपालिकामा गरी एमालेले कुल २९ हजार ४ सय ६० मत पाएको छ। त्यस्तै, कांग्रेसले २३ हजार २ सय ५० मत, माओवादीले १३ हजार ५ सय ८३ र राप्रपाले १० हजार २ सय २५ मत पाएका छन्।

यहाँ राप्रपाले पनि वाम गठबन्धनलाई सघाउने भनेकाले गठबन्धनको कुल मत ५३ हजार २ सय ६८ पुग्छ। स्थानीय तहकै मत खस्ने हो र गठबन्धनले बनाएको रणनीति सफल हुने हो भने ओलीको पक्षमा दोब्बर भन्दा बढी मत छ।

३. पुष्पकमल दाहाल ‘प्रचण्ड’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन-३ बाट प्रतिस्पर्धा गर्दैछन्। उनी पहिलो संविधानसभाको चुनावमा रोल्पा–२ र काठमाडौं–१० बाट निर्वाचित भएका थिए। दोस्रोमा उनी काठमाडौं– १० बाट पराजित र सिरहा–५ बाट विजयी भएका थिए।

चितवनमा उनीसँग राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेले प्रतिस्पर्धा गर्दैछन्। पाण्डेले ०७० सालको चुनावमा नवलपरासी–१ र चितवन–५ बाट प्रतिस्पर्धा गरेका थिए। उनी चितवन-५ बाट एमालेका उम्मदेवारलाई उछिन्दै विजयी भएका थिए। उनलाई कांग्रेसको पनि साथ छ।

प्रचण्डले प्रतिस्पर्धा गर्ने चितवन ५ मा भरतपुर महानगरपालिकाका ६, ८, ९ तथा १३ देखि २८ सम्मका वडा पर्छन्। त्यस्तै, माडी नगरपालिका पनि यही निर्वाचन क्षेत्रमा पर्छ।

स्थानीय तहमा भरतपुर महानगरपालिकाका १९ वटा वडामध्ये कांग्रेसले १०, एमालेले ६ र माओवादीले प्रमुखसहित ३ वटा वडामा जितेको छ। माडी नगरपालिकामा भने माओवादीकै प्रमुख छन्।

यी सबैमा गरी एमालेले २४ हजार ८२, माओवादीले १८ हजार २ सय ११, कांग्रेसले २७ हजार ३ सय १६ र राप्रपाले ७ हजार ७ सय ९३ मत पाएका थिए। भरतपुर महानगरपालिकाको वडा नम्बर २६ मा एमाले र माओवादी बीच तालमेल भई माओवादीले जितेकाले सो वडाको मत जोडिएको छैन।

यसरी, वाम गठबन्धनका पक्षमा ४२ हजार २ सय ९३ र लोकतान्त्रिक गठबन्धनका पक्षमा ३५ हजार १ सय ९ मत देखिन्छ।

४. महन्थ ठाकुर

ठाकुर राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक हुन्। यसपटक उनी महोत्तरी-३ बाट चुनाव लड्ने भएका छन्। उनलाई संघीय समाजवादी फोरमले साथ दिएको छ। ०७० सालमा भएको संविधानसभाको दोस्रो चुनावमा उनी तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट सर्लाही-६ बाट चुनाव लडेका थिए। त्यतिबेला उनी तेस्रा भएका थिए। ठाकुरसँग मुख्यगरी वाम गठबन्धनका तर्फबाट एमालेका विजयीकुमार चौधरी र कांग्रेसका बजरंग नेपाली प्रतिस्पर्धामा छन्।

महोत्तरी-३ मा एकडारा गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५; मटिहानी नगरपालिका; जलेश्वर नगरपालिका; पिपरा गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५, ७ र मनरा शिसवा नगरपालिकाका वडा नं. ८, ९, १० पर्छन्।

एकडारा गाउँपालिकाको ५ वटा वडामध्ये २ वटामा राजपा, २ वटामा संघीय समाजवादी फोरम र एउटामा कांग्रेस विजयी भएका थिए। मटिहानी र जलेश्वर नगरपालिका दुवैमा राजपाले नेतृत्व गरिरहेको छ। पिपरा गाउँपालिकाका ६ वटा वडामध्ये एमाले र राजपा २-२ वडामा, माओवादी र संघीय समाजवादी फोरम १-१ वडामा विजयी भएका थिए।

महोत्तरी-३ मा राजपा र संघीय समाजवादी फोरमले स्थानीय तहको निर्वाचनमा पाएको कुल मत १८ हजार ९ सयभन्दा बढी छ। त्यस्तै, नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको संयुक्त मत १२ हजार ५ सयभन्दा बढी हुन आउँछ।

अर्कोतर्फ वाम गठबन्धनका दुई दल एमाले र माओवादीको कुल ११ हजार ६५ मत पाएका छन्। स्थानीय चुनावकै मत दोहोरिने हो भने महन्थ ठाकुरको जित हुनसक्ने देखिन्छ।

५. उपेन्द्र यादव

संघीय समाजवादी फोरमका संयोजक यादव सप्तरी–२ बाट चुनावी प्रतिस्पर्धामा छन्। उनलाई राजपाले साथ दिएको छ। पहिलो संविधानसभाको चुनावमा सुनसरी–५ र मोरङ–५ बाट विजयी यादव दोस्रो संविधानसभाको चुनावमा पुनः ती दुवै क्षेत्रबाट उम्मेदवार भएका थिए। तर, उनी सुनसरी-५ बाट मात्रै विजयी भए। सप्तरीमा उनीसँग वाम गठबन्धनका उमेश यादव र लोकतान्त्रिक गठबन्धनका सकलदेव यादव प्रतिस्पर्धामा छन्। उमेश यादव ०७० सालको चुनावमा सप्तरी-३ बाट विजयी भएका थिए।

यादवले प्रतिस्पर्धा गर्ने क्षेत्रमा महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिका पर्छन्। यी ४ मध्ये २ वटामा राजपा र १-१ वटामा संघीय समाजवादी फोरम र नयाँ शक्ति विजयी भएका थिए।

यहाँका अध्यक्ष र प्रमुखहरूको मत नियाल्ने हो भने एमालेले २ हजार ९ सय ९०, माओवादीले ६ हजार ९ सय ७५, कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको संयुक्त १० हजार ७ सय ११, संघीय समाजवादी फोरमको ९ हजार ४ सय १२ र राजपाको १२ हजार ६५ मत छ।

अर्थात् मधेस केन्द्रित २ दलको संयुक्त मत २१ हजार ४ सय ७७, कांग्रेसको १० हजार ७ सय ११ र वाम गठबन्धनको ९ हजार ९ सय ६५ मत छ। नयाँ शक्तिले जितेको तहमा उसको मत २ हजार ८ सय ५ छ।

राजपाको साथले यादव बलिया देखिन्छन्। उनले अन्य दलको मत कति तान्न सक्छन्, उति नै विजय हुने सुनिश्चितता हुन्छ।

६. बाबुराम भट्टराई

भट्टराई नयाँ शक्तिका संयोजक हुन्। उनी गोरखा-२ बाट प्रतिस्पर्धा गर्दैछन्। उनलाई चुनावी मैदानमा नेपाली कांग्रेसले साथ दिएको छ। उनी पहिलो संविधानसभाको चुनावमा गोरखा–२ र दोस्रो चुनावमा गोरखा–१ बाट विजयी भएका थिए।

दोस्रो संविधानसभाको चुनावमा उनी रुपन्देही–४ मा भने तेस्रा भए। भट्टराईले ती सबै चुनाव माओवादीको उम्मेदवारका रुपमा लडेका थिए। तर, अहिले उनी नयाँ शक्तिको उम्मेदवारका रुपमा माओवादीसँगै प्रतिस्पर्धामा उत्रिएका छन्।
यहाँबाट वामपन्थी गठबन्धनका तर्फबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ भट्टराईसँग मुख्य प्रतिस्पर्धामा छन्।

यस क्षेत्रमा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाका वडा नम्बर ८ देखि १४ सम्म पर्छन्।

गोरखा नगरपालिकाका वडाहरुलाई छाडेर बाँकी ४ वटा तहमध्ये ३ मा कांग्रेस र एकमा माओवादीले जितेको थियो। दुवै दलले एकअर्कालाई पछ्याएका थिए। गोरखा नगरपालिकाका ८ देखि १४ सम्मका ७ वटा वडामा एमालेले २ वटा वडा अध्यक्ष जितेको थियो। त्यस्तै, कांग्रेसले ४ र माओवादीले १ वटा वडा अध्यक्षमा जितेको थियो। ४ वटा स्थानीय तह र गोरखा नगरपालिकाका वडाको मत जोड्दा माओवादी बलियो हुन आउँछ। उसले कुल १७ हजार ७ सय ९४ मत पाएको देखिन्छ। त्यस्तै, कांग्रेसले १७ हजार ७०, नयाँ शक्तिले ७ हजार ४ सय १६ र एमालेले ७ हजार १ सय ७२ मत पाएका छन्।

स्थानीय तहमा खसेकै मत अनुसार उम्मेदवारले मत पाउने हो भने वामपन्थी गठबन्धनका उम्मेदवार श्रेष्ठले २४ हजार ९ सय भन्दा बढी मत पाउँछन्। जबकि, लोकतान्त्रिक गठबन्धनका भट्टराईले २४ हजार ४ सयभन्दा केही बढी मात्र मत पाउँछन्। उनीहरु बीच लगभग ५ सयको अन्तर देखिन्छ। तर, नेपाली राजनीतिका दुई शीर्ष नेताहरु भट्टराई र श्रेष्ठ नै मैदानमा उत्रिसकेपछि त्यसले विगतको मत र घेरा नाघ्ने अनुमान गर्न गाह्रो छैन।

७. कमल थापा

राप्रपा अध्यक्ष थापा मकवानपुर-१ बाट प्रतिस्पर्धामा छन्। उनलाई नेपाली कांग्रेसको समर्थन छ। उनीसँग वाम गठबन्धनका तर्फबाट एमालेका कृष्ण दाहालले मुख्य प्रतिस्पर्धा गर्दैछन्।

थापा उम्मेदवार भएको क्षेत्र नम्बर-१ मा हेटौंडा उपमहानगरपालिकाका वडाहरू २ र ४ देखि १८ सम्म पर्छन्। त्यस्तै, मकवानपुर गडी गाउँपालिकाको १ देखि ४ वडा, वागमती गाउँपालिका र बकैया गाउँपालिका पर्छन्।

हेटौंडा उपमहानगरपालिका १६ वडामध्ये एमाले १०, कांग्रेस ४ र माओवादी २ वटा वडामा विजयी भएका छन्। त्यस्तै, मकवानपुर गडी गाउँपालिकाको ४ वटा वडामध्ये एमाले र कांग्रेस २-२ ठाउँमा विजयी भएका छन्। वागमती गाउँपालिकामा माओवादी र बकैया गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

वडाध्यक्ष र गाउँपालिका अध्यक्षमा पार्टीहरूले पाएको मत हेर्दा एमाले बलियो र राप्रपा कमजोर देखिन्छ। उनीहरूले क्रमशः २८ हजार ३ सय ४२ र ९ हजार ९ सय ५० मत पाएका छन्।

त्यस्तै, कांग्रेसले २४ हजार ८ सय ७१ र माओवादीले १५ हजार २ सय ८९ मत पाएका छन्।

यसअनुसार, वाम गठबन्धनका पक्षमा ४३ हजार ६ सय २९ र लोकतान्त्रिक गठबन्धनका पक्षमा ३४ हजार ८ सय २१ मत देखिन्छ।

८. पशुपतिशमशेर राणा

राणा नयाँ पार्टी राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष हुन्। उनी सिन्धुपाल्चोक-२ बाट प्रतिस्पर्धामा छन्। उनी लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन्। उनीसँग वामपन्थी गठबन्धनका तर्फबाट एमालेका शेरबहादुर तामाङले प्रतिस्पर्धा गर्दैछन्। २०७० को दोस्रो संविधानसभा चुनावमा पनि यी दुवै उम्मेद्वारबीच प्रतिस्पर्धा थियो। त्यतिबेला क्षेत्र नम्बर-३ मा प्रतिस्पर्धा भएको थियो, जसमा तामाङले राणालाई २ हजार ५ सयभन्दा बढी मतले पछि पार्दै विजयी भएका थिए।

यस क्षेत्रका स्थानीय तहमध्ये एमालेले २, कांग्रेसले २ र माओवादीले १ तहमा नेतृत्व गरिरहेका छन्। चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्र नम्बर १ र २ दुवैतिर पर्छ। माओवादीले जितेको सो नगरपालिका बाहेकका अन्य स्थानीय तहमा एमालेले २० हजार ९ सयभन्दा बढी, कांग्रेसले १९ हजार ६ सय बढी र माओवादीले ९ हजार ७ सयभन्दा बढी मत पाएका थिए।

राणाले वामपन्थी मतदाताको मत तान्न सके र लोकतान्त्रिक गठबन्धनको मत जोगाउन सके उनका निम्ति सुखद नतिजा आउन सक्छ। नभए, ०७० नदोहोरिएला भन्न सकिन्न।

९. रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं-१ मा प्रतिस्पर्धा गरिरहेका रवीन्द्र मिश्र अहिले घरदैलो कार्यक्रममा व्यस्त छन्। उनको यो पहिलो चुनावी प्रतिस्पर्धा हो।

काठमाडौं क्षेत्र नम्बर-१ बाट निर्वाचित भएर दुई वटा संविधानसभामा प्रतिनिधित्व गरेका कांग्रेसका प्रकाशमान सिंह अहिले पनि सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्। स्थानीय तहको मत हेर्दा श्रेष्ठकै पल्लाभारि देखिन्छ। यस्तै वाम गठबन्धनले माओवादीका अनिल शर्मालाई उम्मेदवार बनाएको छ। उनी माओवादीको विद्यार्थी राजनीतिबाट आएका युवा नेता हुन्।

आफ्नो पार्टीका कार्यकर्ता मात्रै नभई अन्य दलका कार्यकर्ताले पनि सहयोग गरेकोमा उनी दंग छन्। ‘उत्साहजनक प्रतिक्रिया पाइरहेको छु,’ मिश्रले भने, ‘अन्य पार्टीका कार्यकर्ताले पनि सामाजिक सञ्जालमा मेरा लागि अभियान सञ्चालन गरिरहनुभएको छ।’

जनताले नै विकल्प खोजेका बेला पुराना दलहरुको गठबन्धनले केही गर्न नसक्ने उनको दाबी छ। जनताले नै विकल्प चाहिरहेको बेला तपाईंहरु आउनुभयो भनेर सद्भाव र विश्वास प्रकट गरिरहेको पनि उनी बताउँछन्।
उनले वामपन्थी र लोकतान्त्रिक गठबन्धले आफूलाई चेपुवामा नपार्ने बताए। ‘यो कुकृत्यको गठबन्धन हो,’ मिश्रले भने, ‘हामीलाई असर पर्दैन।’

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको