अर्गेलीबाट उत्पादित कागज जापान निर्यात



केही वर्षअघिसम्म गाईबस्तुलाई सोत्तर ओछ्याउने काममा मात्र प्रयोगमा आउने गरेको अर्गेलीबाट अहिले जापानी गुणस्तरको कागज उत्पादन हुन थालेको छ । जंगलमै उच्च गुणस्तरको जापानी कागज उत्पादन हुन थालेपछि अर्गेली र लोक्ताको पाटको मूल्यसमेत आकास्सिएको छ ।

अर्गेलीको रेशाबाट उच्च गुणस्तरको नेपाली हाते कागज उत्पादन गर्दै आएको तीनजुरे गैरकाष्ठ वन पैदावार उत्पादन तथा प्रशोधन प्रालिले गत वर्षदेखि जापानी गुणस्तरको कागज उत्पादन गर्न थालेको हो ।

उत्पादित कागज अहिले जापानतर्फ निर्यात भइरहेको प्रालिका अध्यक्ष बलमान गुरुङले बताउनुभयो । जंगलमा प्राकृतिकरूपमा उम्रिएको अर्गेलीको पाटबाट जापानी यान(पैसा) आउन थालेपछि यस क्षेत्रका लेकाली गाउँका किसान अर्गेलीको व्यावसायिक खेतीमा लागेका हुन् ।

अहिले तेह्रथुमबाट मात्र वार्षिक २५ हजार केजीभन्दा बढी लोक्ताको पाट उत्पादन हुने गरेको छ । अर्गेलीको व्यावसायिक खेतीमा लागेका किसान मिलेर देउरालीमा नेपाली हाते कागज उद्योगसमेत सञ्चालन गरेका छन् । लोक्ताको पाट स्थानीयस्तरमा प्रशोधन भएर कागज उत्पादन हुन थालेपछि यस क्षेत्रमा त्यसै खेर गएको लोक्ता र अर्गेलीले अन्तर्राष्ट्रिय बजार पाएको छ ।

तेह्रथुम र संखुवासभाका सामुदायिक तथा निजी वन क्षेत्रमा एक हजार ५०० भन्दा बढी किसानले अर्गेलीको व्यावसायिक खेती गरिरहेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लामा निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा गरी ८९१ हेक्टरमा अर्गेलीको व्यावसायिक खेती हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवमा २५ हजार केजी अर्गेलीको पाट उत्पादन भएको थियो ।

पहिले जंगलमा प्राकृतिकरूपमा मात्र रहेको अर्गेलीको २०५५÷५६ सालतिरबाट किसानले यसलाई व्यावसायिक बनाएको वसन्तपुर टुटेका कृषक रामबहादुर गुरुङले बताउनुभयो । एक दशकअघिसम्म जंगलमा गोठालो जानेहरूले दाम्लो, नाम्लो, डोरी बाट्नेलगायतका काममा मात्र अर्गेली र लोक्ताको पाटलाई प्रयोगमा ल्याउँथे तर अहिले सोही पाटबाट हाते कागज उत्पादन गरी अन्तर्राष्टिय बजारमा समेत निर्यात हुने थालेको हो ।

“उत्पादित कागजलाई बजारको कुनै समस्या छैन” प्रालिका व्यवस्थापक टीकाराम दाहालले भन्नुभयो । शुरुका दिनमा एक्लाएक्लै अर्गेलीको खेती शुरु गरेका किसान अहिले आएर सामुदायिक वनको माध्यमबाट सामूहिक खेतीमा लागेका छन् । “सामूहिक खेती गर्दा धेरै कुराको सजिलो हुँदोरहेछ”, प्रालिका अध्यक्ष गुरुङले भन्नुभयो ।

उद्योगले गत वर्षमात्र रू २५ लाखको कागज उत्पादन गरेर बिक्री गरेको थियो । खेर जाने अर्गेलीबाट नेपाली हाते र उच्च गुणस्तरको जापानी कागज बन्न थालेपछि किसानले वर्षभरि नै आम्दानी र रोजगारी पाएका छन् । अर्गेली रोप्ने, काट्ने, पाट काड्ने, पाटको बोक्रा खुर्किने, सुकाउने, पेल्ने, कागज बनाउनेलगायतका काममा १०० भन्दा बढी स्थानीयवासीले रोजगार पाएको प्रालिका व्यवस्थापक दाहालले बताउनुभयो ।

अर्गेली खेतीमा नयाँ सम्भावना देखिएपछि यस क्षेत्रका धेरै युवा विदेशिनबाट रोकिएको तिनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताउनुभयो । यहाँ उत्पादित कागज व्यापारी आङ्दावा शेर्पामार्फत जापानसम्म पुग्ने गरेको छ । कागज उत्पादनको तुलनामा माग बढी भएकाले माग धान्न गाह्रो भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रालिले अहिले दैनिक ४०० प्रति जापानी र ७०० प्रति हाते गरी ११ सय प्रति कागज उत्पादन गर्दै आएको छ । उद्योग स्थापना भएपछि सामुदायिक वनमा आबद्ध निम्न आय भएकाहरूले अर्गेली संकलन, ओसारपसार तथा त्यसको प्रशोधन र उत्पादनमा समेत काम पाएका छन् ।

जंगलमा संकलन गरेर ल्याएको अर्गेलीको पाटलाई उद्योगले रू ६० प्रतिकेजीका दरले खरिद गरिरहेको छ । किसानले अर्गेलीको व्यावसायिक खेतीका लागि देउरालीमा वार्षिक ३० हजारभन्दा बढी बिरुवासमेत आफँै उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा

सेन्सेईको दशैं तिहार र छठ पर्व योजना अन्तर्गत भाग्याशाली विजेतालाई ६५” को टि.भी. हस्तान्तरण

    सेन्सेईको दशैं तिहार र छठ पर्व योजना अन्तर्गत भाग्याशाली विजेतालाई ६५”