५ वर्षमा सवा २ अर्बको सुन बरामद,हेर्नुहोस ४०० केजी सुन कसरी तस्करी भयो?
पछिल्लो ५ वर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा २ अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको छ ।
दैनिक एक सय किलो सुन तस्करी हुने अनुमान गरिए पनि प्रहरीले न्यून परिमाणमा मात्रै बरामद गर्दै आएको छ । सोमबार प्रहरीले केरुङ–रसुवागढी नाका हुँदै भित्रिएको करिब ४३ करोड रुपैयाँ बराबरको ८८ केजी अवैध सुन बरामद गरेको छ । प्रहरीले यति ठूलो परिमाणमा सुन बरामद गरेको भने यो पहिलो घटना हो ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले वा १७ च ६४२७ नम्बरको टाटासफारी जीपमा लुकाइएको उक्त सुनसहित चालक प्रकाश अधिकारीलाई क्षेत्रपाटीबाट पक्राउ गरेको हो । उनी भरियामात्रै हुन् ।
प्रहरीका अनुसार चालक अधिकारीले उक्त सुन काठमाडौंकै एक व्यापारीलाई पु¥याउने तयारी गर्दागर्दै प्रहरीको फन्दामा परेका हुन् । ती व्यापारी को हुन् भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यो सुन चिनिया तस्करद्वय याङ वेन विङ र उनका श्रीमान पान वे मिङले ल्याएका हुन् । दुवैजना काठमाडौंको ठमेलमा काठमाडौं वन् होटलका सञ्चालक हुन् । तर महाशाखाले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
दरबारमार्ग, ठमेल, न्युरोड/विशालबजार क्षेत्रका कहलिएका सुनव्यापारी नै तस्करीमा संलग्न भएपछि २ वर्षअघि प्रहरीले विशेष अपरेसन नै चलाएको थियो । पछिल्लो १ दशकको अवधिमा विभिन्न परिमाणमा बरामद भएको सुन करिब ५ सय ५० केजी हाराहारीमा छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो १० वर्षमा एक पटकमा १ सय ग्रामदेखि ३५ केजीसम्म सुन बरामद भएको भएको थियो । विहीबार मात्रै काठमाडौंबाट २२ केजी सुन बरामद गरेको थियो । तर एकैपटक यतिधेरै सुन भित्रिएकोमा प्रहरी नै आश्चर्यमा परेको छ । यसअघि २०७० सालमा केन्द्रीय अनुसन्धान ब्यूरोले सबैभन्दा ठूलो परिमाणको ३५ केजी सुन बरामद गरेको थियो ।
कहिले–कति बरामद ?
- २०७४ भदौ १९ – ८८ केजी
- २०७४ भदौ १५ – २२ केजी
- २०७४ असार २९ – ९ केजी
- २०७३ माघ १– १३ केजी
- २०७३ पुस ६ – a५ केजी
- २०७३ पुस २१ –३३ केजी
- २०७३ चैत ३ – ७ केजी
- २०७३ जेठ ३० – ६ केजी
- २०७१ साउन – २० केजी
- २०७१ मंसिर – २५ केजी
- २०७०/०७१ – ८९ केजी
- २०६९/७० – ८३ केजी