बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप चर्किएको छ । मुख्यमन्त्री किरण थापाले प्रदेशसभाबाट सोमबार लिने विश्वासको मतलाई लिएर राप्रपाका दुई समूहले आ-आफ्ना प्रदेश सभा सदस्यलाई फरक-फरक निर्देशनसहित ह्विप जारी गरेका छन् ।

यसअघि आइतबार राप्रपा बागमती प्रदेश सभाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी थिइन् । उक्त ह्विप प्रदेश सभाका राप्रपा सांसदहरूलाई पठाइएको थियो । सोही विषयमा आइतबार नै राप्रपा संसदीय दलको प्रमुख सचेतकका रूपमा डम्बर तामाङको नामबाट अर्को ह्विप जारी भएको छ ।

डम्बर तामाङले जारी गरेको पत्रमा प्रदेश सभाको बैठकमा अनिवार्य सहभागी भई मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको उल्लेख छ । पत्रमा उक्त ह्विप दलको बैठकको निर्णय तथा राप्रपा संसदीय दलको विधानअनुसार जारी गरिएको दाबी गरिएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले तामाङलाई सरकार गठन हुनु अगावै प्रमुख सचेतकबाट हटाएका थिए ।

यससँगै बागमती प्रदेश सभामा राप्रपाका सांसदहरूलाई एउटै विषयमा दुई समूहबाट विपरीत निर्देशन पुगेको छ । एक समूहले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न भनेको छ भने अर्को समूहले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेपछि अन्यौलता सिर्जना भएको छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलमा यसअघि नै मुख्यमन्त्री थापालाई समर्थन गर्ने विषयमा विवाद देखिएको थियो । प्रदेश संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्रीलाई समर्थन गरिएको दाबी एक पक्षले गर्दै आएको छ भने राप्रपा केन्द्रीय नेतृत्वले उक्त समर्थन पार्टीको निर्णयविपरीत भएको बताउँदै आएको छ ।

यही विवादका कारण प्रदेश सभामा राप्रपाको आधिकारिक संसदीय दलको निर्णय र ह्विप कसको मान्य हुने भन्ने प्रश्नसमेत थप पेचिलो बनेको छ । मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका बेला राप्रपाभित्र देखिएको दुई थरी ह्विपले प्रदेश सरकारको पक्षमा र विपक्षमा रहने सांसदहरूको समीकरणलाई थप अन्योलपूर्ण बनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...