संबिधान संसोधन गराउने कसरतमा अनेक तुरुप फाल्ने तानाबाना बुनिरहेको वर्तमान सरकार बिरुद्व नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बिष ओकलेका छन्। शेरबहादर देउवा नेतृत्वको सरकारलाई ओलीले नालायक गठवन्धनको संज्ञा दिए । ‘अहिलेको सरकार लोभी पापीहरुको अपराधिक गठवन्धन हो, क्षणिक स्वार्थका लागि बनेको यो सरकारले देशको हितलाई हेर्दैन,’ ओलीले भने, ‘यो सरकार अत्यन्तै अदुरदर्शी छ ।’
एमाले बिरुद्वा देउवा सरकारले अनेक गरे पनि नसकेको उनको भनाइ छ। तर, एमालेले सबै चक्रब्यूहलाई फोडेर अगाडि बढेको उनले बताए । चक्रब्यूह एमालेका लागि माकुराको जालोबराबर मात्र भएको उनको कथन छ । ‘एमालेसँग कुनै पार्टीले गफ नगरे हुन्छ,’ उनले भने, ‘मसँगै जेल पर्नुभएको नेता नरेश खरेल १७ वर्ष जेल बस्नुभयो, कांग्रेसमा एकमुष्ठ १७ वर्ष जेल बस्ने कोही छ भने मलाई देखाइदिनुस् ।’
अप्ठ्यारो पर्दा एक मुठी माटो हातमा लिएर छातीमा राख्दै नेपाल आमालाई सोध्ने वीपी कोइरालाको विचार स्मरण गर्दै ओलीले अहिलेका कांग्रेससँग एक मुठी माटो राख्ने छाती पनि नभएको टिप्पणी गरे ।