चुनावमा एमालेसँग मिल्ने सहमति भइसक्यो : प्रचण्ड
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेशसभाको निर्वाचनमा एमालेसँग मिलेर जाने सहमति भइसकेको बताएका छन् । आज गोरखा पुगेका प्रचण्डले एमालेसहित सबै कम्युनिस्ट घटकसँग सडक र सदनमा सहकार्य गरेर अघि बढ्ने बताए । उनले एमालेसहित बाँकी कम्युनिस्टहरूलाई पनि एकताबद्ध गर्ने पहल पनि गरिराखेको बताए । उनले भने,सहकार्य गर्ने सहमति त भइसकेको छ। एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर नै सङ्घर्ष गर्ने सहमति भइसकेको छ । स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ । सहकार्य मात्रै नभएर पार्टी नै एउटै बनाएर कम्युनिस्ट आन्दोलनको रक्षा, देशको स्वाधीनता र समाजवादको दिशामा अगाडि बढ्नको लागि कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्छ भनेर आफूहरू निरन्तर संवादमा रहेको बताए ।
प्रचण्डले थपे, एमालेका नेताहरूसँग पनि छलफल भइरहेको छ । यद्यपि केपीजीलाई कुरा बुझाउन सजिलो भइराखेको छैन। तर पनि फेरि देशको परिस्थिति बदल्न हामी सहकार्य र एकता गरेर जानुपर्छ भन्नेमा राम्रै कुरा भएको छ । हिजो संविधान सभा र शान्ति सम्झौताका सहभागी सबै राजनीतिक शक्ति, कांग्रेस, शेरबहादुर देउवाहरूसँग पनि निरन्तर छलफल भइरहेको बताए । हामी मिलेर नै जानुपर्छ मोर्चा गरेर भन्नेमा विमति छैन । त्यसैगरी मधेश केन्द्रित दलहरूसँग पनि हामी मिलेर संविधान, गणतन्त्र, समावेशिता र सङ्घीयताको रक्षाको निम्ति हामी एक हुनुपर्छ भन्नेमा सकारात्मक दिशामा छलफल गइराखेको छ’ उनले भने ।

