पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसिया जाने नेपाली श्रमिकमाथि बायामेट्रिक स्वास्थ्य परीक्षणका भएको ठगी तथा करिब एक अर्ब ६९ करोड रुपैयाँको गैरकानुनी कारोबार प्रकरणमा अनुसन्धानका क्रममा उनलाई सीआईबीले पक्राउ गरेको हो ।
यद्यपि, उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन । मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अर्यालविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनीविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै नेपालबाहिर गएको आशंका गरिएको थियो । भारतको कोलकातामा रहेका अर्याललाई भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा नियन्त्रणमा लिइएको हो । उनलाई आजै नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ । यसअघि यही प्रकरणमा सीआईबीले दुई पूर्वश्रममन्त्रीसहित छ जनालाई पक्राउ गरिसकेको छ ।

