आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत वर्षको तोडफोडलाई मान्यता दिनका लागि संवैधानिक बाटोबाट फागुन २१ गते निर्वाचनको मञ्चन गरिएको टिप्पणी गरेका छन् । राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सरकार अहिले अधोगतितर्फ गइरहेको बताए ।
उनले भने देशले अनेक प्रकारका उतारचढाव भोग्यो होला। तर गत वर्षजस्तो अनधिकृत, हिंसात्मक, आतंककारी, अलोकतान्त्रिक तरिकाबाट सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट, तोडफोडबाट लोकतन्त्र मास्ने, संविधान मास्ने र त्यसपछि ती क्रियाकलापहरूलाई मान्यता दिने खालका क्रियाकलापहरू, कामहरू नेपालको इतिहासमै भएका थिएनन् । त्यसलाई मान्यता दिनका लागि एउटा संवैधानिक बाटो निर्वाचनको मञ्चन पनि गरियो ।
अहिले देश राजनीतिक रूपमा एउटा आतंकको छायामुनि भएको टिप्पणी गरे । ओलीले थपे देश भय र त्रासको वातावरणमुनि, असंवैधानिक, गैरकानुनी क्रियाकलापहरूको पेलाइमा, स्वेच्छाचारी शासनको अन्तर्गत चलिरहेको छ । फाँसीवादतर्फ दमनकारी, प्रतिशोधी व्यवहार अगाडि बढिरहेको छ । आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ ।

