बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक



हाम्रो इकोनोमि

 

 

दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ । चाडपर्वको खर्च, लामो सार्वजनिक बिदा र बाढीपहिरोपछि बढेको नगद आवश्यकताका कारण चलनचल्तीमा रहेको मुद्रा ९ खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । दसैँको अवधिमा मात्रै बजारमा करिब १ खर्ब रुपैयाँ थप नगद प्रवाह भएको अनुमान छ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापनसम्बन्धी तथ्यांकअनुसार असोज १ गतेसम्म कुल चलनचल्तीको मुद्रा ८ खर्ब ४ अर्ब रुपैयाँ थियो । पछिल्लो अनुमानअनुसार यो रकम बढेर करिब ९ खर्ब रुपैयाँको नजिक पुगेको छ । बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकका विभिन्न कार्यालयमा रहेको नगद घटाएर गणना गरिने खुद चलनचल्तीको मुद्रा पनि असोज १ गतेको ७ खर्ब ९७ अर्ब रुपैयाँबाट बढेर करिब ८ खर्ब ९५ देखि ९६ अर्ब रुपैयाँ पुगेको छ ।

यसअनुसार दसैँको अवधिमा मात्रै बजारमा करिब ९७ देखि ९८ अर्ब रुपैयाँ थपिएको देखिन्छ । अघिल्ला वर्षहरूमा दसैँका बेला बजारमा ३५ देखि ५० अर्ब रुपैयाँसम्म थप नगद प्रवाह हुने गरेकोमा यस वर्षको वृद्धि निकै उच्च हो । यसले चाडपर्वको खर्चसँगै अर्थतन्त्रमा नगदको माग र परिचालन दुवै बढेको संकेत गर्छ ।

दसैँमा खाद्यान्न, लत्ताकपडा, यातायात, दक्षिणा, पूजाआजा र अन्य उपभोग्य सामग्रीमा खर्च बढ्ने भएकाले नगदको माग सामान्य अवस्थाभन्दा बढी हुन्छ । लामो सार्वजनिक बिदाका कारण बैंकिङ सेवा सीमित हुने सम्भावनालाई ध्यानमा राखेर सर्वसाधारणले पहिले नै रकम झिकेर राख्ने प्रवृत्तिले पनि नगद प्रवाह बढाएको छ । यस वर्ष बाढी–पहिरोले पनि नगदको मागमा थप दबाब सिर्जना गरेको देखिन्छ । सडक अवरुद्ध हुँदा लामो दूरीको यात्रा गर्नेहरूले साथमा बढी नगद राख्नुपर्ने अवस्था आयो । नुवाकोट, रसुवालगायत प्रभावित क्षेत्रमा घर, पसल तथा सहकारीमा रहेको नगद नष्ट वा क्षति भएपछि बैंक खाताबाट पुनः रकम झिक्नुपर्ने अवस्था पनि बनेको छ । विपद्पछिको राहत वितरण र पुनर्निर्माणसँग सम्बन्धित खर्चले समेत बजारमा नगद परिचालन बढाउन योगदान दिएको छ ।

चाडपर्वलाई लक्षित गर्दै साना दरका नोटको माग पनि उल्लेख्य देखिएको छ । पाँच, १०, २०, ५० र १०० रुपैयाँका नोट गरी १५ अर्ब १३ करोड रुपैयाँ बराबरका नोट सटही भइसकेका छन् । दसैँको अन्त्यसम्म यो रकम साढे १५ अर्बदेखि १६ अर्ब रुपैयाँसम्म पुग्ने अनुमान छ । संख्याका आधारमा पाँच रुपैयाँका नोट बढी प्रयोग भए पनि कुल रकमका हिसाबले ५० र १०० रुपैयाँ दरका नोटको हिस्सा बढी छ । तर, चलनचल्तीको मुद्रा ९ खर्ब रुपैयाँको नजिक पुग्नुको अर्थ अर्थतन्त्रमा त्यति नै नयाँ पैसा थपिएको भन्ने होइन । बैंकमा रहेको निक्षेप नगदका रूपमा झिकिँदा पनि चलनचल्तीको मुद्रा बढ्छ । त्यसैले यो वृद्धिले एकातिर चाडपर्वको आर्थिक गतिविधि तीव्र भएको देखाउँछ भने अर्कोतिर सर्वसाधारण र व्यवसायीले बैंकिङ प्रणालीबाहिर नगद राख्ने प्रवृत्ति बढेको पनि संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...