आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने
बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । सो वर्षाले हिमाली जिल्ला मनाङसहित कम्तीमा २९ जिल्ला बढी प्रभावित हुने प्रारम्भिक आकलन छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलको मौसम विश्लेषणअनुसार, सो प्रणालीको प्रभावले तीन–चार दिनसम्म पानी पर्ने र केही स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना छ ।
भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने सो प्रणालीको प्रभावले बिहीबार रातिदेखि वर्षाको गतिविधि थप बढ्ने पूर्वानुमान छ । अहिलेको प्रारम्भिक आकलनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी हुनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने सम्भावना छ ।
नेपालको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने जनाएको छ । तर वर्षाको मात्रा र जोखिम क्षेत्र भने महाशाखाले सार्वजनिक गरिसकेको छैन । डा. पोखरेलले भने जोखिम नक्सा सार्वजनिक गर्दै कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना औंल्याएका छन् ।
उनले प्रस्तुत गरेको नक्सामा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लासहित २९ जिल्लामा तुलनात्मक रूपमा बढी जोखिम हुन सक्ने देखाइएको छ । यद्यपि, अहिलेको पूर्वानुमान प्रारम्भिक भएकाले मौसमी प्रणालीको मार्ग, वर्षाको मात्रा र बढी जोखिममा पर्ने जिल्लाहरू परिवर्तन हुन सक्ने डा. पोखरेलले बताएका छन् ।
डा. पोखरेलका अनुसार अहिले समग्र मौसमी अवस्थालाई हेर्दा तीनवटा प्रणाली विकसित भइरहेको देखिन्छ । दक्षिण भारतमा उत्तरपूर्वी मनसुनको प्रभाव कायम रहनुका साथै त्यहाँ न्यून चापीय प्रणाली पनि विकसित भइरहेको छ । यसका कारण दक्षिण भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ ।
त्यस्तै, बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली नेपालतर्फ आउने मुख्य प्रणालीका रूपमा देखिएको छ । यसबाहेक पश्चिमी वायुको प्रभाव पनि कायम रहेकाले नेपालमा वर्षाको सम्भावना थप बढ्न सक्ने सम्भावना छ । नेपालमा भारी वर्षा गराउन बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावासँगै माथिल्लो वायुमण्डलको अवस्थाले पनि भूमिका खेल्न सक्ने उनको विश्लेषण छ ।
डा. पोखरेलले मनाङसहित हिमाली क्षेत्रमा पनि विशेष ध्यान दिनुपर्ने बताएका छन् । अहिलेको पूर्वानुमानमा मनाङ क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएकाले त्यहाँको मौसमलाई गम्भीरतापूर्वक अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ छ । तराई मधेशका जिल्लामा डुबान, पहाडी क्षेत्रमा पहिरो र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेकाले पर्याप्त सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् । मौसमविदहरुका अनुसार बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधिमा विशेष सतर्कता आवश्यक पर्ने संकेत देखिएको छ ।
मौसमविद् समेत रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बंगालको खाडीमा उत्पन्न प्रणाली थप विकसित हुँदै भारतको उडिसा, बिहार हुँदै नेपालतिर आउने र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ । साथै पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।
त्यसैले उनी दशैं सकेर आफ्नो कार्यस्थलमा फर्किने योजना बनाएकाहरुलाई शुक्रबार र शनिबार यात्रा नगर्न तथा हिमाली क्षेत्रमा पदयात्रामा नजान सुझाव दिन्छन् । आगामी बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना बनाएकाहरुलाई पनि योजना स्थगित गर्न उनले सुझाव दिएका छन् ।
अर्का मौसमविद उज्ज्वल उपाध्यायले पनि कात्तिक ११ गतेदेखि १५ गतेसम्म लामोदूरीको यात्रा नगर्न र बाली काट्ने–भित्राउने कार्य नगर्न र पदयात्रामा नजान सुझाव दिएका छन् । यात्राको क्रममा खासगरी पृथ्वी राजमार्ग, बीपी राजमार्गमा थप सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

