एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् । उपमहासचिव भट्टराईले केही दिनअघि अध्यक्षले स्वविवेकले राजीनामा दिनुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘केन्द्रीय कमिटीबाट नेतृत्वको हस्तान्तरणको सहज विधि र प्रक्रिया बनाएर निकास दिन्छौँ । त्यसका लागि विधानमा संशोधन, राष्ट्रिय भेलाको आयोजना गर्नुपर्छ कि, विशेष महाधिवेशनको आयोजना गर्नुपर्छ यी सबै प्रक्रियामा अब पार्टी जान्छ, जानुपर्छ । आज बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले योगेशको यो भनाइप्रति असन्तुष्टि जनाए ।
‘हामीमाथिको भएको हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नुपर्थ्यो । तर, पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्यत भए । समस्याको सिर्जना हुन थाले । पार्टीभित्रको बहस पार्टीभित्र, कमिटीभित्र छलफल हुन सक्थ्यो’, उनले आक्रोश पोखे, ‘तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, यस्ता कुराहरू बोल्ने को न्यायाधीश । उनले पार्टीमा भएका नेताहरूले बाहिर गएर बोल्ने छुट नभएको बताए ।
उनले थपे तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुस्, कमिटीमा छलफल गर्नुस्, राय राख्नुस् । तर बाहिर गएर जगँहसाइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने, यस प्रकारका क्रियाकलापहरू हुनु हुँदैन । र यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको छ ।
विरोधीलाई खेल्ने ठाउँ नदिनको लागि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । अनुशासनमा कमजोर भएको पार्टी एमाले बन्दा आफूलाई दुख लागेको बताए । उनले पार्टीलाई अनुशासित, गतिशील र चुनौतीको सामना गर्नसक्ने पार्टी बनाउने बताए । महाधिवेशनको निर्णयलाई अस्वीकार गर्दै एउटा धक्कालाई लिएर गरेको अराजकता उपयुक्त नहुने चेतावनी दिए ।

