असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी



हाम्रो इकोनोमि

 

 बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने केही मौसमविद्हरूले पूर्वानुमान गरेका छन् । केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने भन्दै उनीहरूले पूर्वतयारी र सतर्कतामा जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडेलको अध्ययनबाट ८-१२ असोजसम्म देशभर वर्षा हुने सम्भावना देखिएको बताएका छन् ।

उनले केही मोडेलले उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी र कतिपय अवस्थामा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यद्यपि यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने उनको अनुमान छ ।

पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिन थालेपछि त्यहाँबाट आउने सुक्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको गतिलाई प्रभावित गर्न सक्छ । उनका अनुसार त्यसको सम्भावित प्रभाव नेपालतर्फ पर्न सक्ने भएकाले नेपालका केही क्षेत्रमा ठूलो वर्षा हुन सक्ने जोखिम छ ।

मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले  बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने बताएका छन् । उनका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडेलले असोज ८ देखि ११ गतेसम्मको अवस्था गम्भीर देखाइरहेका छन् ।

उपाध्यायका अनुसार असोज १० गते सबैभन्दा ठूलो जोखिम हुन सक्ने संकेत देखिएको छ । तर अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उनको भनाइ छ । अझै आशावादी छु, असोज ८–११ को सम्भावित भीषण वर्षा केही मथ्थर होला कि भनेर  उपाध्यायले फेसबुकमा लेखेका छन हाल उपलब्ध प्राय: सबै मोडेलबाट नाप्दा अवस्था भयावह देखिन्छ ।

उनले गत वर्षको उदाहरण दिँदै पूर्वानुमान गरिएको जोखिम अन्तिम अवस्थामा घट्न सक्ने सम्भावनातर्फ पनि ध्यानाकर्षण पनि गराएका छन् । उनका अनुसार २०८२ कात्तिकमा आएको ‘मोन्था’ चक्रवात भारतीय पूर्वी समुद्री तटमा शक्तिशाली रहे पनि नेपाल आइपुग्दासम्म कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भएको थियो । त्यसकारण नेपालमा अनुमान गरिएभन्दा क्षति निकै कम भएको उदाहरण रहेको उनले बताएका छन् । ‘यस्तै केही चमत्कारको आश छ उपाध्यायले लेखेका छन् ।

उनले सम्भावित जोखिमलाई लिएर सर्वसाधारणलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । नडराऔँ, नआत्तिऔँ, सजग रहौँ, हदैसम्म सावधान रहौँ, उनले भनेका छन् । उपाध्यायले असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुन सक्ने सुझाव समेत दिएका छन् । तर वर्षाको वास्तविक तीव्रता र कुन क्षेत्रमा कति प्रभाव पर्छ भन्ने कुरा अहिले नै स्पष्ट भइनसकेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...