भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी
गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५ अर्ब रुपैयाँ भन्दा बढीको दाबी परेको छ । सोमबारसम्म विभिन्न १५ वटा निर्जीवन बीमा कम्पनीहरूमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो । जुन ५८३ वटा बीमालेखको दाबी हो ।
बीमा प्राधिकरणका अनुसार रकमका आधारमा दि ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा ठूलो रकमको बीमा दाबी परेको छ । यस कम्पनीमा ८ वटा बीमालेखमार्फत १३ अर्ब ४ करोड २१ लाख रुपैयाँको दाबी परेको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीमा १२७ वटा बीमालेखमार्फत १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँको दाबी पर्दा सानिमा जीआईसी इन्स्योरेन्समा १०२ वटा दाबीमार्फत २ अर्ब १० करोड २८ लाख रुपैयाँको दाबी परेको छ ।
युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीमार्फत ४ अर्ब ९७ करोड ४८ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ वटा बीमालेखमार्फत १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, हिमालयन एभरेष्टमा ४५ वटा बीमालेखमार्फत ६४ करोड ७८ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ६६ वटा बीमालेखमार्फत ५१ करोड ७० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ वटा बीमालेखको २४ करोड २३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेका छन् । बीमा लेख अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा सबैभन्दा बढी दाबी परेको छ । यस शीर्षकमा २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी परेको छ ।
सम्पत्ति बीमाअन्र्तगत ११३ बिमितको २ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ दाबी परेको छ भने मोटर बिमाअन्तर्गत ३१३ बीमालेखको १ अर्ब ५५ करोड ९ लाख रुपैयाँ दाबी परेको छ । यस्तै, परिवहन बिमाअन्तर्गत ४७ वटा बीमालेखको ८९ करोड ७७ लाख रुपैयाँ, अन्य बिमाअन्तर्गत ५४ वटा बीमालेखको ५२ करोड ९२ लाख रुपैयाँ र स्वास्थ्य बिमाअन्तर्गत ४ वटा बीमालेखको ४ करोड १६ लाख रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ ।


