भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?



हाम्रो इकोनोमि

 

 

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंक तथा वित्तीय संस्थाहरूले करोडौँ रुपैयाँ सहयोग गरेका छन् । बाढीपछि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रकम उपलब्ध गराएका हुन् ।

हालसम्म सार्वजनिक भएका विवरणअनुसार बैंकिङ क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ गरेको छ । बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।

त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ ।

प्राइम कमर्सियल बैंकले ३ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । क्लिकमाण्डुको संकलित विवरणअनुसार बैंकको सहयोग रकम ३ करोड १० लाख रुपैयाँ रहेको छ । त्यस्तै नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

सरकारी स्वामित्वका बैंकहरू पनि राहतमा अगाडि देखिएका छन् । कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले ३/३ करोड रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी कुमारी बैंकले ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । कुमारी बैंकले नगद सहयोगबाहेक उद्धार तथा अनुगमनका लागि करिब ३९ लाख रुपैयाँ बराबरका पाँच वटा एआईयुक्त ड्रोन, तीन वटा पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंकसमेत उपलब्ध गराएको जनाएको छ । यसलाई समेत जोड्दा कुमारी बैंकको कुल सहयोग ३ करोड ३९ लाख रुपैयाँ बराबर पुगेको छ ।

हिमालयन बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो ।

त्यसैगरी, माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । बैंकले नगद सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, ओढ्ने–ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ ।

यस्तै, सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । बैंकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम प्रदान गरेको जनाएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले २ करोड ५० लाख रुपैयाँ, सानिमा बैंकले २ करोड २५ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेका छन् । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत २ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

एनआईसी एशियाको २ करोड २१ लाख रुपैयाँ सहयोगमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको २ करोड रुपैयाँ र बैंकका सञ्चालक तथा कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ समावेश छ ।

विकास बैंकतर्फ पनि उल्लेख्य सहयोग देखिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकममध्ये ५० लाख रुपैयाँ बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत र २० लाख रुपैयाँ कर्मचारीका तर्फबाट योगदान गरिएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका तर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीका तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको हो ।

कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको छ । यसमध्ये १० लाख रुपैयाँ बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत र १५ लाख रुपैयाँ कर्मचारीको एक दिनको तलबबाट संकलन गरी सहयोग गरिएको हो ।

यसैगरी, आरएसडीसी लघुवित्तले ५ लाख रुपैयाँ सहयोग गरेको विवरण सार्वजनिक भएको छ ।

यसरी हेर्दा भोटेकोशी बाढीपछि बैंक तथा वित्तीय संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत तथा पुनःस्थापनाका लागि ठूलो रकम परिचालन गरेका छन् । केही संस्थाले नगद रकमसँगै राहत सामग्री, उद्धार उपकरण तथा कर्मचारीको तलबसमेत योगदान गरेका छन् ।

बैंकिङ क्षेत्रको यो सहभागिताले विपद्को समयमा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्वको भूमिकालाई थप प्रस्ट पारेको छ ।यद्यपि, विभिन्न बैंकले सहयोग घोषणा गरेको समय र रकम हस्तान्तरण गरेको समय फरक रहेकाले सार्वजनिक स्रोतहरूमा केही रकममा अन्तरसमेत देखिन्छ । त्यसैले माथिको विवरण हालसम्म सार्वजनिक रूपमा पुष्टि भएका रकमका आधारमा तयार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...