नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता



हाम्रो इकोनोमि

 

 

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ ।

साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ६ दिने एक्स्पोको अन्तिम दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेको नाइमाले जनाएको छ । नाइमाका अनुसार उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौँ दिन ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । नाइमाले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको थियो । तर अपेक्षाभन्दा ३० हजारभन्दा बढी मानिस एक्स्पोमा पुगेका हुन् ।

५५ भन्दा बढी ब्रान्ड, ५३ नयाँ उत्पादन

नाइमा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता र ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु एक्स्पोको प्रमुख उपलब्धि भएको बताइन् ।

उनका अनुसार एक्स्पोलाई नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनमा मात्र सीमित नगरी ज्ञान तथा सिकाइको प्लेटफर्मका रूपमा विकास गर्ने प्रयास गरिएको थियो । ‘यो अन्त्य होइन, सुरुवात हो’ भन्दै अध्यक्ष वैद्यले आगामी दिनमा अझ ठूलो र बलियो एक्स्पो आयोजना गर्ने लक्ष्य रहेको बताइन् ।

अपेक्षाभन्दा बढी बुकिङ र इन्क्वायरी

एक्स्पोको अवलोकनकर्ताको संख्या मात्र नभई सवारीसाधनप्रतिको ग्राहकको चासो र बुकिङसमेत अपेक्षाभन्दा राम्रो भएको आयोजकको दाबी छ । अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले सोचेभन्दा धेरै मानिसले एक्स्पो अवलोकन गरेको र इन्क्वायरी तथा बुकिङ पनि अपेक्षाभन्दा राम्रो भएको बताए ।

नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले पनि ठूलो संख्यामा मानिसको सहभागितालाई अटोमोबाइल उद्योगका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरे । नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई ‘सुपरहिट’ भएको बताए ।

सवारीसाधन प्रदर्शनसँगै बहस र संवाद

यसपटकको एक्स्पोलाई सवारीसाधन प्रदर्शनमा मात्र सीमित नगरी विभिन्न विषयमा छलफल तथा अन्तरक्रियासमेत आयोजना गरिएको थियो ।

समापनका दिन नाइमा मोबिलिटी संवाद आयोजना गरिएको थियो । उक्त संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमाका बोर्ड सदस्य एवं पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाइँ र थापाथली इन्जिनियरिङ क्याम्पसका एसिस्टेन्ट प्रोफेसर लोचनकेन्द्र देवकोटा सहभागी थिए ।

एक्स्पो अवधिभर एआई तथा अटोमोटिभ प्रविधि, ब्याट्री रिसाइकल, इथानोल ब्लेन्डिङ, वित्त तथा बीमा, मोबिलिटीको वर्तमान र भविष्य, लगानी तथा प्रत्यक्ष वैदेशिक लगानीलगायत विषयमा छलफल गरिएको थियो ।

दिगो र प्रविधिमैत्री यातायातमा जोड

नाइमाका अनुसार नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले एक्स्पोको दोस्रो संस्करण आयोजना गरिएको हो । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिइएको बताए । उनका अनुसार अवलोकनकर्ताको सन्तुष्टि नै एक्स्पोको सफलताको प्रमुख मापक हो । यसपटकको एक्स्पोमा विभिन्न बैंक, बीमा कम्पनी, प्रविधि तथा चार्जिङ कम्पनी, शैक्षिक संस्था, राइड सेयरिङ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका संस्थाहरूको समेत साझेदारी रहेको थियो ।

नाइमाले ठूलो संख्यामा अवलोकनकर्ता र नयाँ उत्पादनप्रति देखिएको चासोले नेपालको अटोमोबाइल तथा मोबिलिटी बजारप्रति ग्राहकको रुचि अझै बलियो रहेको देखाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...