नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण



हाम्रो इकोनोमि

 

 भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन हाइब्रिड र कनेक्टेड-कार प्रविधियुक्त सवारीसाधन मुख्य आकर्षण बनेका छन् ।आयोजकका अनुसार एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ मोडेल तथा उत्पादन सार्वजनिक वा प्रदर्शनमा राखिएका थिए ।

एक्स्पोमा आएका गाडीमा मोबाइल एप, फास्ट चार्जिङ, लामो रेन्ज, भ्वाइस कन्ट्रोल, ३६० डिग्री क्यामरा, एडीएएस (एड्भान्स ड्राइभिङ एसिस्टेन्ट सिस्टम) र भीटुएल (भेइकल टु लोड) जस्ता प्रविधि देखिएका थिए । यसपालि नाइमा अटो शोमा नयाँ प्रविधि सहित विभिन्न ब्रान्डका गाडी प्रदर्शनमा राखिएका छन् । यी लक्जरीदेखि आकर्षक प्रविधि देखिएका गाडीमा ग्राहकको भिडभाड थियो ।

निसान टेकटन : मोबाइलबाटै गाडी स्टार्ट र एसी नियन्त्रण

निसान टेकटन नाइमा एक्स्पोमा सार्वजनिक गरिएको नयाँ एसयूभी हो । कम्पनीका अनुसार टेकटनमा मोबाइल एपमार्फत ५५ भन्दा बढी कनेक्टेड-कार सुविधा प्रयोग गर्न सकिन्छ । मोबाइलबाटै गाडी स्टार्ट गर्न, एसी चलाउन, ढोका लक तथा अनलक गर्न, हेडलाइट र हर्न नियन्त्रण गर्न तथा गाडीको अवस्था जाँच गर्न सकिन्छ । पार्किङ गरेको स्थान पत्ता लगाउने ‘फाइन्ड माइ कार’ सुविधा पनि यसमा छ ।

टेकटनमा १.० लिटर र १.३ लिटर टर्बो पेट्रोल इन्जिनका विकल्प छन् । १.० लिटर इन्जिनले १०० पीएस शक्ति र १६६ एनएम टर्क उत्पादन गर्छ भने १.३ लिटर इन्जिनले १६३ पीएस शक्ति र २८० एनएम टर्क उत्पादन गर्छ ।

यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, वायरलेस फोन चार्जिङ, भेन्टिलेटेड सिट, पानारोमिक सनरुफ, ६ वटा एयरब्याग र लेभल-२ एडीएएस छन् । यसको मूल्य ५१ लाख २९ हजारदेखि ८३ लाख ५९ हजार रुपैयाँसम्म पर्छ ।

चेरी क्यु : ५४० डिग्री क्यामरा भएको ईभी

चेरी क्यु सहरमा चलाउन लक्षित विद्युतीय क्रसओभर हो । यसमा ४१.२ किलोवाट-आवरको एलएफपी ब्याट्री र ९० किलोवाटको रियर-ह्विल ड्राइभ मोटर छ ।

कम्पनीका अनुसार चेरी क्युले एनईडीसी (न्यु युरोपियन ड्राइभिङ साइकल) परीक्षण अनुसार एक पटक चार्ज गर्दा ४ सय किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी छ ।

यसमा १५.६ इन्चको टचस्क्रिन, २० भन्दा बढी एडीएएस फिचर र ५४० डिग्री सराउन्ड-भ्यु क्यामरा छन् । यो क्यामराले गाडीको वरिपरिका साथै तलको भागसमेत देखाउन सहयोग गर्छ ।

चेरी क्युमा भीटुएल सुविधा पनि छ, जसबाट गाडीको ब्याट्री प्रयोग गरी बाहिरी विद्युतीय उपकरण चलाउन सकिन्छ । अगाडि ७० लिटरको फ्रंक र पछाडि ३ सय ७५ लिटरको बुट छ । यसको नाइमा विशेष अफर ३० लाख ९९ हजारदेखि ३२ लाख ९९ हजार रुपैयाँसम्म छ ।

आर्कफक्स टी१ : सानो ईभीमा भ्वाइस कन्ट्रोल

बीएआईसी समूहको विद्युतीय ब्रान्ड आर्कफक्सले टी१ मोडेल नेपालमा सार्वजनिक गरेको छ । यसमा ४१.२ किलोवाट-आवरको ब्याट्री र ९० किलोवाटको रियर मोटर छ । कम्पनीका अनुसार यसको रेन्ज ४ सय २५ किलोमिटरसम्म छ ।

आर्कफक्स टी१ मा १५.६ इन्चको एचडी टचस्क्रिन, ६ वटा स्पिकर, भ्वाइस कन्ट्रोल, एप्पल कारप्ले र इजिलिंक कनेक्टिभिटी छन् । यसमा अगाडि तथा पछाडिको पार्किङ सेन्सर, इलेक्ट्रिक पार्किङ ब्रेक, अटोमेटिक पार्किङ, क्रुज कन्ट्रोल र लेन डिपार्चर वार्निङजस्ता सुविधा पनि छन् । यसको नाइमा विशेष अफरमा ३२ लाख ९६ हजार रुपैयाँदेखि सुरु हुन्छ ।

टाटा पन्च ईभी फेसलिफ्ट : कनेक्टेड कार र भ्वाइस सनरुफ

टाटा पन्च ईभी फेसलिफ्टमा ३० किलोवाट-आवर र ४० किलोवाट-आवर ब्याट्री विकल्प छन् । कम्पनीका अनुसार ४० किलोवाट-आवर संस्करणले एआरएआई (अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया) परीक्षण अनुसार ४ सय ६८ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसमा ६५ किलोवाट डीसी फास्ट चार्जिङ सुविधा छ ।

 

गाडीमा १०.२५ इन्चको टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, कनेक्टेड-कार प्रविधि र ३६० डिग्री क्यामरा छन् । भ्वाइसबाट खोल्न सकिने सनरुफ, ६ एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल-होल्ड र टायर प्रेसर निगरानी पनि यसमा राखिएका छन् ।

प्रोटोन ई.मास ५ : स्मार्ट स्टोरेज र भीटुएल

प्रोटोन ई.मास ५ मा ७० लिटरको अगाडिको फ्रंक, सिटमुनि २८ लिटर र सेन्टर कन्सोलमुनि २० लिटरको अतिरिक्त स्टोरेज छ । पछाडिको बुट ३ सय ७५ लिटरको छ । यसमा १४.६ इन्चको फुल एचडी डिस्प्ले, रियर मल्टिलिंक इन्डिपेन्डेन्ट सस्पेन्सन, जिट्राक ट्र्याक्सन कन्ट्रोल र भीटुएल सुविधा छन् ।

प्रिमियम भेरिएन्टमा ८५ किलोवाटको ११-इन-१ इलेक्ट्रिक मोटर, पावर्ड टेलगेट र ३६० डिग्री क्यामरा उपलब्ध छन् ।

हुन्डाई भेन्यु : नेपालमै एसेम्बल भएको पहिलो लेभल-२ एडीएएस मोडेल

नयाँ पुस्ताको हुन्डाई भेन्यु नेपालमै एसेम्बल भएर नाइमा एक्स्पोमा सार्वजनिक भएको हो । कम्पनीका अनुसार नेपालमा भेन्युमा पहिलो पटक लेभल-२ एडीएएस उपलब्ध गराइएको छ । यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, फर्वार्ड कोलिजन एभोइडेन्स र लेन किपिङ एसिस्ट छन् ।

यस अतिरिक्त ३६० डिग्री क्यामरा, अगाडिको पार्किङ सेन्सर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, भेन्टिलेटेड सिट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट उपलब्ध छन् ।

हुन्डाई भेन्यु एन लाइन : स्पोर्टी डिजाइन सहित एडीएएस

भेन्यु एन लाइन भेन्युको स्पोर्टी संस्करण हो । यसको बाहिरी डिजाइन र इन्टेरियरमा एन लाइन अनुसार विशेष परिवर्तन गरिएका छन् । यसमा भेन्युका लेभल-२ एडीएएस, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्ट, फर्वार्ड कोलिजन एभोइडेन्स र ३६० डिग्री क्यामरा छन् । स्पोर्टी डिजाइनसँगै इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड र डिजिटल इन्फोटेनमेन्ट यसका मुख्य सुविधा हुन् ।

बीएआईसी बीजे३०ई : हाइब्रिडमा भीटुएल

बीएआईसी बीजे३०ई पाँच सिटे हाइब्रिड एसयूभी हो । यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग दुई वटा इलेक्ट्रिक मोटर जोडिएका छन् । कम्पनीका अनुसार अल-ह्विल ड्राइभ संस्करणले ४०९ एचपी शक्ति र ६८५ एनएम टर्क उत्पादन गर्छ ।

यसमा २१५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले र फोल्ड गर्न मिल्ने पछाडिका सिट छन् । क्याम्पिङ वा बाहिरी गतिविधिका लागि गाडीको ब्याट्रीबाट विद्युत् दिन सकिने भीटुएल सुविधा पनि यसमा छ । यसको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

डेन्जा बी५ : लक्जरी प्लग-इन हाइब्रिड

डेन्जा बी५ प्लग-इन हाइब्रिड एसयूभी हो । यसमा पेट्रोल इन्जिनसँग दुई वटा इलेक्ट्रिक मोटर र अल-ह्विल ड्राइभ प्रणाली छ । कम्पनीका अनुसार यसले ४२५ किलोवाट संयुक्त शक्ति र ७६० एनएम टर्क उत्पादन गर्छ । यसमा बीवाईडी ब्लेड ब्याट्री, १०० किलोवाट डीसी फास्ट चार्जिङ, एडाप्टिभ सस्पेन्सन, पानारोमिक रुफ, मसाजिङ सिट, प्रिमियम साउन्ड सिस्टम र बिल्ट-इन रेफ्रिजेरेटर छन् ।

एमजी एचएस हाइब्रिड : दुई प्रकारका हाइब्रिड विकल्प

एमजी एचएस हाइब्रिड पेट्रोल र इलेक्ट्रिक मोटरको संयुक्त प्रणालीमा चल्ने एसयूभी हो । यसको प्लग-इन संस्करणलाई वाह्य चार्जरबाट चार्ज गर्न सकिन्छ । यसमा १९ इन्च एलोय ह्विल, हिटेड लेदरेट सिट, ३६० डिग्री क्यामरा र की-लेस इन्ट्री छन् । नाइमा एक्स्पो अवधिमा ग्राहकलाई ३ लाख रुपैयाँ छुट दिने योजना पनि सार्वजनिक गरिएको छ ।

बीवाईडी एट्टो सिरिज : ब्लेड ब्याट्री र मोबाइल एप

बीवाईडीले नाइमा एक्स्पोमा एट्टो १, एट्टो २ र एट्टो ३ का नयाँ तथा फेसलिफ्ट संस्करण प्रदर्शन गरेको छ । एट्टो १ सानो सहरिया ईभी, एट्टो २ कम्प्याक्ट एसयूभी र एट्टो ३ ठूलो विद्युतीय एसयूभी हो ।

यी मोडेलमा ब्लेड ब्याट्री, मोबाइल एप, डिजिटल इन्फोटेनमेन्ट र डीसी फास्ट चार्जिङ छन् । मोबाइल एपबाट ब्याट्री प्रतिशत, चार्जिङ अवस्था र गाडीको केही जानकारी हेर्न सकिन्छ । एडीएएस, ३६० डिग्री क्यामरा र भीटुएल भने भेरिएन्ट अनुसार फरक हुन सक्छन् ।

किया साइरोस ईभी : ९५ भन्दा बढी कनेक्टेड फिचर

किया साइरोस ईभीमा ४२ किलोवाट-आवरको ब्याट्री र १७१ पीएसको इलेक्ट्रिक मोटर छ । कम्पनीका अनुसार यसको रेन्ज ४ सय ४३ किलोमिटरसम्म छ । १०० किलोवाट डीसी फास्ट चार्जिङबाट ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ३९ मिनेटमा चार्ज गर्न सकिन्छ ।

यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, रियर एसी भेन्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक र रिजेनेरेटिभ ब्रेकिङका लागि प्याडल सिफ्टर छन् । उच्च भेरिएन्टमा किया कनेक्ट २.० अन्तर्गत ९५ भन्दा बढी कनेक्टेड फिचर, ओभर-द-एयर सफ्टवेयर अपडेट, वायरलेस चार्जिङ, स्मार्ट ड्यासक्याम, ३६० डिग्री क्यामरा, भीटुएल र लेभल-२ एडीएएस उपलब्ध छन् । यसको बुकिङ मूल्य ३५ लाख ९० हजार रुपैयाँबाट सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...