जोखिमयुक्त बस्तीका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न चाँगुनारायण नगरप्रमुख खत्रीको अपिल
मनसुन सक्रिय भइरहेका बेला भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले नगरवासीलाई उच्च सतर्कता अपनाउन विशेष अपिल गरेका छन् । सम्भावित वर्षाजन्य विपद्बबाट जनधनको क्षति न्यूनीकरण गर्न जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
नगरप्रमुख खत्रीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को अनुरोधलाई विशेष ध्यान दिँदै परिस्थिति गम्भीर बनेमा आवश्यकताअनुसार सवारी आवागमनसमेत रोक्न वा रोक्न लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । उनले जारी गरेको अपिलमा भनिएको छ, “आज दिउँसो र राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउनु हुन अनुरोध गर्दछु । परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्नु–गराउनु तथा उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नु–गराउनु हुन अनुरोध छ ।
लगातारको वर्षाले खोला तथा नदीमा पानीको बहाव बढ्नुका साथै सडक अवरुद्ध, डुबान, पहिरो, भू–क्षय तथा कमजोर संरचना भत्किने जोखिम बढाउन सक्छ । विशेषगरी खोला तथा खोल्साको आसपास, भिरालो भू–भाग, पहिरोको सम्भावना भएका क्षेत्र तथा कमजोर संरचना भएका घरमा बसोबास गर्ने नागरिक थप सचेत हुनुपर्ने देखिन्छ । वर्षाको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कने, जोखिमयुक्त सडक तथा खोल्सा पार नगर्ने, सवारीसाधन चलाउँदा मौसम र सडकको अवस्थालाई प्राथमिकता दिने तथा स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने सूचनालाई तत्काल पालना गर्नु नागरिक सुरक्षाका दृष्टिले महत्वपूर्ण हुन्छ । नगरप्रमुख खत्रीको अपिलको महत्वपूर्ण पक्ष भनेको “विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण” गर्ने विषय हो । विपद् सुरु भएपछि उद्धारमा निर्भर रहनुभन्दा जोखिमको पूर्वानुमान गरी समयमै सुरक्षित स्थानमा सर्नु नै प्रभावकारी विपद् व्यवस्थापनको आधार हो । यसले नगरपालिकाको विपद् व्यवस्थापनलाई केवल उद्धार र राहतमा सीमित नराखी पूर्वतयारी, पूर्वसूचना र जोखिम न्यूनीकरणमा केन्द्रित गर्न खोजिएको संकेत गर्छ ।
जोखिममा रहेका नागरिकको अवस्थाप्रति स्थानीय सरकारको प्रत्यक्ष चासो र जिम्मेवारीबोधका रूपमा पनि नगरप्रमुखको यो अपिललाई लिन सकिन्छ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले विपद्का बेला जनताको सुरक्षा सुनिश्चित गर्नु उसको प्रमुख दायित्व हो । वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरप्रमुख स्वयंले सार्वजनिक अपिलमार्फत नागरिकलाई सचेत गराउनु र जोखिमयुक्त परिवारलाई समयमै सुरक्षित स्थानमा सार्न जोड दिनु सकारात्मक पहल हो । तर अपिलसँगै अब जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग, उद्धार टोलीको तयारी, सुरक्षित आश्रयस्थलको व्यवस्थापन, सडक तथा खोला–खोल्साको नियमित निगरानी र स्थानीय तहबीच समन्वयलाई पनि व्यवहारमै प्रभावकारी बनाउन आवश्यक छ ।
सम्भावित विपद् रोक्न नसकिए पनि पूर्वतयारीबाट यसको मानवीय र भौतिक क्षति भने उल्लेख्य रूपमा घटाउन सकिन्छ । त्यसैले चाँगुनारायण नगरपालिकाका नागरिकले पनि नगरप्रमुखको अपिललाई सामान्य सूचना मात्र नभई सम्भावित जोखिमबाट सुरक्षित रहने पूर्वचेतावनीका रूपमा ग्रहण गर्दै आफू, आफ्नो परिवार र समुदायको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ ।

