सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा शुरु गर्न निर्देशन दिनुभएको छ । पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ शुरु गरिएको यस अभियानलाई सफल पार्न पार्टी कमिटी मात्र नभई जनसंगठनहरु पनि परिचालन गर्ने योजना बनाइएकाले सोही अनुसार परिचालित हुन आग्रह गर्नुभयो । पार्टी जागरण अभियान यतिबेला जिल्ला कमिटीहरुका बैठक गरी कार्यक्रम बनाई अगाडि बढाइँदै छ । पार्टीले पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ ।

महासचिव पोखरेलले पार्टी विस्तारको दायरा फराकिलो बनाउन र वर्ग, समुदाय र पेशागत क्षेत्र समेटेर जागरण अभियान सम्पन्न गर्न सुझाउनुभयो । पार्टी सुदृढ बनाउन विचार, संगठन र नेतृत्वमा पुनर्गठन आवश्यक हुने सन्दर्भमा आफ्नो भनाइ राख्दै उहाँले पार्टी सुदृढ बनाउन विचारधाराको महत्वपूर्ण भूमिका हुने हुँदा जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउँदै आएको स्मरण गराउनुभयो ।

त्यसैगरी महासचिव पोखरेलले संगठनात्मक पुनर्गठनको काम तलैदेखि गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका स्थानीय कमिटीहरु चलायमान बनाउने कुरामा ध्यान दिनु जरुरी रहेको र त्यसका लागि कमिटीहरु पुनर्गठन, कमिटीमा रिक्त रहेका स्थान पूर्ति लगायतका काम गर्न उहाँले निर्देशन दिनुभयो ।

पार्टीमा युवा सहभागिता बृद्धिका लागि विगतमा युवा परिचालन, युवाको नेतृत्व विकास, युवालाई कमिटीमा आरक्षण लगायत नीति अगाडि सारिएको तर व्यवहारमा लागू हुन नसकेको औल्याउँदै महासचिव पोखरेलले पार्टी जागरण अभियान पनि निर्देशन नै निर्देशनमा समय नगुज्रियोस् भन्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाएर सुधार र रुपान्तरण गरिने र त्यो काम संस्थागत निर्णयबाट हुने प्रष्ट पार्नुभयो । पार्टी सदस्यता नवीकरणको कामलाई सफल बनाउन आग्रह गर्दै समस्या भए पार्टी केन्द्रबाट थप सहजीकरण हुने उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी गराउँदै शासकीय अनुभव नभएका मानिसहरु सरकारमा पुगेकाले देश यतिबेला सङ्कटको अवस्थामा गुज्रिरहेको र विभिन्न स्वार्थसमूहहरुले आफ्नो सक्रियता बढाइरहेको बताउनुभयो ।

उहाँले सरकार शुरुदेखि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले अगाडि बढेको र यतिबेला नियम कानुन लत्याएर स्वेच्छाचारी शासन व्यवस्थातिर उन्मुख रहेकाले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुँदा तयार हुन पनि मातहत कमिटीलाई निर्देशन दिनुभयो । भर्चुअल बैठकमा पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी सदस्यता नवीकरणको प्रारम्भिक रिपोर्टबारे जानकारी गराउँदै नवीकरणको काम उत्साहप्रद रहेको बताउनुभयो ।

उहाँले सदस्यता नवीकरणको समयसीमा असार मसान्तसम्म रहे पनि यो पार्टी कामको महत्वपूर्ण पाटो भएकाले यस कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । बैठकमा प्रदेश अध्यक्षहरुले मिसन पार्टी जागरण अभियान, पार्टी सदस्यता नवीकरण लगायत विषयमा रिपोर्टिङ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...