सरकारको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब पुग्यो



हाम्रो इकोनोमि

 

 

 सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा  ४ खर्ब ४७ अर्ब १६ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण परिचालन गरेको छ । लक्ष्य अनुसार आन्तरिक राजस्व नउठ्नु र राजस्वबाट मुस्किलले चालु खर्चमात्र धान्न सक्ने अवस्थाबीच सरकारले सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी र पूँजीगत खर्चका लागि पुन: ऋण दिनुपर्ने बाध्यता छ ।

गत वर्ष सरकारले ८८ अर्ब ५० करोड वाह्य ऋण परिचालन गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यस आवमा आन्तरिक ऋण ३ खर्ब ५८ अर्ब ६६ करोड उठाइएको छ ।

यससँगै नेपाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड पुगेको छ । अघिल्लो आव २०८१/८२ असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण गत आवमा विनिमय दरमा भएको नोक्सानी सहित ३ खर्ब ८५ करोड खुद वृद्धि भएको छ ।

नेपालको सार्वजनिक ऋणमा वाह्य ऋण हिस्सा ५३.७७ प्रतिशत (१५ खर्ब ९९ अर्ब ४८ करोड) र आन्तरिक ऋण हिस्सा ४५.०७ प्रतिशत (१३ खर्ब ७५ अर्ब रुपैयाँ) कायम भएको छ । यस वर्ष अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा वाह्य ऋणमा १ खर्ब ६७ अर्ब रुपैयाँ बराबर अतिरिक्त भार थप भएको छ ।

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ४५.०७ प्रतिशत सार्वजनिक ऋण पुगेको छ । यसमध्ये वाह्य ऋण जीडीपीको २४.२३ प्रतिशत र आन्तरिक ऋण २०.८५ प्रतिशत छ । अर्थतन्त्र सही दिशामा भएका बेला जीडीपीको यस अनुपातमा रहेको सार्वजनिक ऋणलाई ठूलो जोखिम मानिँदैन ।

तर, आन्तरिक स्रोतले साँवाब्याज भुक्तानी गर्न नसक्ने, ऋण लगानीमा अगाडि बढेका आयोजनाले उचित प्रतिफल नदिने अवस्थाका कारण नेपालले परिचालन गरिरहेको सार्वजनिक ऋणको स्थायित्वमा भने धेरै प्रश्न उठेका छन् ।

गत आव सरकारले ५ खर्ब ९५ अर्ब ६६ करोड बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । असार मसान्तसम्म ४ खर्ब ४७ अर्ब १८ करोड परिचालन गरिएको छ । यो वार्षिक लक्ष्यको ७५.०७ प्रतिशत हो । जसमध्ये आन्तरिक ऋण लक्ष्यको ९९.०८ प्रतिशत उठेको छ ।

वाह्य ऋण परिचालनमा भने सरकारको प्रदर्शन कमजोर छ । वाह्य ऋण ३७.८८ प्रतिशतमात्र उठेको छ । यस वर्ष आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब उठाउने लक्ष्य राखिएको थियो । संकलन ३ खर्ब ५८ अर्ब बराबर भएको छ ।

वाह्य ऋण २ खर्ब ३३ अर्ब रुपैयाँ उठाउने लक्ष्य थियो । परिचालन भने ८८ अर्ब ५० करोडमात्र भएको छ । नेपालमा सामान्यतया वाह्य ऋण परिचालन विकास आयोजना र पूँजीगत खर्चमा हुने गरेको छ । पूँजीगत खर्च कम हुनु र विकास आयोजनाले गति लिन नसक्दा वाह्य ऋण परिचालन समेत कमजोर बनेको छ । अघिल्लो आवको तुलनामा गत आवमा ११.२५ प्रतिशतले सार्वजनिक ऋण वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...