चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु



हाम्रो इकोनोमि

 

 

 इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत नेपाल आयल निगमले चितवन लोथरमा देशकै हालसम्मकै ठूलो पेट्रोलियम भण्डारण गृह निर्माण कार्य औपचारिक रूपमा अघि बढाएको छ ।

अमलेखगञ्जदेखि चितवनसम्म पाइपलाइन विस्तार गर्ने र लोथरमा विशाल भण्डारण ट्यांक बनाउने नेपाल–भारतबीच ‘जीटुजी’ (सरकार–सरकार) सम्झौता अनुसार निगमले पहिलो चरणणको प्रारम्भिक काम सुरु गरेको हो । बुधबार निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले राप्ती नगरपालिकास्थित लोथरमा ‘भूमि पूजा’ गर्दै पहिलो चरणको कामको शिलान्यास गरे ।

‘खुला प्रतिस्पर्धाबाट निर्माण कम्पनी छनोट गरी हामीले यो रणनीतिक महत्त्वको परियोजनाको पहिलो चरणको काम अघि बढाएका छौं शिलान्यास क्रममा निगमका निमित्त कार्यकारी निर्देशक बरालले भने  यो प्रारम्भिक चरणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई १२ महिनाको समयसीमा तोकिएको छ ।

निगमका अनुसार २५ बिघा ७ धुर क्षेत्रफलमा फैलिएको यस आयोजनाको प्रारम्भिक चरणमा जग्गालाई निर्माणयोग्य बनाउने काम हुनेछ ।  जसमा जग्गा सम्याउने, आवश्यकता अनुसार ३ देखि १२ फिटसम्म माटो भर्ने, त्यहाँ रहेको क्यानललाई अन्यत्र सार्ने र सुरक्षाका लागि चारैतिर ११ फिट अग्लो पक्की (कंक्रिट) पर्खाल लगाइने छ ।

यो कामका लागि निगमले खुला प्रतिस्पर्धाबाट  मोतीधन–डीएस जेभी’लाई ७९ करोड ५४ लाख रुपैयाँमा ठेक्का दिएको छ । यद्यपि, ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न १२ महिनाको समयसीमा तोकिएको छ, तर निगम नेतृत्वले भने आयोजनालाई  फास्ट ट्रयक’ मा सक्ने रणनीति लिएको छ ।

आयोजना प्रमुख समेत रहेका निगमका उपनिर्देशक प्रदीप यादवले तोकिएको समयभन्दा अगावै जग्गा तयार पारेर भारतीय पक्ष (आईओसी) लाई हस्तान्तरण गरिने दाबी गरे । हामीले निर्माण कम्पनीलाई रातदिन नभनी तत्काल कामलाई तीव्रता दिन निर्देशन दिइसकेका छौं, उपनिर्देशक यादवले भने, हाम्रो लक्ष्य ६ देखि ९ महिनाभित्रै जग्गाको सम्पूर्ण पूर्वतयारी सकेर आईओसीलाई जिम्मा दिने हो ।

 

 

निगमले पहिलो चरणको काम थाल्दै गर्दा उता आईओसीले पनि दोस्रो चरण (मुख्य भण्डारण गृह र पाइपलाइन निर्माण) को कामलाई गति दिएको छ । आईओसीले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी ग्लोबल टेन्डर प्रक्रिया समेत अघि बढाइसकेको निगमले जनाएको छ ।

सम्झौता अनुसार बारा अमलेखगञ्जदेखि चितवन लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याइने छ । पाइपलाइन निर्माणमा लाग्ने करिब ४ अर्ब २८ करोड ८० लाख रुपैयाँ (प्रारम्भिक अनुमान) आईओसीले नै अनुदान स्वरूप बेहोर्ने छ ।

यता, भण्डारण गृह निर्माणमा लाग्ने अनुमानित ९ अर्ब ८० करोड रुपैयाँ भने आयल निगमले आईओसीलाई उपलब्ध गराउने छ र आईओसीले आफ्नै प्राविधिक निगरानीमा ठेक्कामार्फत संरचना तयार पार्ने छ ।

यो परियोजना सम्पन्न भएपछि लोथरमा एकै पटक ९१ हजार ९ सय किलोलिटर इन्धन सञ्चित गर्न सकिने छ, जसले बागमती सहित आसपासका प्रदेशको इन्धन मागलाई लामो समयसम्म धान्ने छ ।

निगमको डिजाइन अनुसार यहाँ सबैभन्दा धेरै ४६ हजार ५ सय किलोलिटर क्षमताको डिजेल भण्डारण ट्यांक बन्ने छ । त्यसैगरी ३३ हजार किलोलिटर पेट्रोल, १० हजार ८ सय किलोलिटर हवाई इन्धन र १ हजार ६ सय किलोलिटर मट्टीतेल भण्डारण गर्न मिल्ने अत्याधुनिक ट्यांकहरू निर्माण हुनेछन् ।

अमलेखगञ्जबाट लोथरसम्म आउने पाइपलाइन १०.७५ इन्च ब्यासको हुनेछ । यसबाट प्रतिघण्टा २ सय ७३ किलोलिटरको गतिमा सिधै चितवनको भण्डारण गृहमा इन्धन झर्ने छ । यसले ट्यांकर मार्फत हुने ढुवानी खर्च जोगाउनुका साथै प्राविधिक नोक्सानी, चुहावट र मिसावटलाई पूर्णरूपमा अन्त्य गर्ने निगमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...