नागरिकता र लालपुर्जा माग्दै माइतीघरमा धर्ना बस्ने सुस्ताबासीको तयारी



हाम्रो इकोनोमि

 

 

भारतीय सीमावर्ति क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै काठमाडौं आएका छन् । उनीहरू आजदेखि माइतीघरमा धर्ना दिने तयारी साथ सामल लिएर सरकारलाई घचघच्याउन राजधानी आइपुगेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहको सीमाबारे संसदमा विवादास्पद भनाइपछि भारतीयबाट आफूहरू थप पेलिन थालेको उनीहरूको गुनासो छ । आइतबार बुटवलमा ‘सुस्ता बचाउ अभियान’ र ‘सुस्ता बचाउ युवा अभियानले संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै उनीहरूले सरकारको उपेक्षाविरुद्ध निर्णायक संघर्षमा उत्रिन बाध्य भएको बताएका थिए ।

आफ्ना पीडा बताउन पटक(पटक प्रधानमन्त्रीको सचिवालयमा अनुरोध गरे पनि समय नदिइएको उनीहरूको भनाइ छ । सीमाको रक्षा गर्दै जीवन बिताएका धेरै सुस्तावासी अझै नागरिकताबाट वञ्चित छन् । सुस्ता ५ मा मात्र करिब १२० घरपरिवार अहिले पनि नागरिकताविहीन अवस्थामा रहेका छन् ।

सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँ (आदम हुसेन) ले सुस्ताको समस्या केवल नागरिकताको मात्र नभई सीमा सुरक्षा, भूमि स्वामित्व र राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय भएको बताए । यी समस्याको स्थायी समाधान कूटनीतिक र राजनीतिक तहबाट खोजिनुपर्ने उनको भनाइ छ । गत जेठ २९ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूभागमा प्रवेश गरी स्थानीय बासिन्दालाई त्रसित बनाएको भन्दै उनले आफूहरूमा थप अन्योल र असुरक्षा बढेको बताएका छन् । सीमाजस्तो संवेदनशील विषयमा आधिकारिक तथ्य र अभिलेख अध्ययन नगरी सार्वजनिक टिप्पणी नगर्न प्रधानमन्त्रीसहित सरकारका उच्च पदाधिकारीलाई आग्रह गर्दै उनले त्यसले स्थानीय बासिन्दामा नकारात्मक असर पारेको बताए । नारायणीको कटान रोक्न सुस्तामा निर्माण गर्न लागिएको १३२ मिटर लामो ग्याबियन तटबन्ध भारतीय पक्षबाट अवरोध गरिएको छ ।

सरकारी अभिलेखअनुसार सुस्ता क्षेत्रमा करिब ४० हजार ९८० हेक्टर नेपाली भूमि रहेको छ । तर, स्थानीयवासीले अहिले करिब ७ हजार हेक्टर क्षेत्रफल मात्र उपभोग गर्न पाएका छन् । बाँकी भूभाग भारतीय सुरक्षा निकायको नियन्त्रण तथा विवादको घेरामा परेको अभियन्ताहरूको दाबी छ । आफूहरूलाई तत्काल नागरिकता वितरण गर्न, भोगचलनमा रहेको जग्गाको नापजाँच गरी लालपुर्जा उपलब्ध गराउन, सीमा सुरक्षालाई थप सुदृढ बनाउन तथा शिक्षा, स्वास्थ्य, सडक र सञ्चारजस्ता आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ । सुस्ताबासीले वर्षौँदेखि आश्वासन मात्रै पाएको तर व्यवहारमा कुनै परिवर्तन नदेखिएको बताएका छन् ।

 

      

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...