एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा
नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन् । प्रदेश कमिटीले शनिबार धनगढीमा आयोजना गरेको कार्यक्रममा जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो हिस्साले नेतृत्वदेखि संगठनसम्म पुनर्गठन गर्नुपर्ने धारणा राखेका हुन् ।
पार्टी केन्द्रका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको कार्यक्रम करिब १३ घण्टा चलेको थियो ।
सुझाव संकलन कार्यक्रमअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्दै नेताहरूलाई आफ्नो धारणा निर्धक्क राख्न आग्रह गरेका थिए । सो क्रममा ओलीले अन्यत्र जस्तै ‘विभिन्न खालका मानसिकता’ बोकेर पुगेका नेताहरुलाई धेरै महत्व दिन जरुरी नभएको भन्दै आफ्ना कुरा ढुक्कले राख्न भनेका थिए । तर, ओलीको उक्त निर्देशनअनुसारकै राय दिने नेताको संख्या न्यून देखिएको कार्यक्रममा सहभागी एक नेताले बताए ।
उहाँ(अध्यक्ष)ले अन्य प्रदेशमा जस्तै त्यहाँ पनि केही व्यक्तिहरु विभिन्न नाममा आएका छन् । उनीहरुलाई धेरै महत्व दिन जरुरी छैन भन्दै सम्बोधन गर्नुभएको थियो,’ ती नेताले भने, आफ्नो कुरा निर्धक्क राख्नुहोला भन्नुुभयो तर, उहाँको निर्देशनभन्दा ठीक उल्टो नेताहरु पार्टी पुनर्गठनको पक्षमा उभिनुभएको छ ।
कार्यक्रममा सहभागी सबै जिल्ला र प्रदेशका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पालैपालो धारणा राखेका थिए । बैठकमा डडेल्धुरा बाहेक सबै(८) जिल्लाका अध्यक्ष सहभागी थिए ।
कैलाली अध्यक्ष यज्ञराज ढुंगानाले पार्टी अध्यक्षकै सहमतिअनुसार पुनर्गठन गर्नुपर्ने बताएका थिए । तर उनका अन्य पदाधिकारीले भने पुनर्गठनको पक्षमा उभिएर ओलीको विकल्प आवश्यक भइसकेको धारणा राखे । पार्टी पुनर्गठन गरे पनि अध्यक्ष कमरेडसँग परामर्श गरेर अघि बढ्नुुपर्छ । अहिलेको परस्थितिमा पार्टी एकताबद्ध बनाएर अघि बढ्नुुपर्छ भन्ने उहाँको धारणा थियो, ढुंगानाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
डोटी जिल्ला अध्यक्ष मन्जु मलासीले पनि अहिले ओलीको विकल्प खोज्नु गलत भएको दाबी गर्दै नेतृत्व गर्न सक्ने व्यक्ति अरु नभएको बताएकी थिइन् तर अन्य पदाधिकारी भने पुनर्गठनको पक्षमा बोलेका थिए । अछाम, बाजुरा र डडेल्धुरा कमिटीले पनि पार्टी पुनर्गठनबारे लिखित प्रतिवेदन बुझाएका छन् ।
दार्चुला अध्यक्ष ज्ञानेन्द्र घर्तीले पार्टी एकतामा जोड दिएका छन् । पार्टी विभाजन हुने गतिविधि गर्न नहुने बताएका उनले सिंगो जिल्ला सूर्य चिह्न र एमाले भएकै ठाउँमा उभिने धारणा राखेका थिए ।
बझाङका पदाधिकारीले पनि पार्टी पुनर्गठनको पक्षमा धारणा राखे तर प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक समेत रहेका सांसद ऐनबहादुर महरले बझाङ पार्टीको संस्थागत निर्णयको पक्षमा उभिने बताएका थिए ।
कार्यक्रममा कतिपय नेताले अध्यक्ष ओली मात्र नभएर वडादेखि केन्द्रीय कमिटीसम्मै पार्टी पुुनर्गठन हुनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा लिखित प्रतिवेदन प्रस्तुत गरेका अछाम जिल्ला अध्यक्ष शिवप्रसाद उपाध्यायले वडा तहसम्मै पुनर्गठनको माग गरेका थिए । प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीसहित अन्य पदाधिकारीले पनि पार्टी पुनर्गठनमा जोड दिएका थिए ।
अधिकांश केन्द्रीय सदस्य पनि पुनर्गठनको पक्षमा खुले
सुझाव संकलन कार्यक्रममा सुदूरपश्चिम भूगोलका केन्द्रीय सदस्यहरु पनि सहभागी थिए । उनीहरुले पनि आफ्नो धारणा राखेका छन् । अरुको तुलनामा युवा केन्द्रीय सदस्य नरेश रोकाया र गोविन्द गिरी अरु भन्दा चर्को सुनिएका थिए ।
अध्यक्ष ओली मात्र नभएर सिंगो पार्टी कमिटी नै पुनर्गठनको पक्षमा उनीहरु उभिएका थिए । ‘केपी ओलीलाई मात्र देखाएर तपाईंहरु पन्छिन पाउनुुहुन्न । महाधिवेशनमा उहाँकै टिममा लागेर पद हात पार्ने तपाईं सबै जनाले पार्टीबाट बिदा लिनुपर्छ रोकायाले भने, सिंगो पार्टी नै पुनर्गठन गर्नुपर्छ । अहिलेसम्मको परिणामको भागेदार तपाईंहरु सबै जना हो ।
नेता कर्णबहादुर थापा, प्रदेश इन्चार्ज दामोदर भण्डारी, कमला ओली, सन्तोश शर्मा थापा, गौरीशंकर चौधरी लगायतका केन्द्रीय सदस्यले पनि पार्टी पुनर्गठनको पक्षमा बोलेका थिए । प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाले जिल्ला अध्यक्ष घर्तीकै लाइनको कुरा गर्दै पार्टी विभाजन गर्ने कुरा राम्रो नहुने धारणा राखेका थिए ।
बाजुराका लालबहादुर थापाले भने अध्यक्षलाई दोष लगाएर अन्य पदाधिकारी उम्किन नपाउने बताएका थिए । केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसदले भने पार्टीमा अवसरमा विभेद गर्ने प्रवृत्ति बढेकोमा गुनासो गरेका थिए ।
शनिबारको कार्यक्रममा सहभागी केन्द्रीय नेताहरुले भने जिल्ला, प्रदेश र केन्द्रीय सदस्यका कुरा मात्र सुनेका थिए । उनीहरु कसैले पनि कुनै धारणा राखेनन् ।

