लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग



हाम्रो इकोनोमि

 

 

नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी पराजयको कारण नेतृत्व परिवर्तनको माग बढ्दै जाँदा एमालेले हिजो बिहिवार कपिलवस्तुको चन्द्रौटामा प्रदेशस्तरीय समीक्षा कार्यक्रम राखेको थियो ।

कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरुको धारणा नेतृत्व परिवर्तनको पक्षमा देखिएको छ । लुम्बिनी प्रदेशअन्तर्गत जिल्ला कमिटीका पदाधिकारी र केन्द्रीय सदस्य सहभागी कार्यक्रममा बोल्ने सबै जिल्ला अध्यक्षहरु पुनर्गठनको पक्षमा देखिएका छन् । जिल्ला अध्यक्ष मात्र होइन भेलामा सहभागी सबैले नेतृत्व पुनर्गठनको माग गर्नुभयो, सहभागी एक अध्यक्षले भने, कतिपय अलि नरम देखिए पनि पुनर्गठन नगरे पार्टी अस्तित्व जोगाउन नसकिनेमा सबैको मत देखिएको छ ।

नेतृत्व पुनर्गठनको मोडालिटीमा भने केही फरक मत आएको ती अध्यक्षले जानकारी दिए । कतिपय साथीले पार्टी अध्यक्ष केपी शर्मा ओली मात्र होइन, पदाधिकारीसमेत आवश्यकताअनुसार घटुवा वा नेतृत्व छाड्नुपरे पनि तयार हुनुपर्ने गरी कुरा उठाउनु भएको छ, उनले थपे । भेलामा सहभागी अधिकांशको धारणा पार्टी नेतृत्व परिवर्तनको पक्षमा देखिएको छ । एकाधले अध्यक्ष ओलीलाई मात्र दोषारोपण गरेर नहुने धारणा राखे पनि प्रायः सबैको मत मूल नेतृत्वमाथि नै केन्द्रित थियो ।

गत आम निर्वाचनमा लज्जास्पद पराजयको कारण पत्ता लगाएर सुधार गर्न नसके कम्युनिष्ट आन्दोलन विघटनतिर जाने अधिकांशको चिन्ता थियो । नीतिप्रधान हुनुपर्नेमा ब्यक्तिप्रधान बन्दै गएको भन्दै अधिकांशले चिन्ता प्रकट गरेका थिए । जनतासँगको सम्बन्ध टुट्नु,परिवर्तन, विकास र समृद्धिको आशा तुहिनु तथा पार्टीले समय सापेक्ष नीतिगत परिवर्तन गर्न नसक्नुले यो हविगत भएको हो – भेलाको निष्कर्ष थियो ।

पार्टी पुनर्गठनको बिषय उठेपछि एमालेले त्यस बिषयमा छलफल गर्न कार्यदल गठन गरेको छ । कार्यदलले सातै प्रदेशमा सुझाव संकलनपछि केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठनको लागि बिशेष महाधिवेशन वा अन्य विकल्पमा छलफल गर्नेछ । चन्द्रौटा भेलाका सुझावहरु सकेपछि एमाले उपाध्यक्ष बिष्णु पौडेलले पार्टी भित्रको वहसले पार्टीलाई सहि निष्कर्षमा पुर्याउने र आन्तरिक एकतालाई थप मजबुत बनाउने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले लुम्बिनीको कम्युनिस्ट आन्दोलनले

पछिल्लो समय गम्भीर धक्का र पराजय बेहोरेको स्वीकार गर्दै त्यसबाट शिक्षा लिएर, आत्मसमीक्षा गर्दै र पार्टीलाई पुनर्गठित गरेर नेपाली कम्युनिस्ट आन्दोलनको विजययात्रा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, नेता प्रदीप ज्ञवालीसहितका प्रदेश कमिटीका पदाधिकारी, १२ वटै जिल्ला कमिटीका पदाधिकारी र लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा रहेकाहरु यो समीक्षामा सहभागी भएका थिए ।

यो भेलामा अध्यक्ष ओलीले भर्चुअल सम्बोधन गर्दै नेतृत्वको विकल्प खोज्ने बेमौसमी बहसले पार्टीलाई कमजोर बनाउने दाबी गर्दै पार्टी एकतामा केन्द्रित हुन नेता–कार्यकर्तालाई निर्देशन दिए । उनले महाधिवेशनबाट निर्वाचित नेतृत्व महाधिवेशनबाटै बिदा हुने परम्परा रहेको उल्लेख गर्दै आफूले महाधिवेशनको निर्णयबाहेक अन्य कुनै परिस्थितिमा नेतृत्व नछाड्ने अडान दोहो¥याए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...