६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन काटेको छ ।लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर पनि भाडा र महसुल नतिरेपछि लिमिटेडले बुधबारदेखि धमाधम लाइन काट्न सुरु गरेको हो।
देशभरका १० वटा औद्योगिक क्षेत्रका उद्योगहरूले भुक्तानी गर्न आनाकानी गरेपछि कारबाही अघि बढाइएको लिमिटेडले जनाएको छ । लाइन काट्न सुरु गरिएकै दिन बुधबार बक्यौता रहेका उद्योगहरूबाट करिब १० करोड रुपैयाँ असुल भएको छ । लाइन काटिनेमा सबैभन्दा धेरै बालाजु औद्योगिक क्षेत्रका २४ वटा उद्योग रहेका छन् ।
बालाजुका बालाजु अटो वक्र्स, गुराँस इन्जिनियर्स प्रालि, बालाजु अटो क्लिनिक, आरके प्लास्टिक, उत्सव प्लास्टिक, एटलस पेट प्लस, नेपाल पोली पाइप, पूजा इन्टरनेसनल, जयहनुमान फुड प्रालि, उडेन एसोसिएन एन्ड स्पोर्टस, जेनस इन्जिनियरिङ र मोहित स्पाइसेज एन्ड फुड प्रोडक्टस्को लाइन काटिएको छ ।
यसैगरी बालाजुकै काठमाडौं डोमेस्टिक सप्लाइसेस्, ग्लो इन्टरनेसनल प्रालि, गोकुल इन्डस्ट्रिज प्रालि, कर्मचारी प्लास्टिक उद्योग, मनोज प्रिन्टिङ हाउस, नेपाल पेन्ट्स प्रालि, नेपाल म्याग्नी इन्जिनियरिङ उद्योग, पब्लिक एसेट, त्रिकोण मेटल इन्डस्ट्रिज, त्रिकोण बेभरेज, तुलिप प्रोडक्टस र सूर्य सनसाइनको विद्युत् तथा पानी काटिएको छ ।
त्यसैगरी हेटौंडा औद्योगिक क्षेत्रका १३ वटा उद्योगहरू प्रतिक उडान ट्रिटमेन्ट, सहयात्री जिप उद्योग, फेसन पेन्ट्स उद्योग, सी एभरेष्ट एन्ड काइफु नेपाल प्रालि, युनिक प्लास्टिक उद्योग प्रालि, नोवेल प्याकेजिङ प्रालि, सूर्य पेन्ट्स एन्ड केमिकल प्रालि, नेपाल रोटो प्रिन्टिङ एन्ड प्याकेजिङ प्रालि, भुवनेश्वर प्लास्टिक, हेटौंडा इन्जिनियरिङ वर्क्स प्रालि, गोदावरी प्लास्टो क्राफ्ट इन्जिनियरिङ प्रालि, सञ्जिवनी अक्सिजन प्रालि र साउथ एसियन पोलिपाइपको लाइन काटिएको छ ।
यस्तै पाटन औद्योगिक क्षेत्रका बिल्डिङ मट्रियल, नेप्लिज ह्याण्डिक्राफ्ट, सरस्वती टेक्सटायल, हिमालयन क्राफ्ट, भैरवनाथ आइरन, अनुज मेटल र ललितपुर कलात्मक उद्योग गरी ७ वटा उद्योग कारबाहीमा परेका छन् ।
पोखरा औद्योगिक क्षेत्रका पन्थी इन्डस्ट्रिज, ग्लोबल केवल इ प्रालि, विनित मेटल उद्योग, ए वान ब्लक उद्योग र पोखरा कपास गरी ५ वटा उद्योगको लाइन काटिएको छ ।
बुटवलका ओसिन पावर, दुर्गालक्ष्मी इन्जिनियरिङ, वेवी प्लास्टिक र लक्ष्मी इन्जिनियरिङ गरी ४ वटा तथा भक्तपुरका ओम सत्यसाई प्लास्टिक उद्योग, सिर्डी इन्जिनियरिङ, कान्तिपुर फिड प्रालि र जय सञ्जिवनी डेरी प्रालि गरी ४ वटै उद्योगको लाइन काटिएको छ ।
साथै, नेपालगञ्जका अमानी ट्रेडर्स, लभ ए एग्रो र भेरी प्राविधिक शिक्षालय, धरानका जेबी स्टिल एन्ड आइरन र प्रशन्न प्लास्टिक उद्योग तथा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अन्जु फुड एन्ड स्न्याक्स इन्डस्ट्रिजको पनि लाइन काटिएको छ ।
यसरी लाइन काटिएपछि बक्यौता रकम बुझाउन आएका ८ वटा उद्योगको लाइन भने लिमिटेडले तत्कालै पुनः जडान गरिदिएको छ । जसअनुसार बालाजुका बालाजु अटो वक्र्स, आरके प्लास्टिक, एटलस पेट प्लस र नेपाल पोली पाइप, पाटनका भैरवनाथ आइरन र अनुज मेटल, पोखराको पोखरा कपास तथा नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयको विद्युत् लाइन पुनः जडान गरिएको हो ।
कुल ६३ उद्योगको लाइन काटिएकोमा ८ वटाले बक्यौता तिरेर पुनः जडान गराएपछि अब ५५ वटा उद्योग पूर्णरूपमा लाइन काटिएकै अवस्थामा छन् । आज बिहीबार पनि लिमिटेडले अन्य उद्योगहरूको लाइन काट्ने क्रम जारी रहेको बताएको छ ।

