भ्रष्टाचार र बेथिति गणतन्त्रका प्रमुख सत्रु : राष्ट्रपति पौडेल



हाम्रो इकोनोमि

 

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै पौडेलले त्यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक भएको बताए । अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन उनले भने ।

गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्नेमा उनको जोड छ । यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ राष्ट्रपतिले भने । सामाजिक न्याय, विकास र समृद्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न आजका दिनले प्रेरणा दिने उनको विश्वास छ ।

मुलुकमा उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनचाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको बताए । शासकीय सुधारका एक सय कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने उनको विश्वास छ ।

ढिलासुस्ती, अनियमितता र बेथिति प्रमुख सत्रु भएको जनाउँदै राष्ट्रपतिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई यीनै वेथितिले निराश नबनाओस् भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । जबसम्म प्रत्येक नागरिकका जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन राष्ट्रपतिले भने । नागरिकले सुशासनसहितको समृद्धि खोजिरहेको भन्दै पौडेलले यसका लागि हाम्रा स्रोतको उच्चतम् प्रयोग गर्न आवश्यक भएको बताएका छन् । आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न सक्छौँ, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो उनले भने ।

परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्रै पर्याप्त नहुने भन्दै राष्ट्रपतिले शासकीय चरित्रसँगै राजनीति, पार्टी र नेताको चरित्रलाई पनि बदल्नुपर्ने धारणा राखे । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु उनको भनाइ छ । राष्ट्रपति पौडेलले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्नेमा जोड दिँदै राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्ने बताए ।

हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्दछ हाम्रा शासकीय संरचना र राज्यअङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ, हामीले सशासनको प्रत्याभूति दिनै पर्दछ उनले थपे । राष्ट्रपति पौडेलले स्थानीय र प्रदेश सरकारले संविधानबमोजिमको जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै शासकीय व्यवस्थामा जनताका घरआँगनबाट सार्वभौमिकताको अभ्यास भइरहेको बताए । नागरिकको गुनासो भए शासकीय संरचनाबाट नै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ, यसले लोकतन्त्रको जग बलियो बनाउँछउनले भने ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...