सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट
नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा उपाध्यक्षहरुले राखेको प्रस्ताव र अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण पनि आजको बैठक महत्वपूर्ण हुने नेताहरु बताउँछन् । हिजो चार जना उपाध्यक्षले एकमतका सथ पार्टी पुनर्गठनको प्रस्ताव राखेका थएि । उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्तले नेतृत्व परिवर्तनको निष्कर्ष सुनाएका थिए ।
शुक्रबार राजीनामा शब्द उच्चारण नगरेपनि उपाध्यक्षहरुले बुझिनेगरी मार्गप्रशस्त गर्न ओलीलाई सुझाव दिइएको छ । उपाध्यक्ष गोकर्ण बिष्टले सबैले पद त्यागेर भएपनि एमाले जोगाउनुपर्ने सुझाव राखेका थिए । पर्यो भनेर मेरो ठाउँ त्याग्न तयार छु । हामी सबैले पद त्याग्न पनि तयार हुनुपर्छ, उपाध्यक्ष बिष्टको प्रस्ताव थियो, दक्षिणपन्थी अवसरवादविरुद्ध लड्ने भनेर हिडेको हामी कहाँ चुक्यौ । निर्मन समीक्षा गर्नुपर्छ ।
उपाध्यक्ष बिष्टले पार्टीका हरेक तहका नेताले आवश्यक पर्दा त्याग गर्न तयार छु भन्ने भावना बोकेर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका थिए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाएर गल्ती भएको निष्कर्ष सुनाएका थिए । विगतका कमजोरी खोतल्ने क्रममा उपाध्यक्ष पौडेले २३ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा नदिएर ओलीले गल्ती गरेको पनि तर्क गरेका थिए । २३ गते बेलुकी राजीनामा दिएको भए आज राजनीति यहाँ आइपुग्थेन,पौडेलले भनेका थिए ।
अध्यक्ष ओलीका पक्षमा भने रामबहादुर थापा मात्रै उभिएका छन् । नेतृत्वको रक्षा गर्नुपर्ने बेला परिवर्तनको प्रस्ताव अगाडि बढाउन नहुने थापाको प्रस्ताव थियो । ओलीले पनि थापाकै लाइनअनुसार नेताहरु उभिनुपर्ने निर्देशन दिएका थिए ।हिजोको बैठक सकिदै गर्दा केपी ओलीले महासचिव, उपमहासचिव र सचिवहरुलाई तर्साउनेगरी निर्देशन दिनुभएको थियो एक पदाधिकारी भन्छन्, पृथ्वीसुब्बा गुरुङले त्यसको प्रतिवाद त्यही गर्नुभयो । तर बोल्न बाँकी पदाधिकारीहरु कता उभिन्छन् आज देखिनेछ ।
उपाध्यक्षहरुमा देखिएकै प्रवृत्ति बाँकी पदाधिकारीमा देखिए ओलीको पद संकटमा पर्नेछ । उहाँलाई साथ दिदै आएका पदाधिकारीहरुले राजीनामा माग्ने स्थिति आएको छ । उपाध्यक्षहरुमा जस्तै बाँकी पदाधिकारीमा पनि केपी ओलीको विकल्प खोज्नेगरी बोल्ने अनुमान छ उनी भन्छन् ।

