यस वर्ष वर्षा कम र गर्मी बढी हुने अनुमान



हाम्रो इकोनोमि

 

 

नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ ।प्रशान्त महासागरमा विकसित ‘एल निनो’ र हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’मा देखिएको परिवर्तनका कारण यस वर्ष मनसुन कमजोर हुने आकलन गरिएको हो । यद्यपि नेपालका कुनैकुनै भागमा भने बढी वर्षा हुने अनुमान छ ।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यो अवधिमा वर्षभरी हुने वर्षाको करिब ८० प्रतिशत पानी पर्दछ । बर्खायाम वा मनसुनले बालीनाली तथा देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने गर्दछ । साथै बाढीपहिरोका कारण धनजनको क्षति समेत हुने गरेकाले मनसुनप्रति धेरैको चासो हुने गर्दछ ।

त्यसैले दक्षिण एसियाका देशहरूको ऋतुगत मौसम पूर्वानुमान नेपालसमेत सहभागी दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) ले हरेक वर्ष सार्वजनिक गर्दछ । मञ्चको निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले पनि हरेक वर्ष सम्भावित मनसुनी अवस्थाबारे जानकारी दिने गर्दछ । विभागले आगामी शुक्रबार सबै सरोकारवालालाई भेला गरेर यस वर्षको मनसुनी अवस्थाबारे जानकारी दिने कार्यक्रम राखेको छ ।

यस वर्षको मनसुन अवधिमा वर्षा कम हुनुका साथै दिउँसो र रातिको तापक्रम (अधिकतम र न्यूनतम तापक्रम) समेत औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । यसले गर्दा जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने विज्ञहरूको चेतावनी छ । खासगरी तराई क्षेत्रमा कृषि उत्पादकत्व र दैनिक जनजीवनमा प्रभाव पार्ने देखिएको छ ।

तर जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भने नेपालको मनसुनलाई प्रभाव पार्ने अन्य धेरै कुराहरू रहेकाले अहिले नै ठोकुवाका साथ भन्न नसकिने बताउँछिन् ।

‘हुन त एल निनोको अवस्था छ तर नेपालको मनसुनलाई प्रभाव पार्ने अरु धेरै कुराहरू पनि हुन्छन् । अहिले नै यस वर्षको मनसुन यस्तै हुन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन, पोखरेलले भनिन्, मनसुनको सम्भावित अवस्था बीचमा अद्यावधिक पनि गरिने भएकाले त्यसलाई नजिकबाट नियालिराख्नु जरुरी हुन्छ ।

केही वर्षयता जलवायु परिवर्तनको प्रभावका कारण मौसममा व्यापक फेरबदल देखिएको छ । वर्षायाममा पनि कुनै ठाउँमा अत्यधिक पानी पर्ने र कुनै ठाउँमा पानी नै नपर्ने अवस्था देखिने गरेको छ । त्यसैले विज्ञहरू कम पानीमा हुने वैकल्पिक बालीहरूको छनोट गर्ने, खानेपानी र सिँचाइका लागि पानीको भण्डारण गर्ने, तापक्रम नियन्त्रण तथा अन्य अनुकूलनका कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिन्छन् ।

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बढ्यो घरजग्गाको कारोबार

    आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले वृद्धि...

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

     नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६...

नाइमा नेपालको मोबिलिटी एक्स्पो २०२६ हुने

    नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले काठमाडौंस्थित द सोल्टी...

सूचनामा विभेदविरुद्ध पत्रकार महासंघको थप आन्दोलन घोषणा

    नेपाल पत्रकार महासंघको ललितपुरमा भएको राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणा पत्र...